धरान / धरान उपमहानगरपालिकाले आर्थिक बर्ष सकिन दुई महिना बाँकी रहदा ५८ प्रतिशत मात्र विकास बजेट खर्च गर्न सफल भएको छ ।
विशेष गरि उपमहानगरले घोषणा गरेको गौरवको आयोजना र खानेपानी परियोजनामा छ्ट्याएको बजेटमा खर्च गर्न नसकेको पाइएको छ ।
उपमहानगरका बरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार चालु बजेट ८३ करोड ९५ लाख, ५६ हजार ८ सय ४८ रुपैयाँमा बैशाखसम्ममा ४८ करोड ७१ लाख ८८ हजार ६ सय ४१ रुपैया मात्र खर्च भएको छ । यो ५८.०९ प्रतिशत हो । यता पूजीगत खर्चमा ९५ करोड ४ लाख ४३ हजार एक सय ५१ बजेटमा ५५ करोड ३३ लाख ४९ हजार ३ सय ६२ रुपैया मात्र खर्च भएको छ ।
धरान उपमहानगरले गौरवका आयोजना भनेर ७ वटा आयोजनाका लागि ७ करोड बजेट छुटएको थियो । जनपथ सडक, विजयपुर सडक, माछा भौडी पार्क निर्माण, देशी लाईन सडक व्यवस्थापन, नमुनाबस्ती निर्माण, हङकङ रोड विस्तारलगायतका योजनालाई गौरवको योजना भनेर उपमहानगरले बजेट विनियोजन गरेको थियो । यी सबै योजनाहरुको काम थाले पनि प्राय सबै योजनाहरु अलपत्र छन् । उपमहानगरपालिकाले खानेपानीका लागि ४१ करोड बजेट छुट्याएको थियो । धरान–१४ स्थित विजयपुरमा ट्याङ्की निर्माणमा अवरोध भए पछि बजेट खर्च हुन नसक्दा बजेट खर्चको नतिजा न्युन देखिएको लेखा अधिकृत भेषराज अधिकारी बताउछन् । अन्य योजनाहरुमा बजेट योजना अनुसार खर्च भए पनि खानेपानी र गौरवको आयोजनाहरुमा बजेट खर्च नहुदा प्रगती न्यून देखिएको छ ।

११ उपमहानगर मध्य धरान उत्कृष्ट
तर समग्र सातै प्रदेशका उपमहानगरको विकास बजेट खर्चको तथ्याङ्क हेर्दा भने धरान उपमहानगर पहिलो भएको छ । विकास बजेट खर्च ५० प्रतिशत कटाउने धरान उपमहानगर पहिलो भएको छ । छिमेकी उपमहानगर इटहरीले ३१ प्रतिशत खर्च गरेको छ । जनकपुरले १३ प्रतिशत, जितपुरसिमराले ३८, कलैयाले २३ प्रतिशत, हेटौडाले ३५ प्रतिशत, बुटवलले ३६ प्रतिशत, घोराईले ३२ प्रतशत, तुलसीपुरले ४५ प्रतिशत, नेपालगञ्जले ४२ प्रतिशत र धनगडीले २२ प्रतिशत मात्र विकास बजेट खर्च गर्न सफल भएका छन् । (ग्राफिक चार्ट नयाँ पत्रिकाबाट)