दमक/ झापाको दमक–१० का मोहन बास्कोटाले १३ हजार लेयर्स कुखुरा पालेका छन् । उनले विगत ६ वर्षदेखि कुखुरा पाल्दै आएका हुन् । ६ वर्षको अवधिमा कहिल्यै गर्मीका कारण कुखुरामा समस्या आएको थिएन तर विगत तीन–चार दिनको अवधिमा उनको फार्ममा पालिएका ८ सय कुखुरा मरिसकेको उनले बताए ।

फार्मभित्रको वातावरण र बाहिरको वातावरण नमिलेका कारण अहिले फार्ममा पालिएका कुखुरा मर्न थालेको उनको भनाइ छ । बास्कोटाको मात्र होइन । झापाको दमक नगरपालिका–९ मा रहेको पञ्चमुखी कृषि फार्ममा तीन दिनयता दुई सयभन्दा बढी अण्डा उत्पादन गरिरहेका लेयर्स जातका कुखुरा मरिसकेका छन् ।

मौसममा अचानक आएको परिवर्तनका कारण ह्वात्तै गर्मी बढेपछि कुखुरा मर्न थालेका हुन् । केही दिन अघिसम्म पानी परेर मौसम अनुकूल थियो । तर बुधबारदेखि एक्कासि घाम लागेर अत्यधिक गर्मी बढ्यो । गर्मी खप्न नसकेपछि फार्मका कुखुरा भकाभक मर्न थालेका हुन् । फार्ममा राखिएको तापक्रम मापन गर्ने यन्त्रका अनुसार शुक्रबार मध्यान्ह ४० डिग्री पुगेको थियो । जिल्लामा तीन दिनयता ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम रहेको छ ।

पञ्चमुखी कृषि फार्मका सञ्चालक देवराज अधिकारीका अनुसार पहिलो दिन बुधबार ५१ वटा कुखुरा मरे । दोस्रो दिन १ सयवटा मरे भने शुक्रबार ४८ वटा मरिसकेका छन् । अन्य केही मर्ने अवस्थामा पुगेका छन् । यसरी फार्ममा अचानक कुखुरा मरेपछि कुखुरा ल्यावमा लगेर पोष्टमार्टम गरियो । पोष्टमार्टममा अन्य केही रोग नदेखिएको तर उच्चतापका कारण मरेको चिकित्सकले पुष्टि गरेका छन् ।

यस्तै दमक नगरपालिका–१० मा रहेको मेघा एग्रिकल्चर फार्ममा ५० वटाको हाराहारीमा कुखुरा मरेको जनाइएको छ । फार्मका सञ्चालक भरत चम्लागाईंका अनुसार सबैतिरका फार्ममा पालिएका कुखुरा मरिरहेका छन् । ‘प्राविधिकलाई देखाउँदा गर्मीका कारण मरेको भन्छन् । एकिन के भएको हो भन्ने थाहा छैन’ –चम्लागाईंले ब्लाष्टसँगको कुारकानीमा भने ।

शुरुमा कुखुरा झोक्राउने, खुट्टा नटेक्ने र सुतेपछि केही समयपछि मर्ने गरेका छन् । यसरी कुखुरा मर्न थालेपछि शुक्रबारदेखि ग्लुकोज पानी, कागती पानी दिन थालेको कुखुरापालकहरू बताउँछन् । यसो गर्दा केही रोकथाम भएको पाइएको छ । लगातार कुखुरा मर्न थालेपछि सञ्चालकहरू चिन्तित भएका छन् । एक करोडको लगानी गरेर फार्म सञ्चालन गरेका अधिकारी भन्छन्, ‘आधुनिक वातानुकूलित खोर निर्माण गर्न सकिएन, पङ्खा चलाउनसमेत विद्युत्ले समयमा थ्रिफेज लाइन जोड्न सहयोग गरेन, अचानक गर्मी बढ्यो । कुखुरा मर्न थाले ।’

२०७१ सालेदखि शुरु गरेको फार्ममा पहिलो पटक यसरी कुखुरा मरेको अधिकारीको अनुभव छ । खासगरी अण्डा उत्पादनका लागि पालिएका लेयर्स जातका कुखुरा बढी मरेको जनाइएको छ । फार्ममा टिनको छानो मात्र रहेको र चर्को घाम लाग्दा कुखुराले गर्मी थाम्न नसकेर मर्ने गरेको अनुमान दमक नगरपालिकाका पशुपक्षी शाखाका चिकित्सक गणेश प्रधानले गरेका छन् । दमक नगरपालिकाभित्र मात्र अण्डा उत्पादनका लागि पालिएका लेयर्स जातका कुखुराको सङ्ख्या झण्डै डेढलाखभन्दा बढी रहेको छ ।

यसमा झापा जिल्लामा झण्डै चार लाख लेयर्स कुखुरा पालिएको छ भने जिल्लामा झण्डै तीनसय जनाभन्दा बढी किसान आबद्ध रहेका छन् । झापामा विगत चार दिनयता १० हजार बढी कुखुरा मरिसकेको झापा जिल्ला अण्डा उत्पादक सङ्घले जनाएको छ । यस अवधिमा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको उनीहरूको भनाइ छ ।