चर्चित फिल्म ‘बाहुबली’ का अभिनेता प्रभासको फिल्ममा बलिउडका चर्चित अभिनेता सलमान खानलाई पनि काम गर्न प्रस्ताव गरिएको छ । एक्सन ड्रामा बेसको फिल्म ‘साहो’ मा सलमान भने अतिथि कलाकारका रूपमा रहने भारतीय मिडियाहरूले जनाएका छन् ।

फिल्मको छायाङ्कन अन्तिम चरणमा पुगेको बताइएको छ । फिल्मको पोष्टर र ट्रिजर भने रिलिज भइसकेको छ । फिल्ममा निल नीतिन मुकेशले मुख्य भूमिका निभाउँदै छन् । उनी फिल्मको खलपात्रको रूपमा देखिनेछन् । निलले नै निर्माताहरूलाई फिल्ममा सलमान खानलाई समावेश गर्न सुझाव दिएका थिए ।

निल सलमान खानको निकै नजिक रहेका बलिउड कलाकार मानिन्छन् । उनीहरूले ‘प्रेम रतन धन पायो’ मा सँगै काम गरेका थिए । यस फिल्ममा पनि निलले खलनायकको भूमिका निभाएका थिए । तर, साहोका लागि भने अहिलेसम्म सलमानले कुनै जवाफ दिएका छैनन् ।

साहो १५ अगष्टमा रिलिज हुँदैछ । साहोको निर्देशन सुजितले गरेका छन् । फिल्ममा प्रभासबाहेक श्रद्धा कपुर, मन्दिरा बेदी, निल नितिन मुकेश, जैकी श्राफ, महेश मान्जरेकर, चन्की पाण्डे मुख्य कलाकारको रूपमा रहेका छन् ।

साहो हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ । अहिले सलमान आफ्नो फिल्म ‘भारत’ को प्रमोसनमा व्यस्त रहेका छन् ।