भद्रपुर / भद्रपुर भन्सारमा भारतीय व्यापारीलाई कडाइ गरेको भन्दै नेपालका मोटरसाइकलमाथि भारतले रोक लगाएको छ । भारत विहारको किशनगञ्ज जिल्ला अन्तरगत पर्ने गलगलिया भन्सारको आदेशमा भारतीय एसएसबीले मोटरसाइकल सीमा क्षेत्रमा रोकेको हो ।
नेपाल—भारतको सीमावर्ती भद्रपुर–गलगलिया जोड्ने नाकामा भारतीय पक्षले नेपाली नम्बर प्लेटको मोटरसाइकल भारत प्रवेशमा रोक लगाएपछि काम विशेषले सिमापारी गएका सर्वसाधारण फर्किएका थिए ।
नेपाल–भारत दुवैतर्फको सीमाबाट ५ किलोमिटर क्षेत्रसम्म बिना भन्सार मोटरसाइकल लैजाने प्रावधान छ । तर, भारतीय व्यापारीले भारतीय भन्सारलाई भद्रपुर भन्सारले गरेको कडाइका विषयमा जानकारी गराए पछि शनिवार बिहानदेखि नेपाली नम्बर प्लेटको सवारीसाधन भारत प्रवेश गर्न बन्द गरिएको छ ।
गलगलिया भन्सार र एसएसबी ४१ बटालियनका टोलीले नेपाली नम्बर प्लेटको मोटरसाइकल भारतीय राजदूतावासको कागजात माग्न थालेका छन् । कागजात भएका मोटरसाइकललाई मात्र जान दिने र अन्यलाई नेपाल नै फर्काउन थालिएको छ ।
भारतीय पक्षले शनिबार बिहानदेखि नेपाली नम्बर प्लेटको मोटरसाइकलमा रोक लगाएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठले बताए । भद्रपुर भन्सारमा भारतीय व्यापारीलाई कडाइ गरेको भन्दै नेपालको मोटरसाइकल माथि भारतले रोक लगाएको भारतीय पक्षले जनाएको उनले जानकारी दिए । दुवै देशका भन्सारको विषय नभइ व्यापारी व्यापारीबीचको समस्या भएको उनले जनाए । समस्या उत्पन्न भएपछि भद्रपुर भन्सारका रेवती गिरी,वडाका इन्सपेक्टर श्रेष्ठ र भारतीय पक्ष बिच आन्तरिक छलफलबाट समस्या सुल्झाउने बताए ।