धरान । अत्यधिक गर्मीलगायतको कारण देखाउँदै धरानका निजी तथा संस्थागत विद्यालय सङ्गठनले ५ दिन स्कुल बिदा दिने निर्णय गरेको छ ।

गर्मीका कारण बालबालिकाको पढाइलगायतमा समस्या आएको निश्कर्षसहित प्याब्सन, एनप्याब्सन र एसीसीले बिदा दिने निर्णय गरेको हो । असार २ गतेदेखि ६ गतेसम्म बिदा दिने निर्णय भएको छ । यो बिदालाई गर्मी बिदामा समायोजन गर्ने तयारी गरिएको एरिया कोअर्डिनेट कमिटी धरानका अध्यक्ष राजेन्द्र गुरुङले बताए । उनले भने, ‘यसलाई गर्मीमात्रै नभनौं, डेङ्गु, पानीको समस्या, विजुली अपडाउनका कारण भोल्टेज छैन । त्यसले गर्दा पठनपाठनमा समस्या भएकाले बिदा दिने निर्णय गरेका हौं’–उनले फोनसम्पर्कमा भने ।

प्याब्सन नगर अध्यक्ष राजकुमार लिम्बूले पनि प्याब्सन, एनप्याब्सन र एसीसी बसेर निर्णय गरेको बताए । उनले डेङ्गुको प्रकोपबाट अभिभावक र विद्यार्थीहरूलाई पनि राहत मिलोस् भन्ने ध्येयले पनि बिदा दिइएको बताए । धरानमा एनप्याब्सनमा ३९ स्कुल आवद्ध छन् भने प्याब्सनमा ४४ वटा स्कुल आवद्ध छन् । सामुदायिक स्कुलले भने हालसम्म कुनै निर्णय नगरेको पाइएको छ ।

64399399_2784143294989320_6569057208267440128_n