धनकुटा/ पाख्रीबास नगरपालिका कार्यालयले सार्वजनिक जग्गामा ढुङ्गा उत्खनन् गर्न स्वीकृति दिएपछि अहिले सो क्षेत्रका ९५ घर दलित बस्ती पहिरोको कारण विस्थापित हुने अवस्थामा पुगेको छ ।

धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ५ घोर्लीखर्कस्थित डिकुरे र खाल्डेका स्थानीय बासिन्दासँग आवश्यक समन्वय र छलफल नै नगरी शिकारीडाँडामा ठेक्कामार्फत् ढुङ्गा फोर्ने कार्य शुरु गरेपछि यो समस्या आएको हो । नगरपालिकाकै कारण बस्ती खतरामा परेको भन्दै पहिरो पीडितहरूले उच्च अदालत विराटनगरको धनकुटा इजलासमा बुधबार मुद्दासमेत दायर गरेका छन् ।

शिकारीडाँडा आसपास बसोबास गर्ने ९५ घर दलित परिवार उठीबास लाग्ने भन्दै उनीहरूले उच्चअदालत धनकुटा इजलासमा मुद्दा दायर गरेका हुन् । पाख्रीबास नगरपालिका कार्यालयका नगरप्रमुख विर्षबहादुर राई, पाख्रीबास न.पा.वडा नं.५ को कार्यालय र वडा नं. ५ का वडाध्यक्ष गोपालबहादुर थापालाई विपक्षी बनाई स्थानीय पीडित परिवारको तर्फबाट कुलबहादुर र मानबहादुर विश्वकर्माले उच्च अदालत धनकुटा इजलासमा मुद्दा दायर गरेका छन् ।

निषेधाज्ञायुक्त परमादेश माग गरिएको सो मुद्दामा स्थानीयबासीसँग आवश्यक छलफल र समन्वय नगरी एकलौटी ढङ्गले सार्वजनिकस्थलमा ढुङ्गा उत्खनन् गर्न ठेक्का दिएर दलित बस्ती विस्थापित गराउन खोजेको आरोप लगाइएको छ । पुस्तौंदेखि सो क्षेत्रमा दलितहरूको बसोबास रहेको र उनीहरूले शिकारीडाँडामा संसारी पूजा गर्ने गरेको बताएका छन् ।

उनीहरूले संसारी पूजा गरिँदै आएको शिकारीडाँडा ऐतिहासिक र्धािर्मकस्थलसमेत रहेको दाबी गरेका छन् । सो क्षेत्रमा ढुङ्गा निकाल्न थालेपछि शिकारीडाँडा वरिपरिको दलित बस्तीका घरहरूमा ढुङ्गा झर्न थालेपछि घर छाडेर हिँड्नुपर्ने अवस्थासमेत सिर्जना भएको मानबहादुर विश्वकर्माले बताए ।

सो क्षेत्रमा ढुङ्गा निकाल्न डोजर प्रयोग भएपछि दलित बस्तीका घरसम्म ढुङ्गा झर्न थालेपछि मानिस तथा पशुपंक्षीसमेत जोगाउन कठिन हुन थालेको स्थानीयले बताए । नगरप्रमुख र वडाध्यक्ष गोपाल थापासँग यसबारे मौखिक जानकारी गराए पनि बेवास्ता गरेको स्थानीय कुमार विकले बताएका छन् ।

स्थानीयबासीले हारगुहार माग्दा उल्टै वडाध्यक्ष र नगरप्रमुखले भने, ‘हामीले प्रक्रिया पूरा गरेर काम जिम्मा दिएका छौं, जे जे गर्नुपर्छ गर भन्ने जवाफ दिएका छन् ।’ नगरप्रमुख र वडाध्यक्षबाट समस्याको समाधान नभएपछि उनीहरूले सयौं दलितका घरबस्ती जोखिममा परेको भन्दै ढुङ्गा निकाल्ने कार्य तत्काल रोकी पाऊँ भनी कानूनी उपचारको खोजीमा अदालतको ढोकासम्म आइपुगेको बताएका छन् ।

नगरपालिकाले प्रक्रिया पु¥याएर ढुङ्गा उत्खनन् गर्न दिएको बताए पनि स्थानीयवासी भने आफूहरूलाई कुनै पनि प्रक्रियाका बारेमा वडाअध्यक्ष गोपालबहादुर थापाले जानकारी नगराएको बताएका छन् । एकातिर वर्षायाम शुरु भएको छ भने अर्कोतिर घरछेउमै नियमित डोजर चलाइँदा गाउँबस्तीका सबै आतङ्कित भएको पीडित दिलमाया घतानीले बताइन् ।

उनले बेला–बेलामा डोजरले ढुङ्गा खोतल्दा र टिपरले बोक्दा लडेर घरसम्म आउने गरेको बताइन् । पाख्रीबास नगरपालिका वडा नं. ५ घोर्लीखर्कको दलित बस्तीको बीचमा पर्ने शिकारीडाँडा हिले–भोजपुर सडक–खण्डको नजिकै पर्दछ । सो विषयमा पाख्रीबास नगरपालिकाका प्रमुख राईसँग ब्लाष्टले सम्पर्क गर्दा उनले फोन उठाएनन् ।