पाँचथर / मुटु जत्तिकै प्रिय लाग्ने प्रेमीकालाई प्रेमीले नै हत्या गर्न सक्छन् ? विश्वास गर्न ग्राहो हुन्छ । तर पाँचथर हिलिहाङ–४, पञ्चमीकी १५ वर्षीया किशोरी शितल योङहाङको प्रेमी पदम गोले तामाङले भने आफैंले योजना बनाएर शितलको हत्या गरेको स्वीकार गरेका छन् ।
शितलको गत वैशाख २९ गते घाँटी रेटि विभत्स हत्या भएको थियो । घटना पछि फरार रहेका उनका प्रेमी फाल्गुनन्द–२, पात्ले भञ्ज्याङका २० वर्षीय तामाङ २१ दिनपछि झापाको दमकबाट पक्राउ परे । शितलले आफूलाई छाडी अरुसँगै प्रेम गर्न थालेको शंकामा बदला लिन आफैंले योजना बनाई हत्या गरेको प्रहरी समक्ष ती युवकले बयान दिएका छन् ।
शितलको प्रेममा पागल बनेका पदमले शितलले आफूलाई कम महत्व दिन थालेपछि योजना बनाएरै हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता अनिलकुमार पौडेलले बताए । पदमले साथी भगिरथ बाँस्तोलाको सहयोगमा शितलकै गाउँमा गएर नजिकैको मान्छे नभएको घरमा बोलाएर घाँटी रेटि हत्या गरेका थिए ।
स्थानीय शिद्ध मावि पञ्चमी कक्षा–१० मा अध्ययनरत शितलको शव घर नजिकै सडक छेउमा घाँटी रेटि हत्या गरिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार पदमका काका कर्ण तामाङले पदम र भगिरथलाई फिदिमदेखि पञ्चमीसम्म पुग्न पैसा दिई सहयोग गरेका थिए । भगिरथ घटना भएको भोलिपल्टै पक्राउ परेका थिए भने । कर्णलाई भने नौ दिनपछि फिदिमबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घटनाका मूख्य योजनाकार पदम, मतियार भगिरथ र कर्ण तीनै जनालाई जिल्ला अदालत पाँचथरका न्यायाधिश मनोजकुमार केसी इजलाशले पूर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।