डा.अनुप पोख्रेल अर्थोपेडिक सर्जन हुन् । तर उनको रुचि हो, मोडलिङ ।
झापाको दमकस्थित एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलका डा.अनुपको दिनचर्या हाडजोर्नी रोगका बिरामीहरूसँग बित्छ । तर फुर्सदमा उनी आफ्नो रुचिको क्षेत्र मोडलिङ बारे बुझ्छन् । फोटो खिच्छन् । उनलाई केही भिडियो र अन्य क्षेत्रका मोडलिङ बारे अफर पनि आएका छन् तर उनी राम्रा भिडियो र सन्देशमूलक विज्ञापनमा मोडलिङ गर्न चाहन्छन् ।
मोडलिङ उनको पहिलादेखिकै रुचि हो । काठमाडौं मेडिकल कलेजबाट मास्टर्स, भरतपुरबाट एमबीबीएस र भारतको एपोलो हस्पिटलबाट फेलोसिप इन अर्थोस्कोपी एण्ड अर्थोप्लाष्टिक गरेका डा.अनुप आगामी दिनमा समय निकालेर मोडलिङ गर्ने सोचमा छन् ।

केही वर्षअघि धरानको विजयपुर हस्पिटलमा कार्यरत रहँदा उनले गर्धनमा गोली लागेको घाइतेको जोखिमपूर्ण अप्रेसन सफलतापूर्वक गरेपछि उनको चर्चा भएको थियो । उनी अझ राम्रो गर्ने सम्भावना खोज्दै भारतको एपोलो हस्पिटलमा दूरबीनबाट हाडजोर्नीको अप्रेसन गर्ने प्रविधि सिकेर आए । त्यसयता दमकमा हस्पिटल सञ्चालकसमेत बनेर जटिल प्रकृतिका अप्रेसनहरू गरिरहेका छन् । उनलाई लामो समयदेखि दुःख खेपिरहेका बिरामीलाई उपचार गरेर ठीक बनाउँदा खुशी लाग्छ । उनले ८० वर्षसम्मका वृद्धहरूदेखि युवापुस्ताका खेलाडी, विद्यार्थीहरूको हाडजोर्नीको उपचार गरेका छन् । उनी भन्छन्, ‘अहिले धेरै खेलाडी र विद्यार्थीको लिगामेन्ट फाट्ने समस्या आउँछ । उनीहरू उपचार पाएर फर्किंदा मलाई पनि खुशी मिल्छ । किनकी युवापुस्ता नै भविष्यमा देश बनाउने आधार हो ।’
डाक्टरी गरेपछि उनलाई पनि विदेश जाने अवसरहरू त धेरै आए तर देश चट्टै छाडेर जान मन मानेन । त्यसैले त उनी हस्पिटल सञ्चालन गरेर बिरामीको सेवा गर्ने अनि रुचिका लागि मोडलिङ गर्न चाहन्छन् । मोडलिङमा राम्रो अवसर पर्खिरहेका उनी भन्छन्, ‘जे जे गरे पनि आफ्नै देशमा गर्दाको आनन्दै बेग्लै हुन्छ ।’