भद्रपुर/ जङ्गली हरिणको सिङसहित एक नेपाली नागरिकलाई भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लाको ठाकुरगञ्जबाट एसएसबी १९ नम्बर बटालियन टोलीले पक्राउ गरेको छ ।

एसएसबीका उप सेना नायक अन्जयकुमार रजकको नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा हरिणको सिङसहित बाह्दशी गाउँपालिका राजगढका २४ वर्षीय सदरुल आलमलाई पक्राउ गरेको एसएसबीले जनाएको छ ।

दक्षिणी झापाको कचनकचव नाकाबाट मोटरसाइकल चढेर आलम भारतको ठाकुरगञ्ज बजारतर्फ गइरहेका थिए । ठाकुरगञ्ज पुगेका उनलाई एसएसबीले हरिणको आधा दर्जन सिङसहित रङ्गेहात पक्राउ गरेको हो ।

आलमलाई आवश्यक कारबाहीका लागि एसएसबीले वन विभागलाई जिम्मा लगाइसकेको जनाएको छ । भारतीय एसएसबीले सो नाकाबाट भारततर्फ वन्यजन्तुको छाला तथा हड्डी तस्करी गर्ने व्यक्तिलाई यसअघि पनि पटक– पटक पक्राउ गरिसकेको छ ।

झापामा छाला तथा हड्डीको तस्कर गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । सो नाकाहरूबाट नेपालका वन्यजन्तुको छाला, रौ तथा हड्डी तस्करी हुँदै आइरहेको छ । नेपालका वन्यजन्तुको छाला तथा हड्डी भारततर्फ तस्करी हुँदा समेत यसको नियन्त्रण तथा रोकथामका लागि झापाका प्रहरी, प्रशासन असफल देखिएको छ ।

खुला सीमाना तथा जनसक्ती कमका कारण प्रहरीलाइ झुक्याएर तस्करी गरेको हुनसक्ने जिल्ला प्रहरी डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । जलथलको जङ्गलबाट कारोबारीले लगेको हुनसक्ने उनको भनाइ छ । प्रहरीले फेला पारेमा कडा कारबाही गरिने उनले जनाए ।