ताप्लेजुङ/ ताप्लेजुङस्थित तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको निर्माणले तीव्रता पाएको छ ।

आयोजनाको मूख्य प्रर्वद्धक संस्था सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिना अघिबाट निर्माण थालिएको हो । निर्माण शुरु भएको छोटो अवधिमा नै २ सय ७७ मिटर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १ सय ६० मिटर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३ सय २ मिटर अडिट सुरुङ मार्गमध्ये २ सय ८० मिटर पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।

यस्तै आयोजनाको हेडवक्र्सका लागि समेत आवस्यक संरचना निर्माण पनि अघि बढेको छ । यी संरचना फुङ्लिङ नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बूको तल्लो क्षेत्रमा पर्ने मित्लुङमा निर्माण भइरहेको हो । चाइनिज निर्माण व्यवसायी कम्पनी झिझोङ फस्ट हाइड्रोले आयोजनाको मूख्य संरचनाको निर्माण गरिरहेको हो । कुल १२ अर्ब रुपैयाँ बराबरको लागतमा निर्माण हुने आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतिशत नेपाल इन्भेष्टमेन्टसहितका ७ वटा बैङ्कको लगानी हुने जनाइएको छ ।

आयोजनाको मुख्य संरचनाहरू मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ र फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनमा रहने आयोजनाले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत् मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सव स्टेशनमा पु¥याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए । मध्यतमोर जलविद्युत् आयोजनाका संयोजक डा. मणिराज पोखरेलका अनुसार कम्पनीलाई १ हजार २ सय ८१ दिनको कार्यतालिका बुझाइएको छ ।

यो कार्यतालिका डेढ महिनाअघि कम्पनीलाई बुझाइएको हो । साप्ताहिक समीक्षा बैठकमा कामको प्रगतिमा सन्तुष्टि पाइएको छ । शुरुवातमा ५४ मेगावाट उत्पादन गर्ने गरी तयारी थियो । यद्यपि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम अध्ययनमार्फत् पाइएपछि आयोजनाको हेडबक्स परिवर्तन गरिएसँगै थप १९ मेगावाट थप भएकाले उत्पादन क्षमता ७३ मेगावाट पुगेको हो ।

हेर्न आउनेलाई रोक्नै मुस्किल !
यसैबीच निर्माणाधिन आयोजनास्थल अवलोकन गर्न आउनेको व्यवस्थापन गर्न आयोजना पदाधिकारीलाई कठिन बनेको छ । डा. पोखरेलका अनुसार कतिपय स्थानीयले आफूहरूकै जग्गामा बनेको आयोजना अवलोकन हेर्न पाउनुपर्ने जिकिर गर्ने गरेका छन् । विभिन्न विद्यालयले समेत विद्यार्थीलाई अवलोकन गराउनका लागि सम्पर्क गर्ने गरेको डा. पोखरेलले बताए । स्थानीयसँग घुलमिल भएर कार्यसम्पादन गर्नुपर्ने भएकाले कतिपयले गर्ने विनम्रतापूर्वकको अनुरोधले साह्रै असजिलो भएको उनले अनुभव सुनाए ।