फराहन अख्तरको फिल्म ‘डन–३’ लाई लिएर लामो समयदेखि चर्चा भइरहेको छ ।
शाहरुख खानको हिट फ्रेन्चाइजीको रूपमा रहेको डनको तेस्रो सिक्वेलमा भने उनी देखिने छैनन् । शाहरुखले नखेल्ने भएपछि निर्माताले रणवीर सिंहलाई कास्ट गर्ने बारेमा सोचिरहेका बताइएको छ । त्यस्तै नायिकाको रूपमा दीपिका पादुकोणलाई निर्माण समूहले प्रस्ताव गरेको छ । फिल्ममा कटरीना कैफको नाम समेत चर्चामा छ । यदि दीपिकाले उक्त फिल्म पाइन् भने उनले विवाहपछि पहिलो पटक पति रणवीर सिंहसँग फिल्म खेल्नेछिन् ।

पछिल्लो पटक यो जोडी सञ्जयलीला भन्सालीको फिल्म ‘पद्यावत’ मा देखिएको थियो । यो फिल्म २०१८ को हिट मानिन्छ । दीपिका र उनका पति रणवीरलाई सँगै देख्न उनीहरूका फ्यान भने तीव्र प्रतीक्षामा छन् । २००६ मा रिलिज भएको डनमा शाहरुख खान र प्रियङ्का चोपडाको मुख्य भूमिका थियो । करिना कपुर अतिथि कलाकारको रूपमा देखिएकी थिइन् । २०११ मा आएको ‘डन–२’ मा शाहरुख खानलाई प्रियङ्का चोपडा र लारा दत्तले साथ दिएका थिए । अब ‘डन ३’ का लागि कसलाई छानिन्छ भन्ने कौतुहलता आम दर्शकहरूमाझ रहेको छ ।