प्रदेश नम्बर १ मा घुम्ने र बस्ने धेरै राम्रा रिसोर्ट तथा रेष्टुराँहरू छन् । सुनसरी, मोरङ, तेह्रथुम, र धनकुटाका चर्चित रिसोर्टहरूमा भीड लाग्ने गरेको छ । आन्तरिक पर्यटकमात्र होइन भारतका सीमावर्ती बिहार र पश्चिम बङ्गालका पर्यटक पनि रमणीय ठाउँमा रिसोर्ट भएकाले रमाउन आइपुग्छन् । जसमध्ये १ नम्बर प्रदेशमा रहेका केही चर्चित रिसोर्टहरू यस्ता छन्ः

fun

फन एण्ड फुड भिलेज रिसोर्ट, विराटनगर
विराटनगरको व्यस्त बजारदेखि एकान्त र शान्त वातावरणमा रहेको छ, फन एण्ड फुड भिलेज रिसोर्ट । २ हेक्टर क्षेत्रफलमा रहेको उक्त रिसोर्ट विराटनगरको हाटखोलामा अवस्थित छ । विराटनगरको मुख्य बजार ट्राफिक चौकदेखि करिब दुई किलोमिटर पूर्व गएपछि पुग्न सकिन्छ उक्त रिसोर्ट । रिसोर्टभित्र स्वीमिङ पुलसहित साना बालबालिका खेल्नका लागि पर्याप्त खेल सामग्री र मैदान रहेको छ ।

एकै साथ ७० भन्दा बढी क्षमता रहेको रेष्टुराँ, बैठक हल र फिटनेश सेन्टरसमेत छ । यहाँको लोकप्रिय परिकार ‘पिजा’ रहेको सञ्चालक भुपाल राईले बताए । दाउराको चुलोबाट पकाएको पिजा अत्यन्तै स्वादिलो हुने गरेको उनले बताए । रिसोर्टमा रहेको दुई सय क्षमताको आकर्षक र सुन्दर मिटिङ हल छ । रिसोर्ट वरिपरि विभिन्न थरीका रुखहरू रहेकाले गाउँमा पुगेको आभास हुने वातावरण रहेको छ । रुखको छहारीमा रहेको रिसोर्टमा पुग्नेको भीडभाड हुने गर्दछ । रिसोर्टमा १० कोठा रहेका छन् । ३ हजार ५ सय रुपैयाँ देखि ४ हजार रूपैयाँसम्मको कोठा रिसोर्टमा उपलब्ध छ ।

horizon

धनकुटाको हिलेमा तीनतारे रिसोर्ट
चिसो मौसम, बाक्लो हुस्सु, तोङ्वा र सुकुटीका लागि कहलिएको धनकुटाको हिले बजार अहिले वाह्य र आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । तराईको चर्को गर्मी छल्न धनकुटाको हिले र भेडेटार पुग्नेको सङ्ख्या समेत बढेको छ । प्राय १२ महिनाजस्तो जाडो हुने हिलेमा विराटनगरका रेवतबहादुर थापाले ५१ रोपनी जग्गामा २७ करोड रूपैयाँ लगानीमा होराइजन माउन्टेन रिसोर्ट सञ्चालनमा ल्याएका छन् । पूर्वी नेपालमा पर्यटक आकर्षित गर्न हिलेमा यतिठूलो लगानीमा सुविधासम्पन्न रिसोर्ट खोलिएको हो । रिसोर्टले जो–कोहीलाई आकर्षित गर्दछ । ३७ वटा सुविधा सम्पन्न कोठा रहेको रिसोर्टमा साइड सिन अवलोकनका लागि हेलिप्याड समेत बनाइएको छ । रिसोर्टमा फेमली कटेज समेत रहेको छ । सञ्चालक थापाका अनुसार हनिमुन मनाउन आउनेहरूलाई लक्षित गरी फेमली कटेजको निर्माण गरिएको छ ।

रिसोर्टमा दुईसय ४० र एकसय २५ सिट क्षमताको दुईवटा मिटिङ हल छन् । २५ जना अट्ने बोर्ड मिटिङ हल पनि आकर्षक र सुन्दर छ । ५ हजारदेखि ११ हजार रूपैयाँसम्मको कोठा रिसोर्टमा उपलब्ध छ । ‘कोठा भाडामा बिहानको नास्ता हामीले निःशुल्क उपलब्ध गराइरहेका छौं,’ होराइजन रिसोर्टका प्रबन्ध निर्देशक थापाले भने, ‘६ वटा फेमली कटेजमा त्यहीँभित्र खाना पकाउने व्यवस्था समेत मिलाइएको छ ।’

होराइजन रिसोर्टको एज्कुटिभ बार बेकरी थप आकर्षणको केन्द्र हो । रिसोट परिसरको पछाडि भागमा गोलघर आकारको उक्त बेकरीमा २४ सैं घण्टा आगो बल्ने व्यवस्था मिलाइएको छ । फेमली कटेजको एक दिनको ६ हजार र अरु समान्य कटेजको एक दिनको पाँचहजार रूपैयाँ भाडा तोकिएको छ । रिसोर्टमा इन्डियन, चाइनिज र कन्टिनेन्टल फुड उपलब्ध छ । शुक्रबार र शनिबार विराटनगर, धरान, धनकुटालगायतका ठाउँबाट मानिसहरू होटल हेर्नकै लागि यहाँसम्म आइपुग्ने गरेका छन् । यस रिसोर्टमा पुग्न विराटनगरदेखि करिब १ सय १० किलोमिटर विराटनगर–धरान, भेडेटार सडक खण्ड हुँदै जानुपर्ने हुन्छ ।

तेह्रथुममा ‘हाडउनहिल एग्रो रिसोर्ट’
विषादीरहित अग्र्यानिक परिकार पाइन्छ तेह्रथुमको म्याङलुङ– ४ स्थित ‘डाउनहिल एग्रो रिसोर्टमा’ । घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गर्दछ उक्त रिसोर्ट । १ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट ग्राहकको चाहनाअनुसारको परिकार पाइन्छ । अग्र्यानिक मात्र परिकार पाइने रिसोर्टमा आउनेका लागि सञ्चालक राजु गड्तौलाले आफ्नै कृषि फर्म खोलेका छन् । यस फर्ममा लोकल खुकुरा, खसी पालेका छन् । फलफूल, विभिन्न तरकारीहरू लगाएका छन् । रिसोर्टमा आवश्यक पर्ने परिकारको लागि कृषि फर्मबाट सामग्री ल्याउने गरेका छन् ।

करिब १ करोड लगानीमा सञ्चालनमा ल्याइएको रिसोर्टमा सुविधा सम्पन्न सेमिनार हल रहेको छ । १ सय क्षमता रहेका हलसँगै बस्नका लागि आकर्षक कोठाहरू छन् । विराटनगरको एयरपोर्टदेखि १ सय ५४ किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्ट तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारदेखि २ किलोमिटर दक्षिण गएपछि पुग्न सकिन्छ । रिसोर्टले तेह्रथुम जिल्ला घुम्न आउने पर्यटकका लागि प्याकेजसमेत बनाएको सञ्चालक गड्तौलाले बताए । बनेको प्याकेजअनुसार पर्यटकहरूलाई रमणीय ठाउ“हरूमा घुमाउने गरेको उनले जानकारी दिए । रिसोर्टले बिहान बेलुकाको डिनर, ब्रेकफास्ट र बसेको गरी दैनिकको १ हजार ५ सय रुपैयाँ मात्र लिने गरेको छ । रिसोर्टमा आउने पर्यटकहरूका लागि उनीहरूले स्थानीय कल्चर साँस्कृतिक कार्यक्रमसमेत गरी मनोरञ्जन प्रदान गर्ने बताइएको छ ।

itahari 1

मोरङमा गोकुलम रिसोर्ट
इटहरी चोकदेखि करिब २ किलोमिटर पश्चिम र पूर्व–पश्चिम राजमार्गको बलिया चोकदेखि करिब १ किलोमिटर दक्षिणमा पर्छ गोकुलम रिसोर्ट । मोरङको सुन्दरहरैंचा नगरपालिकामा ४ चरिगुवामा पर्ने यो रिसोर्ट आन्तरिक पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ । ६ बिघा क्षेत्रफलमा रहेको उक्त रिसोर्ट आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरेर सञ्चालनमा छ । रिसोर्टमा सुविधा सम्पन्न २ सय अट्ने सेमिनार हल, बस्नका लागि एसीसहित डिलक्स कोठा, बाल उद्यान, फन पार्क, बार, फुड कोडलगायतका सुविधा रहेको छ । शान्त, स्वच्छ र मनोरञ्जक वातावरण रहेकाले ग्राहकको आकर्षण छ । बस्न आउने पर्यटकका लागि पोखरीको बीचमा रहेको पानीजहाज आकारको एसीसहित सुविधासम्पन्न १५ वटा कोठाहरू छन् । ३ हजारदेखि ४ हजार रूपैयाँसम्मको कोठा रिसोर्टमा उपलब्ध छ । रिसोर्टभित्र उँट सफारी, रोटेपिङ, धरहरा समेत रहेकाले थप आकर्षण छ । रिसोर्टभित्रको उँट सफारी गरेको २ सय रुपैयाँ लाग्छ । रिसोर्टमा भेज र नन भेज विभिन्न परिकार पाइन्छन् ।

tree-house

धरानमा रिसोर्टभित्र ट्री हाउस
पर्यटकीय शहर धरानको जिरोपोइण्टदेखि केही माथि उत्तरतर्फ अवस्थित ‘शुभ गन्तव्य रिसोर्ट’ भित्र रहेको ट्री हाउसले सबैलाई आकर्षित गरेको छ । जङ्गलको वरिपरि शान्त वातावरणमा डेढ बिघा जमिनमा सञ्चालन गरेको रिसोर्ट अहिले आकर्षित गन्तव्य बनेको छ  । रिसोर्टमा दुई वटा पक्की भवन छन् । पक्की भवनको पूर्व र पश्चिमपट्टि सखुवा र आँपका रूखमा तीन वटा घरहरू निर्माण गरिएको छ । जसलाई ट्री हाउस नामाकरण गरिएको छ । रूखमा बनाएको घरले यतिबेला धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।

धरानका युवा व्यवसायी ज्ञानदीप लिम्बू र ओमु राईले संयुक्त एक करोड ५० लाखको लगानीमा ट्री हाउससहितको रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । रिसोर्टमा ट्री हाउसको निर्माण गरेपछि पर्यटकहरूको भीड लाग्ने गरेको छ । रिसोर्टमा तीनवटा ट्री लज र दुईवटा पक्की भवनमा लजसमेत निर्माण गरिएको छ । प्रदेशमा पहिलो पटक सञ्चालनमा ल्याएको ट्री हाउस नव विवाहित जोडीलाई हनिमुनका लागि समेत उपयुक्त हुने अपेक्षा गरेका गरिएको छ । ट्री हाउस सञ्चालनमा आएसँगै वनभोज खानेहरूको समेत भीड लाग्ने गरेको छ । शान्त वातावरणमा निर्माण गरिएका ट्री हाउसबाट रमणीय दृश्य अवलोकन गर्न सेल्फी खिच्न आन्नद आउने गर्दछ । पर्यटकहरूको आवागमनलाई मध्यजनर गर्दै मौलिक र बिल्कुल गाउँले परिवेश झल्काउने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।