उनको शाखासन्तान नै पण्डित खाल । ओली, प्रसाईंका पण्डित । हालका प्रधानमन्त्री केपी शर्मा ओली सन्तानका पण्डितहरू । साँझ–बिहान नै रुद्रीचण्डी पाठ हुन्थ्यो । बारीमा केटाकेटी भेला पारेर रुद्रीचण्डी पढाउने चलन थियो । तेह्रथुम आठराई छातेढुङ्गा गाविस ४ नम्बर वडा भित्रियाका पशुपति मिश्रको परिवारिक पृष्ठभूमि यस्तै थियो ।

रुद्रीचण्डीसँगै कखरा सिके । घरपरिवारका १५ जना भेला भएर रुद्रीचण्डी पढ्थे । हिउँद लागेपछि हरेक वर्ष उनले रुद्रीचण्डीको अनुभव गर्थे । रुद्रीचण्डी घोकाउने काम ‘बडीबा’ ले गर्थे । हिउँदभरि घोक्ने बर्खा लागेपछि रोकिन्थ्यो । त्यो बेला घरमा कखरा नसिकी स्कुलले भर्ना लिन्नथ्यो । नजिकै पोखरी मावि थियो । घरमा धुलेपाटी बोकेर कखरा, दुआईको जग बस्यो । काठको पाटीमा धुलो पिसेर बाँसको सिन्काले क, ख छिचोलो । त्यो सहज काम थिएन । त्योभन्दा गाह्रोचाहिँ रुद्रीचण्डी कण्ठस्थ गर्दा हुन्थ्यो । करिब ७ वर्षको उमेरमा मात्रै पाठशालाको आँगन टेके । पोखरी मावि नै उनको पहिलो शिक्षालय बन्यो ।

बुबाचाहिँ मधेश बस्ने, झापाको सुरुङ्गा । हालको जामुनबाडी क्षेत्रमा । बुबा मधेश–पहाड गरेकाले उनको शिक्षा पनि कहिले मधेश कहिले पहाडमा हुन्थ्यो । माईखोला वारि रहेको ब्याङडाँडा स्कुलमा कक्षा ४ सम्म पढे । त्यसपछि पहाड गए । पोखरीको स्कुलमा ५ कक्षा पढे । घरदेखि १५ मिनेटको दूरी । देवीप्रसाद जिमदारले खोलिदिएको स्कुल । त्यो बेला दार्जिलिङबाट शिक्षक ल्याएर पढाउने चलन थियो । त्यो स्कुलमा पनि दार्जिलिङका धेरै शिक्षक थिए ।

पढ्नु भनेको घोक्नु हो, यही मूलमन्त्र थियो त्यो बेला । अझ ब्राह्मण परिवारमा त जजमानी गर्ने भएकाले पनि घोकन्ते विद्यामा कुशल नहुने कुरै भएन । पहाड–मधेश गरेकाले पशुपतिको पढाइ राम्रो भएन भन्ने लागेछ काकालाई । ‘उहाँले मेरै लागि भनेर हाम्रो पाठशाला खोलिदिनुभयो,’ उनी भन्छन् । पढ्ने दुईचार जना हुन्थे । त्यसका गुरु दिए मानबहादुर लिम्बू । त्यहाँ एउटा नियम कायम गरिएको थियो । खाना खान मात्रै छुट पाउँथे । अन्य समय पढ्ने मात्रै । लिम्बू गुरुको कडा शासनमा शासित थिए उनी । ५ कक्षा उर्तीण गरेपछि ६ कक्षादेखि उनी झापाको सताक्षीधामको बालनिकुञ्ज माविमा भर्ना भए ।

त्यो स्कुलमा भर्ना हुँदा उनको परिवार जामुनवाडीबाट कन्काईको माइधारमा बसाइ सरेको थियो । स्कुल पुग्न करिब ७ किलोमिटर टाढा थियो । त्यो बाटो करिब एक घण्टामा छिचोल्दै स्कुल पुग्थे । उनको काम स्कुल आउनुमात्रै थिएन । घरको जेठो छोरो भएकाले भाइबहिनीलाई हेर्नु, गाईबस्तु हेर्नुसम्म जिम्मेवारी थियो । २५–३० जनाको टोलीमा आइपुग्थे स्कुल । उनी त्यो बेला लडाकु खाल्का थिए । चकचक गर्नुपर्ने र झगडा गरिहाल्नुपर्ने । ‘लाप्पा खेल्ने, ढुङ्गाले हानाहान ग¥यो, पोखरीमा पौडी खेल्यो ।’ उनी नोस्टाल्जिक हुँदै भन्छन् । तर, पढाइमा भने कमजोर थिएनन् ।

प्रथम, दोस्रो, तेस्रोमध्ये एक हुन्थे उनी । ‘रुद्रीचण्डीको घोक्ने कलाले काम गरेको होला,’ हाँस्दै उनी भन्छन् । ६ र ७ कक्षासम्म पढाइ हुन्थ्यो बालनिकुञ्जमा । उनी त्यहाँ पढुञ्जेल दोस्रो भए । दोस्रो भएकाले कापी कलम पुरस्कार प्राप्त गर्थे । कक्षा ७ पछि नजिकै स्कुल थिएन । कि दमक कि शिवगञ्ज पुग्नुपर्ने । शिवगञ्ज उनका लागि सहज भएन । त्यसैले उनी हान्निए दमकतिर । किनकी दमकमा आफन्त दिदीहरू थिए ।

कक्षा ८ देखि नै उनी प्रथम बने । त्यसलाई एसएलसीसम्मै निरन्तरता दिए । अन्य काम थिएन । गोठाला जानु थिएन । गाईबस्तु हेर्नुथिएन । पौडी खेल्नुथिएन । साथीसँग लाप्पा खेल्नुथिएन । एउटै काम थियो पढ्ने । त्यसैले उनी प्रथम भए, घोक्ने बानी जो थियो । २०३३ सालमा एसएलसी परीक्षा थियो । टेष्ट परीक्षामा पनि उनी उतीर्ण हुने नै भए । एसएलसीमा दोस्रो डिभिजनमा उर्तीण भए । १९ जनाले एसएलसी दिएकोमा सतप्रतिशत उर्तीण भए । त्यसपछि उच्च शिक्षाको लागि धरान आइपुगे, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार ।

एसएलसीपछि नै उनलाई प्राविधिक विषय पढ्नुपर्छ भन्ने ज्ञान शिक्षकहरूले नै दिएका थिए । ल्याव टेक्नोलोजीमा प्रवेश परीक्षा दिए । प्रवेश परीक्षामा टप गरे । छात्रवृत्ति दिए । गाउँबाट आएको युवालाई के चाहियो । २ वर्षै उनले छात्रवृत्ति पाए । २०३४ सालदेखि २०३६ सालसम्ममा उनको पढाइ पूरा भयो । परीक्षामात्रै दिएका थिए । ‘झापाको दूधेस्थित राष्टिूय रमणीय माविमा आइएस्सी शिक्षक चाहिएको रहेछ । हेडसर ओमदेव शाहीले आग्रह गरे । डेढ वर्ष पढाएँ’–उनी भन्छन् । त्यो बेला उनको तलब थियो ४९५ रुपैयाँ । ४३५ रुपैयाँ तलव, ६० रुपैयाँ ग्रेडको आधारमा भत्ता दिने प्रचलन थियो । ‘पहिलो तलव उनले आमाको हातमा थमाइदिए, आमा औधिखुशी’–उनी भन्छन् ।

बिटेक पढ्ने सोच थियो । तर, त्यही वर्ष आन्दोलन भएकाले एक वर्ष ब्रेक भयो । झण्डै डेढवर्ष पढाए दूधेमा । त्यही बेला शिक्षा मन्त्रालयले रसियामा प्राविधिक विषय पढ्न जाने विद्यार्थीका लागि छात्रवृत्ति खुलाएको उनले पनि थाहा पाए । बिटेक र एमटेकको अवसर थियो । उनले फर्म भरे । दुई दिनसम्म अन्तरवार्ता भयो । अन्तरवार्तामा उनी टप भए । उनी छात्रवृत्तिका लागि छनौट भए । २०३८ सालदेखि २०४५ सालसम्म उनी रसियामै छात्रवृत्ति पाएर बिटेक र एमटेक पूरा गरे । सरकारले छात्रवृत्ति दिएपछि नेपालमै आएर योगदान गर्नुपर्ने प्रावधान थियो त्यो बेला । त्यसो त अहिले पनि छ । तर, धेरैले गर्दैनन् । पढाइ पूरा गरेलगत्तै नेपाल आएका उनलाई काठमाडौंको रोनाष्टमा खटाइयो । त्यो बेला २–३ जना फुड टेक्लोनोली पढ्ने उनको साथमा थिए । तर, पछि धेरैजना अमेरिका तथा युके पुगे । उनीमात्रै एक्ला हुन् जो नेपालमै बसेर सेवा गरिरहेका छन् । ‘नेपाल बसेको ममात्रै हो । अरु अमेरिका र युकेमा छन् ।’ उनी भन्छन् ।

स्कुलका आज्ञाकारी छात्र नै थिए । तर, बाहिर भने उनी टूकलाई ढुङ्गा हान्न पनि भ्याइहाल्थे । टिफिन हुनेबित्तिकै पौडी खेल्न माइखोलासम्म पुग्थे । फुटबल औधि खेल्थे । उनको मनपर्ने खेलमै पथ्र्यो फुटबल । त्यो बेला झुम्रोको बल । कहिलेकाहीँ स्कुलमा फुटबल खेलेर घरै ढिला गरी पुग्थे । तर, स्कुल छुट्टि भएपछि उनको जिम्मेवारी बस्तुभाउलाई घाँस काट्नु पनि हुन्थ्यो । फुटबल खेलिसकेपछि घाँसको भारी बोकेर घर आइपुग्थे । त्यो बेला पढ्नका लागि अहिलेको जस्तो बिजुलीको व्यवस्था थिएन । टुकी बत्ति, हुनेखानेको लालटिनसम्म हुन्थ्यो । त्यसैमा पढ्ने । पहाडमा त कतिपयले दियालो बालेर पढेको उनलाई राम्ररी याद छ । तर, उनले लालटिनका साहाराले पढे । बुबा मधेशमा भएकाले मट्टितेल लिएर पुग्ने गरेको उनलाई स्मरण छ । लालटिन भएको घर उनको मात्रै थियो । धेरैजना भेला भएर पढ्ने गर्दथे । ‘गाउँभरिका पढ्न आउँथे । मैलेचाहिँ दियालोमा पढ्नु परेन,’–उनी भन्छन् ।

बुबाको चाहाना गुरुकुलमा पढाउने थियो । तर, आमाको त्यसमा नैतिक समर्थन थिएन । स्कुलनै पढोस् भन्ने आमाको चाहाना बमोजिम उनी पढ्दै गए । घरमा पढ्ने प्रसस्तै वातावरण थियो । पढ्नुबाहेक अर्को काम पनि हुन्छ र १ उनलाई यस्तै लाग्थ्यो । अहिलेका विद्यार्थीको लागि अभिभावकहरूले त झनै पढ्ने वातावरण बनाइदिएका छन् । तर, सिर्जनात्मक क्षमता शून्यप्रायः छ । प्रविधि छ । तर पनि विद्यार्थीहरूको पढाइप्रतिको लगाव शून्य देख्छन् उनी । घोकन्ते शिक्षाबाट परिस्कृत भएका उनी अहिलेका विद्यार्थीहरूमा त्यो गर्नसक्ने क्षमता देख्दैनन् । विगतमा सीमित प्रतिस्पर्धा थियो । अहिले स्थानीय मात्रै हैन, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । यो बाध्यतालाई चिर्न पनि अहिलेका विद्यार्थीको पढाइको स्तर त्यही किसिमको हुनुपर्ने उनको कथन छ ।