हिमाली जिल्ला ताप्लेजुङका गाउँमा कैयौं रमणीय र पर्यटकीय स्थानहरू अझै ओझेलमै छन् । जसमध्ये सदरमुकाम फुङलिङबाट डेढ किलोमिटर दूरीमा रहेको सिद्धिडाँडा पनि एक हो । सिद्धिडाँडामा रहेको पोखरीबाट अटुट रूपमा खसिरहने पाँच वटा धाराहरू सँगै रहेका शिव मन्दिर र गुम्बा र वरिपरिको सुन्दर अलैंची बगान रहेकाले त्यहाँ पुगेपछि नौलो अनुभूति सँगाल्न सकिन्छ ।

‘बजार नजिकैको गाउँले परिवेश, स्वच्छ हावापानी एवम् प्राकृतिक सुन्दरता यहाँका आकर्षण हुन्’, स्थानीय छत्र गुरुङले भने, ‘महाबौद्ध ठिसुङ गुम्बा र चण्डेश्वर महादेवधाम एकै ठाउँमा रहेकाले धार्मिक सहिष्णुताको झल्को आउँछ ।’ त्यहाँबाट प्रवेश गरेलगत्तै दायाँबायाँ पोखरी छन् । पोखरीको बीचमा हिमाल आकारको ठूलो ढुङ्गा छ । ढुङ्गामाथि पानी निस्कन्छ । ‘कृत्रिम यो दृश्य प्राकृतिक जस्तै लाग्छ,’ बिदा मनाउन पाहुना र परिवारसहित पुगेका रोशन लिम्बूले भने, ‘पाहुनालाई छोटो समयमा घुमाउने उपयुक्त स्थान हो यो ।’

siddi-2--(1)

त्यहाँबाट ५० मिटर उकालो हिँडेपछि मन्दिर र गुम्बा पुगिन्छ । त्यहाँ पनि तीन वटा ससाना पोखरी छन् । छेउछेउमा फूलको बगैंचा । बस्नका लागि फलामे चौतारा बनाइएको छ । यो स्थान गुरुङ समुदायको बाक्लो बस्तीसमेत रहेको ठाउँ हो ।

यो फुङलिङ नगरपालिका–९ मा अवस्थित छ । फुङलिङ बजारबाट गाडीमा १५ मिनेट र पैदल आधा घण्टामा पुगिन्छ । स्थानीयले मन्दिर र पोखरी वरिपरि काँडेतार लगाएका छन् । जसका लागि तत्कालीन सांसद् सञ्चपाल मादेनले पाँच लाख र गाविसबाट एक लाख रुपैयाँ सहयोग गरेको मन्दिर संरक्षण समितिको सदस्यसमेत रहेका गुरुङले बताए । पहिरो छिचोल्दै कच्ची सडक पुगेको छ । तर, पहिरो बगिरहने हुँदा नियमित गाडी कुद्न सक्दैनन् ।

सवारी साधनको नियमित पहुँच नहुँदा र पर्याप्त प्रचार–प्रसार नहुँदा सम्भावना बोकेर पनि सिद्धिडाँडा ओझेलेमा परेको गुरुङ बताउँछन् । गुरुङकै सक्रियतामा संरक्षण समिति गठन गरेर स्थानीयले पोखरी र मन्दिरको संरक्षण गरिरहेका छन् । तर बजेटको अभावमा काम गर्न नसकेको उनले बताए ।

कञ्चनजङ्घा र पाथीभराको भ्रमण गर्न आउने पर्यटकलाई सदरमुकाममा एक दिन भुलाउने उद्देश्यसहित यो क्षेत्रलाई विकास गर्ने योजना रहेको वडाध्यक्ष तारानाथ बरालले बताए । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यसलाई समेटेको छ । ‘सिद्धिडाँडा हुँदै सुकेटार विमानस्थल जाने सडक निर्माण गर्ने र यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने हाम्रो योजना छ,’ बरालले भने, ‘यसको तत्काल सम्भाव्यता अध्ययन गरेर काम थाल्छौं ।’