धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लिने एमबिबिएस/बिडिएस र एमडिएस/एमडिएमएसको प्रवेश परीक्षाका लागि गठित समितिको विवाद सतहमा देखिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले डीन डा. चन्द्रभूषण झालाई प्रवेश परीक्षा सञ्चालन समितिको अध्यक्ष बनाएपछि चिकित्सा शिक्षा आयोगले पूर्ववत् विधि र प्रक्रियाअनुसार एमबिबिएस/बिडिएस र एमडिएस÷एमडिएमएसको प्रवेश परीक्षा सञ्चालन गर्न निर्देशन नै जारी गरेपछि विवाद सतहमा देखिएको हो ।

एबिबिएस/बिडिएसको प्रवेश परीक्षा साउन १८ गते र एमडिएस/एमडिएमएसको असार २२ गते तोकिसकेको छ । प्रवेश परीक्षाका लागि चिकित्साशास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूले धमाधम फारम भरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् चिकित्सा शिक्षा आयोगका सह–अध्यक्ष गिरिराजमणि पोखरेलले पूर्ववत् विधि र प्रक्रियाअनुसार प्रवेश परीक्षा सञ्चालन गर्न निर्देशन दिएपछि उपकुलपति र शिक्षाध्यक्षबीचको मतभेद बाहिर छताछुल्ल भएको हो ।

आयोगका सह–अध्यक्ष पोखरेलले पठाएको निर्देशन पत्रमा विगत वर्षमा जस्तै शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरी परीक्षाको निष्पक्षता, स्वच्छता, पारदर्शिता र स्तरीयता कायम राखी काम कारबाही अगाडि बढाउन हुन निर्देशन दिएको जनाएको छ ।

उपकुलपति रौनियारले शिक्षाध्यक्षसँग तालमेल नमिलेपछि शिक्षाध्यक्ष डा. गुरु खनालले नै सिफारिस गरेर डीनमा नियुक्त भएका डा. चन्द्रभूषण झाको अध्यक्षतामा प्रवेश परीक्षा सञ्चालन समिति गठन गरेपछि चिकित्सा शिक्षा आयोगले पूर्ववत् विधि र प्रक्रिया अनुरूप नै प्रवेश परीक्षा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरेको पत्र आयोगले पठाएको छ ।

उपकुलपति रौनियारले आयोगले पठाएको भनिएको निर्देशन पत्र आफ्नो हातमा नपरेको बताए । उनले भने, ‘प्रतिष्ठानमा यसअघि भएका प्रवेश परीक्षा उपकुलपतिकै अध्यक्षतामा हुने गरेका थिए । बीचमा केही वर्ष शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परीक्षा सञ्चालन समिति बनेका थिए ।’

शिक्षाध्यक्ष डा. गुरु खनालले प्रवेश परीक्षा सञ्चालनबारे उपकुलपतिले आफूसँग कुनै समन्वय नगरेको बताए । उनले भने, ‘प्रतिष्ठानको शिक्षाध्यक्षले विद्यार्थी भर्ना, परीक्षा, पठन–पाठन हेर्ने जिम्मेवारी दिएको छ । सोहीअनुसार प्रवेश परीक्षाको सञ्चालन गर्ने अध्यक्षता मैले लिनुपर्ने हो तर मलाई केही नभनी आफू खुशी उपकुलपतिले गरिरहेका छन् ।’