धरान/ धरानमा डेङ्गु महामारी नियन्त्रणका लागि प्रदेश नम्बर १ सरकारले दुईथान भेन्टिलेटर र ८० लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले डेङ्गु सङ्क्रमितको निःशुल्क उपचारका लागि ५० लाख रुपैयाँ र महामारी न्यूनीकरण अभियान सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट दिने निर्णय गरेका हुन् ।

डेङ्गुका बिरामीको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेकाले उसैको मातहत खर्च गर्ने गरी ५० लाख रुपैयाँ दिने निर्णय भएको मुख्यमन्त्री राईले ब्लाष्टलाई बताए । उनले भने, ‘केही सातादेखि धरानमा फैलिएको डेङ्गु महामारी अरु नगरपालिका र गाउँपालिकामा प्रभावित नहोस् भनेर प्रदेश सरकार संवेदनशील हुँदै ८० लाख रुपैयाँ दिने निर्णय भएको हो ।’

उक्त रकम प्रदेश सरकारको आपतकालीन उद्धार कोषअन्तर्गत तत्काल निकासा हुने गरी सङ्क्रमितको उपचारका लागि प्रतिष्ठानमा दुईवटा भेन्टिलेटर र बजेट उपलब्ध गराउने निर्णय गरेको बताए ।

सङ्क्रमित ३ सय ६८ पुगे
डेङ्गु महामारी फैलिएयता २८ दिनमा धरानमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३ सय ६८ जना पुगेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास साहले बताए ।

उनका अनुसार उपचारका लागि आएका १ हजार २ सय ३० जनाको रगत जाँच गरिएको थियो । तीमध्ये ३ सय ६८ जनामा डेङ्गु भाइरस फेला परेको र प्रतिष्ठानमा सोमबार अपरान्ह ३ बजेसम्ममा ५४ जना डेङ्गुका नयाँ सङ्क्रमित थपिएको बताए ।

यसैबीच मनसुन शुरु हुनुअगाडि नै सर्च एण्ड डेस्ट्रोय अभियानमार्फत् डेङ्गु नियन्त्रण गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । मनसुन शुरु हुन अझै एकसाता बाँकी छ । चिकित्सकहरूले प्रि–मनसुनमा परेको पानीले डेङ्गु सङ्क्रमित एडिज एजिप्टाइ र एडिज एल्बो पिकस जातिको लामखुट्टे फैलिएको बताए ।

र्यापिड रेस्पोन्स टिमका संयोजक डा.विजयकुमार खनालले मनसुन शुरु हुनुअगाडि नै डेङ्गु नियन्त्रण गर्न व्यापक जनचेतना अभियानमा जुटेको बताए । उनले सर्च एण्ड डेस्ट्रोय अभियानलाई तीव्र बनाउँदै मङ्गलबारदेखि दुईसाताअघि घरदैलो गरेका क्षेत्रमा फेरि पनि जाने र निरीक्षण गर्ने बताए ।

टेष्ट किट अभाव
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेङ्गुको टेष्ट किट पठाउन ढिलाइ गर्ने र पठाए पनि मागेभन्दा अति थोरै मात्रामा पठाउने गरेकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा टेष्ट किट अभाव भएको छ ।

टेष्ट किट अभाव भएपछि प्रतिष्ठानको आन्तरिक बजेटबाट सोमबार ३ सय किट खरिद गर्ने अर्डर गरेको छ । प्रतिष्ठानले गतसाता हजार थान किट माग गरेकोमा महाशाखाले दुईसय किटमात्र पठाएको थियो ।