‘नमस्कार, ल आउनुस् है हजुर बसौं, पुस्तक पढौं’
धरानको बुद्धचोकस्थित ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ को छेउ भएर हिँड्नेहरूलाई ७७ वर्षीय पूर्णबहादुर गुरुङ यसरी नै मीठो स्वागत गर्छन् । पुस्तकालयमा पस्नेहरूलाई हतार–हतार आफैले बनाएर थर्मसमा राखिएको चिया पनि कपमा हालेर दिन्छन् । कसैलाई चिसो खुवाउँछन् । अनि मुसुक्क हाँसेर कुरा गर्न थाल्छन्, ‘बाटो हिँड्दा यसो पसेर पढिदिनुभयो भने खुशी लाग्छ ।’
दुर्घटनामा बितेका छोरा विमलको स्मृतिमा पुस्तकालय नै खोलेर साहित्यसेवामा ‘फुलटाइम’ लागेका पूर्णबहादुरको विषयमा अहिले डकुमेण्ट्री फिल्म बन्दैछ । डकुमेण्ट्री निर्देशनको क्षेत्रमा परिचित प्रणय लिम्बूले निर्देशन गरेको डकुमेण्ट्रीका केही भाग छायाङ्कन भइसकेको छ भने केही बाँकी छ । पूर्णबहादुर हरेक बिहान सबेरै उठेर ध्यान र मर्निङ वाक गरेपछि सिधै पुस्तकालय पुग्छन्, त्यसपछि किताब र पत्रपत्रिका मिलाउँदै शुरु हुन्छ उनको दैनिकी । दिनभरि किताबमा लागेको धुलो टक्टक्याउने, मिलाएर राख्ने, सरसफाइ गर्नेदेखि पुराना किताबहरूको अनुक्रमण नयाँ खातामा सार्ने काम गर्छन् ।
कुनै बेला ब्रिटिस सेनामा गोला, बारुद र बन्दुकसँग खेल्ने दैनिकी भएका पूर्णबहादुर अहिले कलम, किताब र पत्रपत्रिकासँग खेल्छन् । आफूले धेरै नपढे पनि अरुलाई पढ्न प्रोत्साहन गर्छन्, साहित्यमा तन, मन र धन लगाएर सेवा गरिरहेका छन् । पुस्तकालयले हरेक वर्ष देशव्यापी कविता प्रतियोगिता र साहित्यकार÷प्रतिभा सम्मान गर्दै आएको छ ।
पूर्णबहादुरका छोरा विमल गुरुङको साहित्यमा खुब लगाव थियो । उनी कविता लेख्थे । उनी दुर्घटनामा बिते । पूर्णबहादुर भावुक बन्दै सुनाउँछन्, ‘यहाँ किताब पढ्न आउनेहरू सबै मेरा छोराछोरी हुन् जस्तो लाग्छ । उनीहरूलाई हेरेर चित्त बुझाउँछु ।’
ब्रिटिस सेनामा भर्ना हुन २०२० सालमा खोटाङबाट धरान झरेका गुरुङले १६ वर्ष सेनामा काम गरेर पेन्सन पकाए । त्यसपछि २०३६ सालमा ब्रुनाइमा सेक्युरिटी गार्डको काम गरे । ११ वर्ष काम गरेपछि नेपाल फर्किएका उनको परिवार सुखी थियो । काठमाडौंको कालोपुलमा पनि घर थियो । अरु लाहुरेका छोरा लागूऔषधको दुव्र्यसनमा लागेर परिवारलाई तनाव दिएका बेला विमल भने कविता लेख्ने, पुस्तकालय खोल्ने, पत्रिका निकाल्ने गर्थे । धरानमा हुँदा बुद्ध वाचनालय खोलेर सचिव बनेका विमलले ‘इँटा’ नामक साहित्यिक पत्रिका निकाल्थे । उनी काठमाडौंमा पनि साहित्य र पत्रकारितामा लागे । विमललाई राजनीतिमा चाहिँ नलाग्न सम्झाउथे पूर्णबहादुर । उनी सम्झिन्छन्, ‘कम्युनिष्टका किताबहरू पढ्थ्यो, कविता लेख्थ्यो, म चाहिँ राजनीति हामी जस्ताले गर्ने होइन भन्थेँ ।’
२०४८ साल वैशाख ९ गते पूर्णबहादुर फेरि काम गर्न ब्रुनाइ फर्किए । त्यही वैशाखको २४ गते विमल, उनकी आमा सरस्वती र सानीआमा चुनावका लागि काठमाडौंबाट धरान आउँदै थिए । धादिङको जुगेपानीमा उनीहरू चढेको बस दुर्घटनामा पर्यो । आमालगायत अरु यात्री घाइते भए तर विमलको घटनास्थलमै मृत्यु भयो । एकमात्र छोरा विमलको निधन भएपछि पूर्णबहादुर ब्रुनाइबाट जागिर छाडेर तुरुन्तै नेपाल फर्किए ।
१९ वर्षको छोरा विमलको निधनले विक्षिप्त बनेका गुरुङ छोराको कोठामा पस्दा कोठैभरि किताब देख्थे । धरानको घरमा होस् वा काठमाडौंको घरमा छोराको कोठामा चार–पाँचसय किताबको थाक देख्दा उनलाई के गरौं, कसो गरौं हुन्थ्यो रे । ‘ती किताब फ्याँक्न पनि मन लागेन, जतन गरेर कसरी राख्ने चिन्ता लाग्यो’ उनी भन्छन्, ‘धेरैजसो माक्र्स, एङ्गेल्स, लेनिनहरूका किताब थिए, छोराले पढ्ने ती किताब अहिले पनि जतन गरेर राखेको छु ।’
विमलको निधन भएपछि मोदनाथ प्रश्रित, मनमोहन अधिकारी, माधव नेपाललगायतका नेताहरू गुरुङलाई भेट्न आए । सबैसँग उनले त्यही कुरा राखे, ‘अब यी पुस्तकलाई के गरौं ।’ सबैजसोबाट पुस्तकालय खोल्ने सुझाव पाए । त्यसपछि उनले पनि धरानै बसेर छोराले अघि बढाएको साहित्यको सेवा गर्ने विचार गरे । काठमाडौंमा भएको घर छोरीको नाममा पास गरिदिएर उनी धरानै बस्न थाले । पहिला विमलले पुस्तकालय सञ्चालन गरेनजिकै १० धुर जग्गा किनेर २ तले घर बनाए । त्यसबेला २ लाख ७५ हजारमा किनेको जग्गामा घरसमेत बनाउँदा ५ लाख जति खर्च भएको थियो । त्यसपछि २०४८ साल कार्तिक १९ गते तिनै मोदनाथ प्रश्रित लगायतलाई बोलाएर ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ को उद्घाटन गराए । त्यसयता उनी निरन्तर यही पुस्तकालयको रेखदेख गरिरहेका छन् ।
अहिलेको मूल्याङ्कनमा करोडौंको घर जग्गा छ । पुस्तकालयमा करिब १० हजार पुस्तकहरू छन् । पुस्तकालयका नाममा गुरुङले ५० लाखको अक्षयकोष पनि स्थापना गरिदिएका छन् । उनलाई अमेरिका, एशिया फाउन्डेसन र भारतीय दुतावासले पुस्तकहरू पठाएर सहयोग गरेका छन् । स्थानीयदेखि राष्ट्रियस्तरका सबै पत्रिका किन्दा वार्षिक ५० हजारको हाराहारीमा खर्च हुन्छ । उनी कुनै पत्रिका सित्तैमा लिँदैनन् । उनी भन्छन्, ‘मैले धर्मका लागि पुस्तकालय खोलेको हुँ, अरुको पैसा खानु हुँदैन, सबै स्थानीय पत्रिकालाई पैसा दिन्छु ।’
जीवनमा विद्यालय नगएका पूर्णबहादुरले फौजी जीवनमै सामान्य लेखपढ सिके । सानोमा आफूले पढ्न नपाएको सम्झिएरपनि उनी सबैलाई पढ्न हौस्याउँछन् । तर अहिलेका पुस्ताहरू पुस्तक पढ्न पुस्तकालय नआउँदा उनलाई दुःख लाग्छ । ‘धरान जनजातिहरू धेरै भएको शहर हो, उनीहरू पुस्तक पढ्नमा त्यति ध्यान दिँदैनन् तर पत्रिका चाहिँ पढ्छन् ।’ पुस्तकालयमा वर्षौं बस्दाको उनको निष्कर्ष हो यो ।
भूतपूर्व ब्रिटिस सेना भएकाले उनको पेन्सन आउँछ । त्यो पैसा घरखर्च र पुस्तकालयमै खर्च गर्छन् । उनलाई अब यो पुस्तकालय समाजका लागि हस्तान्तरण गर्ने मन छ । धेरैले उनलाई यो पुस्तकालय नगरपालिकालाई हस्तान्तरण गर्न सुझाए । त्यसपछि उनी नगरपालिकाले छाताचोकमा सञ्चालन गरेको पुस्तकालय हेर्न गए । त्यहाँको अवस्था देखेर उनलाई विरक्त लाग्यो । आफ्नै पुस्तकालयको बेहाल भएको नगरपालिकाले अर्को पुस्तकालय सञ्चालन गर्ला भन्ने विश्वास लागेन । ‘अब कति बाँचिन्छ थाहा छैन, यो पुस्तकालय मैले खोले पनि समाजको सम्पत्ति हो । समाजलाई नै हस्तान्तरण गर्ने विचार छ । तर नेताहरूले जस्तो भ्रष्टाचार नगरून्, अक्षयकोष नमासून् ।’ उनको चाहना छ ‘मेरो शेषपछि समाजले राम्रोसँग पुस्तकालय चलाओस्, मैले लगानी गरेको छु । मरेर लानु त के छ र ।’
डकुमेण्ट्रीमा पूर्णबहादुरका यस्तै कथाहरू समेटिँदैछन् । उनलाई भने डकुमेण्ट्रीको फ्रेममा अलि अनौठो लाग्यो । ‘एक्सन गर्नुपर्ने रहेछ, दोहो¥याएर बोल्दा अलि अप्ठ्यारो लाग्यो’ उनी भन्छन्, ‘आफूलाई बोल्न पारा आउँदैन । दुई दिनसम्म बल्ल–बल्ल बोलियो ।’ छोराको रुचिको साहित्यमा जीवनै समर्पण गरेका पूर्णबहादुरका धेरै नम्बरीहरू अहिले बेलायत या हङ्कङतिर छन् । तर उनलाई यसैमा खुशी छ । उनी सुनाउँछन्, ‘श्रीमती बित्दा धेरै साथीभाइ आए, श्रद्धाञ्जली दिए । केपी ओली धरान आउँदा मलाई सम्मान गरे, मैले पैसाभन्दा साथीभाइ कमाएको छु । यसैमा सन्तुष्टि मिल्छ । बाँकी जीवन पनि यही पुस्तकालयमै बिताउँछु ।’