विराटनगर/ प्रदेश–१ को राजधानी विराटनगर महानगरपालिकामा पनि डेङ्गुको सङ्क्रमण भेटिएको छ । धरान र मोरङका विभिन्न स्थानमा भेटिएको डेङ्गुको सङ्क्रमण विराटनगरमा पनि भेटिन थालेको हो ।

विराटनगर १ र ३ वडामा दुई जनामा डेङ्गुको सङ्क्रमण भेटिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ललिता योञ्जनले जानकारी दिइन् । उनका अनुसार सङ्क्रमितहरूको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट नर्सिङ होममा उपचार भइरहेको बताइन् ।

डेङ्गुका बिरामी भेटिन थालेपछि विराटनगर महानगरपालिका क्षेत्रमा बुधबारदेखि चार टोलीले डेङ्गु नियन्त्रणका लागि स्प्रे गर्ने र डेङ्गु सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने काम शुरु गरेको उनले बताइन् । ‘डेङ्गुको लार्भा खोजी गरी नष्ट गर्न महानगरपालिकाले प्राविधिकसहित दुई वटा टोली परिचालन गरेको छ,’ महानगरपालिको स्वास्थ्य महाशाखा प्रमुख योञ्जनले भनिन्, ‘महानगरपालिका क्षेत्रमा मालाथिन स्प्रे पनि लगाउन शुरु गरेका छौं ।’

डेङ्गु नियन्त्रण गर्ने मलाथिन स्प्रे महानगरपालिको सबै वडामा लगाउने तयारी गरेको उनले बताइन् । ‘वडा विभाजन गरेर डेङ्गु नियन्त्रण गर्ने मलाथिन स्प्रे र डेङ्गुको लार्भा खोजी गरी नष्ट गर्ने काम एकै चोटि भइरहेको छ,’ उनले भनिन्, ‘विराटनगरको बसपार्कक्षेत्रमा पानी जमेको ठाउँमा बढी डेङ्गुका लार्भा भेटियो, भेटिएका लार्भा तत्काल नष्ट गरेका छौं ।’ मङ्गलबार सङ्क्रमण देखिएपछि बुधबार विराटनगर १, २, ३ र १० नम्बर वडामा मालाथिन फगी स्प्रे छर्ने काम शुरु गरेको उनले बताइन् ।

डेङ्गोको सङ्क्रमण भएको पत्ता लगाउने महानगरपालिको २ सय थान किट खरिद गरेर राखेको छ । शंकास्पद व्यक्ति देखिए महानगरपालिको किट प्रयोग गरेर डेङ्गुले सङ्क्रमण गरेको छ वा छैन पत्ता लगाउने गरेको छ । महानगरपालिको डेङ्गुबाट बच्न सचेतना अभियान पनि शुरु गरेको छ ।

धरानमा डेङ्गुको प्रकोपको रूपमा देखापरेपछि मोरङको विभिन्न स्थानमा देखिएको छ । केही दिनअघि मोरङको सुन्दरहरैंचा नगरपालिकामा सङ्क्रमण देखिएको थियो । लगतै पथरी शनिश्चरे नगरपालिकामा पनि भेटिएको थियो ।

डेङ्गु फैलिएपछि प्रदेशसभाको सामाजिक विकास समितिले प्रभावित क्षेत्रमा आवश्यक स्रोतसाधन परिचालन गर्न, बिरामीको उपचारमा खर्च निःशुल्क गर्न निर्देशन दिएको थियो । प्रदेश सरकारले डेङ्गु सङ्क्रमितको उपचार निःशुल्क गर्ने बताइसकेको छ ।