धरान/ रङ्गभूमि एकेडेमी धरानले तीन महिने नाट्य प्रशिक्षण दिने भएको छ ।

एकेडेमीले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी नाट्य सिकाइका विषयमा निजी तथा सामुदायिक विद्यालयहरूसँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । छलफलमा बोल्दै एकेडेमीका निर्देशक विष्णु मोक्तानले धरानको रङ्गकर्मलाई सक्रिय बनाउने उद्देश्यले तीन महिने प्रशिक्षण सञ्चालन गर्न लागिएको बताए ।

छलफलमा शिक्षामा नाटक र नाट्य सिकाइले के कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि चर्चा भएको थियो । कार्यक्रममा बोल्दै नेशनल एकेडेमीका निर्देशक शालिक सतासक राईले विद्यार्थीहरूलाई सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले निजी विद्यालयहरूले सैद्धान्तिकमा मात्र जोड दिएको उनको भनाइ थियो । उनले भने, ‘यस्तो शिक्षाले विद्यार्थीको मार्कसिटमा अङ्क मात्रै बढ्छ तर विद्यार्थी सँस्कारी, सामाजिक र व्यवहारिक हुँदैन । नाटक र कथाले विद्यार्थीलाई सामाजिक ज्ञान र व्यक्तित्व विकासमा सहयोग पुर्याउँछ ।’

सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले नाटकमा अभ्यास गराउने क्रममा विद्यार्थीले जिम्मेवारी बोध गरेको, आफ्नो उत्तरदायित्व बहन गरेको पाएको बताए । नाटकलाई व्यवहारिक शिक्षाको रूपमा लिन सकिने उनले बताए । त्यसैगरी किरातेश्वर माविका प्रधानाध्यापक योगेन्द्र पालुङ्वाले सैद्धान्तिक विषयलाई नाटकबाट बुझाउँदा प्रभावकारी हुने बताए ।

धेरै अभिभावकले अतिरिक्त क्रियाकलापमा सहभागी हुँदा बच्चाको पढाइ बिग्रन्छ भन्ने सोच्ने गरेको तर अन्य विद्यार्थीभन्दा अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रिजल्ट राम्रो हुने उनले दाबी गरे । ल्याबोरेटरी माविका प्रधानाध्यापक शङ्कर भण्डारीले नाटकको बारेमा विद्यार्थीलाई भन्दा पहिले शिक्षकलाई सिकाए प्रभावकारी हुने बताए ।

नाटक सिक्न आउने विद्यार्थीलाई महिनाको ३ सयका दरले पैसा लिने र सो रकम सिक्ने बेलामा चियामा खर्च गर्ने एकेडेमीका निर्देशक मोक्तानले जानकारी दिए । उनले भने, ‘तीनसय पनि तिर्न नसक्ने तर नाटकमा रुचि भएका विद्यार्थी आए निःशुल्क पनि सिकाउँछौं ।’