बिर्तामोड/ झापाको मेचीनगरमा मानव मलमूत्रको प्रशोधन गरेर कृषिमल उत्पादन गरिने भएको छ । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चारआलीको पहलमा मल उत्पादन गरिने भएको हो ।

बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको आर्थिक सहयोग र एशियाली विकास बैङ्कसँगको साझेदारीमा झापाको बिर्तामोड, बुद्धशान्ति र मेचीनगर नगरपालिकामा उत्पादन हुने मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण हुने भएको छ । ८ करोडको लागतमा मेचीनगर नगरपालिका–१४ मा ‘मानव मलमूत्रीय व्यवस्थापन केन्द्र’ निर्माण हुने भएको हो ।

असार अन्तिम सातादेखि प्रशोधन केन्द्र सञ्चालनमा आउने साना शहरी, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चारआलीका अध्यक्ष लालबहादुर थेबेले जानकारी दिए । २ बिघा ५ कठ्ठा क्षेत्रफल जमिनमा निर्माण हुँदै गरेको प्रशोधन केन्द्रबाट प्राङ्गारिक मल उत्पादन हुने थेबेले बताए । समितिले २७ घनमिटरको ५६ वटा मुख्य प्लाण्ट निर्माण गरेर सङ्कलित मलमूत्र भण्डारण गर्ने जनाएको छ ।

झापामा अहिले शहरी क्षेत्रमा उत्पन्न हुने मानव मलमूत्र व्यवस्थापनका लागि सुरक्षित स्थान छैन । ढल तथा सेफ्टी ट्याङ्की सरसफाइ व्यवसायीहरू शहरमा उत्पन्न त्यस प्रकारको लेदो जथाभावी खोला–खोल्सा, खेत र वनक्षेत्रमा फाल्दै आएका छन् । जसका कारण पर्यावरण सन्तुलनमा असर पुग्नुका साथै रोगको प्रकोप फैलिने अवस्था हुने गरेको छ ।

आयोजनामा एडीबीले ८५ प्रतिशत लागत अनुदान दिएको छ । बाँकी १५ प्रतिशत स्थानीय तहको लगानी रहेको आयोजनाको ठूलो हिस्सा बिर्तामोड नगरपालिकाको रहने अध्यक्ष थेबेले बताए । बिर्तामोड नगरपालिकाले ५७, बुद्धशान्तिले २९ र मेचीनगरले १४ प्रतिशत लगानी गरेर आयोजनाको निर्माण सम्पन्न हुन लागेको हो । मेचीनगरको आधा भू–भाग मात्र आयोजनाले समेट्ने भएका कारण सो नगरपालिकाको लागत सहभागिता थोरै भएको थेबेले जानकारी दिए ।

mal1

यसरी उत्पादन गरिन्छ
शहरबाट निस्कने लेदोलाई सबैभन्दा पहिले प्रशोधन केन्द्रको ‘स्क्रिनिङ चेम्बर’ मा हालिन्छ । त्यहाँबाट भल्बले कण्ट्रोल गर्दै ‘स्लच ड्राइङ बेड’ मा पुर्याउँछ । ड्राइङ बेडमा लेदोलाई १८ महिना राख्नुपर्ने हुन्छ । त्यसपछि कम्पोष्ट यार्डमा एकमहिना राखेर भान्साबाट निस्कने कुहिने सागसब्जी लगायतसँग मिसाउनु पर्छ । लेदोको मात्रा ७० प्रतिशत र अन्य मलको मात्रा ३० प्रतिशत मिसाएर अरु एक महिना राखेपछि खेतबारीमा प्रयोग गर्नका लागि मल तयार हुन्छ ।

स्लच ड्राइङ बेडबाट निस्किएको पानी ‘एनारोबिक वेफल रिएक्टर’ मा प्रशोधन हुन्छ । फेरि ‘प्लाण्टेड ग्राभल फिल्टर्ड यार्ड’ हुँदै ‘पोलिसिङ पोण्ड’ मा जम्मा हुन्छ । त्यहाँ जम्मा भएको पानी सफा हुने भएकाले खोलामा फ्याँक्न वा खेतबारीमा विसर्जन गर्न सकिने यसका प्राविधिकले जनाएका छन् । पोलिसिङ पोण्डमा जम्मा भएको पानी कीटाणु, रङ र गन्धरहित हुनेसमेत उनले बताए ।

उत्पन्न मलमा उर्वराशक्ति बढी हुने भएकाले बालीको लागि उपयुक्त हुने साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चारआलीका सचिव मधुसुदन निरौलाले बताए । कतिपय विकसित देशमा यस्तो मलको माग उच्च हुनेगरेको जानकारी उनले दिए । रासायनिक मलको प्रयोग गरेर उर्वराशक्ति ह्रास भएको जमिनमा यो मल प्रभावकारी सावित हुने गरेको निरौलाको भनाइ छ ।

केन्द्रले अहिलेसम्म मलको व्यवसायिक कारोबारको विषयमा कुनै खाका बनाएको छैन । बङ्गलादेशमा त्यस्तो मल एक केजीको १८ टाका (त्यहाँको मुद्रा) पर्ने जानकारी दिँदै अध्यक्ष थेबेले सञ्चालनको दुई वर्षपछि समितिले त्यही बमोजिमको मूल्य तोकेर बिक्री गर्ने बताए । मलको व्यवसायिक उत्पादन शुरु भएपछि झापाको कृषि उत्पादनमा उल्लेख्य योगदान पुग्ने दाबी थेबेको रहेको छ । साथै मलमूत्रको व्यवस्थापन नहुँदा फैलिने रोगको प्रकोप नियन्त्रण हुने उनले बताए ।