लक्ष्मीमार्ग । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी हालै गरेको एउटा घोषणाका कारण चर्चाको शिखरमा छन् । त्यो हो, परिकल्पनामा रहेको जनयुद्ध प्रतिष्ठान नेपाललाई आफ्नो ८ बिघा पैतृक सम्पत्ति दिने घोषणाका कारण ।

नगर पिताका रूपमा रहेका सुवेदीको यो निर्णयले नगरबासी पनि उत्साहित बनेका छन् । ८ बिघा जग्गामा जनयुद्धकालमा भएका गतिविधिहरूलाई समेटेर सङ्ग्राहलय, शैक्षिक गतिविधि, स्वास्थ्य गतिविधि, पार्क तथा अन्य रोजगारमूलक कार्यक्रम गर्ने पत्र प्राप्त गरेपछि नगर प्रमुख सुवेदी त्यो घोषणा गर्न पुगेका हुन् । बेलबारी कार्यपालिकाको बिहीबार बसेको बैठकमा उनले यस्तो घोषणा गरेपछि जनयुद्ध प्रतिष्ठान बन्ने सम्भावना बढेर गएको छ ।

हाल जग्गाको बजार मूल्य करिब ८ करोड रुपैयाँ पर्छ । नगर प्रमुख सुवेदीले आफूले बेलबारीको समृद्धि चाहेकाले आफ्नो पैतृक सम्पत्ति नगरको योगदानमा खर्चिएको बताए । विकाकका लागि आफू जहिल्यै पनि लागीपर्ने बताएका छन् । जग्गा प्राप्त भएमा आउँदो आर्थिक वर्षको शुरुवातमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर कामको थालनी गर्ने प्रतिष्ठानका अध्यक्ष सावित्रीकुमार काफ्लेले बताए ।

सङ्घीय, प्रदेशमा छलफल चलिरहेका बेला नगर प्रमुखले जग्गा दिने घोषणाले आफूहरू उत्साही बनेको उनले बताए । नगर प्रमुख सुवेदीले यसअघि पनि बेलबारीको फोहोर थुर्पाने ठाउँ (डम्पिङ साइट) का लागि जग्गा प्रदान गरेका छन् ।