धरान  / जिल्ला ट्राफिक कार्यालय धरानका सईसहित पाँच जना डेंगुबाट थलिएका छन् ।  धरानमा भएको डेंगुको प्रकोप नियन्त्रण तथा जनचेतना जगाउने जनशक्ति नै डेंगुबाट थलिएका छन् ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर होमनाथ दाहालका अनुसार एक जना सई, असई, प्रहरी हवल्दार, एक जना प्र्रहरी जवान र प्रहरी सहयोगीलाई डेंगुको संक्रमण देखिएको छ ।  सई र एक जना जवान उपचार पछि घर फकिएका छन् । अन्यको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
धरानमा डेंगु नियन्त्रणका लागि प्रहरी, ट्राफिक, स्थानीय निकायले जनपरिचालन गरि घरघरमा पुगेर लामखुट्टे मार्ने काम भइरहेको छ ।

महामारीको रुपमा फैलिएको डेंगुबाट प्रभावित भएका धरानका ७२९ बिरामी उपचार पश्चात घर पर्किएका छन्। डेंगु रोग लागेका अन्य ३३ जनाको अस्पतामा उपचार भइरहेको प्रतिष्ठानले जनाएकाे छ । बैशाख ३१ देखि धरानमा फैलिएको डेंगुबाट हालसम्म ७६२ जनामा डेंगु रोग देखा परेको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आएका ६६६ बिरामीमध्ये ६४९ जना उपचार पश्चात घर फर्किको प्रतिष्ठानका  सहायक निर्देशक विकास साहले बताए ।