विराटनगर /  धरानमा प्रकोपमा रूपमा देखिन थालेको डेंगुु अन्य जिल्लाहरूपमा पनि संक्रमणको रूपमा देखिन थालेपछि एक साताभित्र डेंगु नियन्त्रण हुने गरी काम अगाडी बढाएको १ नम्बर प्रदेश सरकारले बताएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बुधबार आयोजना गरिएको सर्वपक्षिय भेलामा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले एक साता भित्रमा डेंगु नियन्त्रण गर्ने हिसाबमा प्रदेश सरकार काम अगाडी बढेको बताए । उनले झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरुलाई सचेतना कार्यक्रम संचालन गर्दै डेंगु नियन्त्रणमा भूमिका खेलिदिन आग्रह गरे ।
‘स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीले डेंगु नियन्त्रणका लागि प्रभाबकारी भूमिका खेल्नु पर्दछ,’ उनले भने, ‘डेंगुबाट बच्न सचेता अभियानलाई प्रभावकारी बनाउनुपर्दछ ।’ त्यसको लागि बिहीबार विहानदेखि झापा, मोरङ र सुनसरी जिल्लाका सबै स्थानीय तह, विद्यालय लगायत स्थानमा अभियान संचालन गर्न र यसको संयोजन गर्न तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मन्त्री कार्कीले आग्रह गरे ।

धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अन्य स्वास्थ्य संस्थामा डेङगु नियन्त्रणका लागि चाहिने किट चाहिए प्रदेश सरकारले उपलब्ध गराउने बताउदै यो नियन्त्रणका लागि प्रदेश सरकारले कुनै कसर वाँकी नराख्ने बताए ।
स्वास्थ्य निर्देशनालय प्रदेश कार्यालय प्रमुख भोगेन्द्रराज डोटेलले धरानमा स्थानीयले पानी फाल्न नमानेका कारण नियन्त्रण हुन नसकेको भन्दै ट्याङकरबाट पानी वितरण गर्ने गरी जमाएको पानी नष्ट गर्नुपर्ने बताए ।
छलफलमा सहभागि स्वास्थ्यकर्मीहरुले धरानमा जनप्रतिनिधीले घरमा जमाएको पानी हटाउन आबश्यक पहल नगरेको, घर बाहिरमात्र स्प्रे गरिएको तर घर भित्र ध्यान नदिएको, स्वयमसेवक परिचालन गर्नुुपर्ने, विद्यालय कलेजमा सचेतना कार्यक्रम ल्याउनुपर्ने, पानीको विकल्प दिएर अहिले जमाएर राखेको पानी फाल्न लगाउनुपर्ने, पानी राख्न विर्को भएको भाडो मात्र प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । हाल सम्म सुनसरीमा ५ सय ४८ , मोरङमा ९ जना र झापामा ३ गरी ५ सय ६० जना डेङ्गुका विरामी फेला परेका छन् ।