धनकुटा/ धनकुटाको एक अनकन्टार जङ्गलभित्र अनौठो प्रकृतिको सात तले गुफा फेला परेको छ । धनकुटा नगरपालिका–१ ओक्मालुङको जङ्गलमा करिब १ सय मिटर उचाइको अजङ्गको ढुङ्गाभित्र सात तले गुफा फेला परेको हो ।

विगतमा घाँस दाउरा गर्न ओक्मालुङ जङ्गल क्षेत्रमा जाने स्थानीयले ढुङ्गाको भित्री भागबाट गुफा रहेको अनुमान पहिलेदेखि नै गर्दै आएका थिए । स्थानीय आठपहरिया केही युवाहरूले विभिन्न तला रहेको आकर्षक गुफा पत्ता लगाएको स्थानीय अर्जुन छाराहाङ आठपहरियाले बताए । गुफा संरक्षणको लागि स्थानीय उपभोक्ताहरूले भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न थालेपछि सो क्षेत्रमा चहल–पहल बढ्दै गएको आठपहरियाले बताए ।

धनकुटा नगरपालिका–१ स्थित लुङ्धाङ सामुदायिक वन क्षेत्रभित्रको ओक्मालुङको जङ्गलमा रहेको सो गुफा करिब १ सय मिटर लामो रहेको छ । गुफाको प्रवेश गर्ने द्वार साँघुरो ठाउँ पार गरेर भित्र पुगिसेकपछि फराकिलो भाग देख्न सकिने स्थानीयबासी बताउँछन् । गुफाभित्रको फराकिलो भाग पुगिसकेपछि तला चढ्नका लागि ढुङ्गाको सामान्य खालको भर्याङसमेत रहेको छ ।

पहिलो तलामा पुग्दा त्यसस्थानभन्दा तल र माथि दुई तला मजाले नियाल्न सकिन्छ । हाल चार तलासम्म मात्र पुग्न सकिन्छ । उक्त गुफाको अवस्थाबारे २ वर्ष अघिदेखि चासो राख्दै आएका धनपा–१ का स्थानीयले ओक्मालुङ लुङ्धाङ गुफा पर्यटन विकास समिति नामको संस्था गठन गरेर अनुसन्धान र पूर्वाधारको काम थालनी गरेको समितिका अध्यक्ष शुक्रबहादुर आठपहरियाले बताए ।

गुफाको उत्तरतर्फ रहेको प्रवेशद्वारबाट प्रवेश गर्दा करिब १६ मिनेटमा दक्षिणीतर्फको द्वारबाट बाहिरिन सकिन्छ । यस्तै, गुफा रहेको स्थलबाट करिब पाँच सय मिटरको दूरीमा ५० मिटर अग्लो आकासे झरनासमेत रहेको छ । झरना र गुफाका कारण आफ्नो क्षेत्रमा पर्यटकको आकर्षण हुनसक्ने भन्दै स्थानीयले होमस्टेको तयारी गरेको स्थानीय उत्सव आठपहरियाले बताए । झरना र गुफा संरक्षणको लागि १ नम्बर प्रदेश सरकारबाट १० लाख रुपैयाँ विनियोजन भएको ओक्मालुङ लुङ्धाङ गुफा संरक्षण समिति सचिव इन्द्र थापाले जानकारी दिए ।

ओक्मालुङको ७ तले लुङ्धाङ गुफामा पुग्न कोशी लोकमार्गको हिलेस्थित तोङ्बाचोकदेखि २ किलोमिटर दूरीमा पर्दछ । गुफासम्म पुग्ने यातयातको पहुँच पुर्याउन मोटरबाटो व्यवस्थित गर्नसके राजमार्गदेखि २० मिनेटमा आन्तरिक तथा वाह्य पर्यटकहरूले गुफा र आकासे झरनाको प्रत्यक्ष अवलोकन गर्न पाउने थिए । मोटरबाटोको पहुँच पु¥याउन समितिको तर्फबाट प्रयास भइरहेको समितिका सचिव थापाले बताए ।