बिर्तामोड । झापामा समेत डेंगु रोगको संक्रमण शुरु भएको छ । अघिल्लो बर्ष भयावह रुपमा देखा परेको डेंगु संक्रमण यो बर्ष पनि देखा परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
अघिल्लो बर्ष झापामा ५ सय ३५ जनामा डेंगुरोगको संक्रमण देखा परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो बर्ष ८ जनामा संक्रमण भइसकेको स्वास्थ्य कार्यालयका भेक्टर कन्टूोल अधिकृत बेदप्रसाद घिमिरेले जानकारी दिए । अघिल्लो बर्ष डेंगुको संक्रमणबाट दुईजनाको ज्यान गएको थियो ।
झापाका तीनवटा स्थानीय तहमा डेंगु संक्रमित भेटिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्थानीय तहका स्वास्थ्य प्रतिनिधिहरुले बिहीबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको डेंगु नियन्त्रण सम्बन्धी बैठकमा उक्त तथ्यांक पेश गरेको स्वास्थ्य कार्यालयका भेक्टर कन्टूोल अधिकृत घिमिरेले जानकारी दिए ।
उनले भने, ‘भद्रपुर नगरपालिकामा एकजना, दमक नगरपालिकामा दुईजना र विर्तामोड नगरपालिकामा पाँचजना संक्रमित भेटिएको सुचना हामीलाई आएको छ ।’ बिर्तामोडको एक अस्पतालमा ६ जना डेंगु संक्रमित बिरामीको उपचार भइरहेको जनाइएको छ । तीन जना झापा र तीन जना सुनसरीको धरानका रहेका छन् । भद्रपुरमा फेला परेका डेंगु संक्रमितको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसैगरि दमक अस्पतालमा दुई जना डेंगु संक्रमितको उपचार भइरहेको जनाइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकमा डेंगु फैलिन नदिन रोकथामका सबै उपाय अपनाउने निर्णय भएको स्वास्थ्य कार्यालय प्रमुख मधुसुदन कोइरालाले जानकारी दिए । डेंगुका लार्भा खोजेर मार्ने कोइरालाले बताए । झापाका सबै नगरपालिका तथा गाउँपालिकाले एडीज एजिप्टाई प्रजातिको लामखुट्टे, अण्डा तथा लार्भा नस्ट गर्ने अभियान चलाउने निर्णय भएको उनले बताए ।

उर्लाबारी । सम्भावित डेङ्गु नियन्त्रणका लागि उर्लाबारी नगर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
नगरपालिकाले नगरका सबै स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीसमेत डेङ्गुको परीक्षण गर्न निर्देशन दिएको छ भने ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ । डेङ्गु नियन्त्रण अभियानमा मेयर खड्ग फागोको प्रत्यक्ष निगरानीमा मध्य रातसम्म नगरका सबै क्षेत्रमा फगिङ तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको स्वस्थ्य शाखाका संयोजक तोयानाथ घिमिरेले बताएका छन् । संयोजक घिमिरेले उर्लाबारी क्षेत्रमा कसैसँग डेङ्गु सङ्क्रमित नभेटिएको बताए पनि उर्लाबारी–७ की फलफूल व्यवसायी ललिता चौधरी सङ्क्रमित भएकी परिवारजनले बताएका छन् । सङ्क्रमित चौधरीको विराटनगरको एक निजी अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच डेङ्गु नियन्त्रण तथा रोकथामको लागि मङ्गलबारे अस्पतालकी डा. एलिना ताण्डुकारको संयोजकत्वमा नगरस्तरीय एक ‘¥यापिड रेस्पोन्स टिम’ गठन भएको छ । सो टिममा रेनुका काफ्ले, बालकृष्ण शाही, प्रकाश ढुङ्गाना, ललिता निरौला, योगन्द्र कट्टेल, श्रद्धा खड्का, शोभा लामिछाने र नगेन्द्र तिमल्सिना रहेका छन् । ¥यापिड् रेस्पोन्स टिमले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि क्रियाशील भएर कार्य गर्ने र नगरमा डेङ्गु लाग्न सक्ने सम्भावित स्थानको खोजी गरी लार्भा नष्ट गर्न निर्देशन दिएको मेयर फागोले बताएका छन् ।

उदयपुरमा पनि डेङ्गुका बिरामी

उदयपुर । धरानबाट शुरु भएको डेङ्गु रोगको सङ्क्रमण उदयपुरमा पनि एक जनामा देखा परेको छ ।
त्रियुगा नगरपालिका–३ मोतिगडाका ४० वर्षीय चुडामणि आचार्यलाई डेङ्गु रोगको सङ्क्रमण देखा परेको हो । सङ्क्रमित आचार्यको नोबेल हस्पिटल विराटनगरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दुनियालाल यादवले बताए । डेङ्गु घरमा हुँदै वा बाहिर जिल्लाबाट उनलाई रोग सरेको भन्ने बारेमा एकिन जानकारी आइनसेको उनले बताए ।
विराटनगर लगिएका बिरामीको पूर्ण जानकारी लिने क्रम नसकिएकाले यहीँ लागेको हो या बाहिर नै लागेको हो भन्ने बारेमा एकिन नभएको कार्यालयले जनाएको छ । पूर्वमा सुनसरीको धरानबाट डेङ्गुको सङ्क्रमण फैलँदै मोरङ, झापा गरी जम्मा ५ सय ६० जनामा डेङ्गु देखा परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । धरानमा डेङ्गुको प्रकोप फैलिँदै गएपछि प्रदेश सरकारले यसको नियन्त्रण गर्नका लागि तदारुकता देखाएको छ । तीन जिल्लामा मात्रै फेला परेको डेङ्गु उदयपुरमा पनि फेला परेको हो ।