धरान प्रदेश १ सरकारले डेंगु नियन्त्रणका लागि प्रभावित क्षेत्रमा ८० लाख बजेट विनियोजन गरेको छ । सङ्क्रमितको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत खर्च गर्ने गरी ५० लाख विनियोजन गरिएको हो । प्रकोप न्यूनीकरण अभियान सञ्चालन गर्न ३० लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।
केही दिन अघि प्रदेशका सभामुख प्रदिपकुमार भण्डारी र सामाजिक विकास मन्त्रीले स्थलगत अवलोकन गरेका थिए । बजेट अभावमा निन्यूनिकरण अभियानमा समस्या भएको धरान उपमहानगरपालिकाकी कार्यबहाक मेयर मञ्जु भण्डारीले गुनासो राखेकी थिइन । प्रतिष्ठानमा भेन्टिलेटर अभावमा उपचार गर्न समस्या भएको अस्पताल निर्देशक डा. गौरीशंकर साहले बताएका थिए ।
प्रदेश सरकारका समामाजिक विकास मन्त्रीको प्रतिबद्धता अनुसार सङ्क्रमितको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई वटा भेन्टिलेटरसमेत प्रदान गर्ने भएको हो ।
आपत्कालीन उद्धार कोषअन्तर्गत प्रदेश सरकारले बजेट तत्काल निकासा हुने गरी विनियोजन गरेको ब्लाष्टखवरसँग कुराकानी गर्दै मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।
आइतबार सम्ममा धरानमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३ सय १४ जना पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा विकास साहकाअनुसार १  हजार १९ जनाको रगत जाँच गर्दा ३ सय १४ जनामा डेंगु भाइरस फेला परेको हो ।