धनकुटा/ नेपालको छुवाछुत विश्वभर फैलिने खतरा बढेको भन्दै सरोकारवालाले छुवाछुतको जरा नेपालमै रहेकाले सबै मिलेर निर्मूल पार्नुपर्ने सोमबार यहाँ आयोजित एक अन्तक्र्रियामा सहभागीले जोड दिएका छन् ।

१४ औं छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा आयोजित छुवाछुतमुक्त १ नम्बर प्रदेश कार्यान्वयनका लागि सरोकारवालाबीच बृहत् अन्तक्र्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

नेपालीहरू विश्वको विभिन्न मुलुकमा रोेजगारीको सिलसिलामा जाने गरेको र गएसँगै छुवाछुत पनि सँगै लिएर जाने गरेकाले नेपालबाटै यसको निर्मूल गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका हुन् । अन्तक्रिया कार्यक्रममा कार्यपत्र पेश गर्दै मान्छे जति शिक्षित भए पनि व्यवहारमा परिवर्तन नआएसम्म छुवाछुत नहट्ने बताइयो ।

धनकुटा बजारमा दलित भएकै कारण डेरा नपाउने र भनेजस्तो घरघडेरी खरिद गर्नसमेत नपाउने अवस्था विद्यमान रहेको बताइएको थियो । दलित भएकै कारण बझाङमा अहिले पनि १ जना ठकुरी मर्यो भने त्यहाँका दलितले केश खौरेर १३ दिन बार्नु पर्ने प्रचलन रहेको बताइएको थियो ।

दलित अगुवा रविन्द्र नेपालीले नेपालमा सबैभन्दा बढी छुवाछुत दैलेख जिल्लामा हुने गरेको बताए । उनले नेपालमा रहेका ६० लाख दलितमध्ये ९० प्रतिशत दलितलाई खाना नपुग्ने अवस्था रहेको बताए । ‘नेपालका दलित बालीघरे प्रथाले फसेका हुन्, बालीघरे प्रथाले गर्दा उनीहरूको सीपको विकास भएन, त्यसको फाइदा अन्यले लिएको नेपालीले दाबी गरे ।