भद्रपुर/ पछिल्लो वर्षमा प्राकृतिक विपद्बाट भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति भइरहेको पाइएको छ । जसमा झापामा दुई पाङ्ग्रे सवारी सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । झापामा हुने अधिकांश सवारी दुर्घटनामा दुई पाङ्ग्रे सवारी पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

चालु आर्थिक वर्षको २०७६ जेठ २८ सम्म दुई पाङ्ग्रे सवारी दुर्घटना हुदाँ ९४ जनाले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका इन्सपेक्टर होमप्रसाद अधिकारीले जनाए । ११ महिनाको अवधिमा ६३ जना चालक र ३१ जना पछाडि सवार यात्रुको मृत्यु भएको इन्पेक्टर अधिकारीको भनाइ छ ।

आर्थिक वर्ष २०७२–०७३ मा १ सय ५८ दुर्घटनामध्ये ७९ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७३–०७४ मा भएका १ सय ३७ वटा मा ८६ जना, आर्थिक वर्ष २०७४–०७५ मा १ सय ३७ दुर्घटनामध्ये १०५ र चालु आर्थिक वर्षको जेठ २८ सम्म ९४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

११ महिनाको अवधिमा १ सय ४९ वटा मोटरसाइकल दुर्घटना भएको उनले जनाए । चालु महिनाको २८ गतेसम्म २ पुरुष र १ महिलाको ज्यान गएको उनले जानकारी दिए ।

सडकको अवस्था सुधार नहुनु, सवारीको सङ्ख्या दिनहु बढ्नुले दुर्घटना बढाएको ट्राफिक प्रहरीले जनाएको छ । चालकको लापरबाही, मादक पदार्थ सेवनजस्ता कारण सडक दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरेर मोटरसाइकलको पछाडि सवार यात्रुलाई पनि हेल्मेट लगाउन अनुरोध गर्ने गरेको बताए पनि कतिपय चालकले हेलमेट नलगाएको पाइएको छ ।

चालक र पछाडि सवार यात्रुले हेलमेट लगाएमा दुर्घटनाको क्षति कम हुने उनको भनाइ छ । सबै भार टाउकोमा रहेकाले टाउको जोगिएमा यात्रु बाँच्न सक्ने उनको बुझाइ छ । व्यापारी र प्रहरीलाई नभई यात्रु आफैंको लागि हेलमेट सुरक्षित वस्तु भएको उनले बताए ।