विराटनगर /  प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण भेटिएको छ । धरान र मोरङको विभिन्न स्थानमा भेटिएको डेंगुको संक्रमण विराटनगरमा पनि भेटिन थालेको हो ।
विराटनगर १ र ३ वडामा दुई जनामा डेंगुको संक्रमण भेटिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ललिता योञ्जनले जानकारी दिइन् । उनका अनुसार संक्रमितहरुको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट नर्सिङ्ग होममा उपचार भइरहेको बताइन् ।
डेंगुका विरामी भेटिन थालेपछि विराटनगर महानगरपालिका क्षेत्रमा बुधबारदेखि चार वटा टोलीले डेंगु नियन्त्रणकालागि स्प्रे गर्ने र डेंगु सार्ने लामखुट्टेको बासस्थान नस्ट गर्ने काम सुरु गरेको उनले बताइन् । ‘डेंगुको लार्भा खोजी गरि नष्ट गर्न महानगरपालिकाले प्राविधिक सहित दुई वटा टोली परिचालन गरेको छ,’ महानगरपालिको स्वास्थ्य महाशाखा प्रमुख योञ्जनले भनिन्, ‘महानगरपालिका क्षेत्रमा मालाथिन स्प्रे पनि लगाउन सुरु गरेका छौं ।’ डेंगो नियन्त्रण गर्ने मलाथिन स्प्रे महानगरपालिको सबै वडामा लगाउने तयारी गरेको उनले बताइन् ।
डेंगोको संक्रमण भएको पक्ता लगाउने महानगरपालिको २ सय थान किट खरिद गरेर राखेको छ ।
धरानमा डेंगुको प्रकोपको रूपमा देखापरेपछि मोरङको विभिन्न स्थानमा देखिएको छ । केही दिनअघि मोरङको सुन्दरहरैचा नगरपालिकामा संक्रमण देखिएको थियो । लगतै पथरी शनिश्चरे नगरपालिकामा पनि भेटिएको थियो ।
डेंगु फैलिएपछि प्रदेशसभाको सामाजिक विकास समितिले प्रभावित क्षेत्रमा आवश्यक स्रोतसाधन परिचालन गर्न, विरामीको उपचारमा खर्च निःशुल्क गर्न निर्देशन दिएको थियो । प्रदेश सरकारले डेंगु संक्रमितको उपचार निः शुल्क गर्ने बताइसकेको छ ।