दमक/ सुनसरी र मोरङ हुँदै झापामा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । झापामा केही दिनअघि एक जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि विभिन्न नगरपालिकाहरूले सचेतना अभियान तथा कार्यक्रमहरूलाई निरन्तरता दिन थालेको छ ।

केही दिनअघि झापाको कमल गाउँपालिकाका २१ वर्षीय प्रज्वल भण्डारीमा डेङ्गुको सङ्क्रमण फेला परेको दमकस्थित लाइफलाइन अस्पतालले जनाएको छ । अहिले पूर्र्वी नेपालको धरानसँगै अन्य विभिन्न स्थानमा डेङ्गुका सङ्क्रमितहरू भेटिन थालेका छन् । त्यसैले विभिन्न पालिकाहरूले डेङ्गुको महामारी नहोस् भनेर सचेतना कार्यक्रम थालेका छन् ।

तर यसभन्दा अघिल्ला वर्ष पनि यस प्रकारका सचेतना अभियान सञ्चालन भए पनि त्यसले प्रभावकारिता नपाएको दमक नगर कार्यपालिका सदस्य तथा वडा नं. ८ की महिला सदस्य मीना प्याकुरेल बताउँछिन् । त्यसैले यस पटक अभियान गरेको भन्दै फोटो खिच्न र ब्यानर देखाउन मात्र कार्यक्रम गर्नुको कुनै औचित्य नरहेको उनको तर्क छ ।

डेङ्गु नियन्त्रणका लागि विभिन्न प्रयास गरिन्छ । अघिल्लो वर्ष दमकमै पनि फगिङ छर्केर डेङ्गु सार्ने लामखुट्टे नष्ट गर्ने प्रयास भए पनि त्यसको समेत प्रभावकारिता देखिएन । फगिङले मानव स्वास्थ्यमा समेत असर गर्ने भन्दै नगरपालिकाले यसवर्ष फगिङ नछर्कने र डेङ्गु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने काममै ध्यान केन्द्रित गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्याल बताउँछन् ।

अघिल्लो वर्ष केही जनप्रतिनिधि र स्वास्थ्य स्वयम्सेवक मात्र सहभागी भई डेङ्गु नियन्त्रण अभियानमा हिँडेर डेङ्गु सार्ने लामखुट्टेका लार्भाहरू नष्ट गर्ने काम भएको थियो । तर त्यो पर्याप्त भएन । त्यसैले यस वर्ष चाहिँ नगरले हरेक वडा हुँदै टोल–टोलमा पुग्ने र नगरमा रहेका सबै सङ्घ–संस्था, राजनैतिक दलसँगको सहकार्यमा अभियान चलाउने नगरप्रमुख रोमनाथ ओलीको भनाइ छ ।

नगरपालिकाले मङ्गलबार नगरका विभिन्न पेशा, व्यवसायमा आबद्ध नागरिक तथा सरोकारवालासँग डेङ्गु नियन्त्रणका लागि आवश्यक छलफल तथा परामर्श गरेको थियो ।