ताप्लेजुङ / अखिल नेपाल फुटवल संघ (एन्फा) को सहयोग तथा ताप्लेजुङ् जिल्ला फुटवल संघको आयोजनामा ग्रासरुट कार्यक्रमको उद्घाटन गरिएको छ । तालिमको प्रतिनीधिसभा सदस्य तथा नेपाल कम्न्यूष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य योगेश भट्टराईले उद्घाटन गरे । भानु जन माविको खेल मैदानमा सुरु भएको कार्यक्रममा फुङलिङ नगरपालिका आसपासका ८ वर्षदेखि १२ वर्ष सम्मका करिव ६ सय विद्यार्थीको सहभागिता रहेको ताप्लेजुङ जिल्ला फुटवल संघका महासचिव विश्व नाल्वोले जानकारी दिए ।
पढाईसंगै फुटवल खेलमासमेत विद्यार्थीलाई आर्कषित गरि आगामी दिनमा फुटवलको राम्रो खेलाडी उत्पादन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको फुटवल संघका जिल्ला अध्यक्ष बालकुमार साँवाले बताए । यसरी सुरु गरिएको ग्रासरुट कार्यक्रम हरेक महिना शनिवारका दिन पारेर एक पटक सञ्चालन गरिने साँवाको भनाई छ । महासचिव नाल्वोले यस्तो खालको कार्यक्रमलाई जिल्ला सदरमुकाममा मात्र केन्द्रित नगरी गाउँपालिकाहरुसँग पनि समन्वय गरेर सञ्चालन गर्ने तयारी गरिएको बताए । कार्यक्रम सञ्चालनका लागि अखिल नेपाल फुटवल संघ (एन्फा) ले १ लाख वरावरको प्राविधिक सहयोग गरेको र अन्य खर्च दाताहरुसँग आर्थिक सहयोग मागेर सञ्चालन गरिएको फुटवल संघले जनाएको छ ।
कार्यक्रममा वोल्दै सांसद योगेश भट्टराईले एकताको सुत्रमा वाँध्न खेलकुदको मुख्य भुुमीका रहने बताए । यसका लागि संघीय सरकारलेसमेत नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए । प्रदेस सभा सांसदहरु बलवहादुर साम्सोहाङ, प्रतापप्रकास हाङ्गाम र होमकुमारी साँवाले प्रदेश सरकारको तर्फवाटसमेत खेल क्षेत्रको विकासका लागि नीती तथा कार्यक्रम तयार गरी वजेट विनियोजन गरिरहेको सुनाए ।