उदयपुर/ ऐतिहासिक, धार्मिक, प्राकृतिक पर्यटनको सम्भावना बोकेको उदयपुरले दूधकोशीमा र्याफ्टिङ सम्भाव्यता परीक्षण गरेको छ ।

जल पर्यटनको सम्भावना भएको पालिका रौतामाईले पर्यटन प्रवद्र्धनका लागि पहिलो पटक फोक्सिन्टारदेखि धाब्लाङ घाटसम्म र्याफ्टिङ परीक्षण गरेको हो । इन्द्रावती, तामाकोशी, लिखु, सुनकोशी र दूधकोशी मिसिएर आएको पञ्चकोशीमा पर्ने रौतामाई गाउँपालिका–५ को फोक्सिन्टारदेखि त्रियुगा नगरपालिका–१४ धाब्लाङ घाटसम्म गोर्खा विड कुरिन्टार कम्पनीको र्याफ्टिङ टोलीले परीक्षण गरेको पालिकाले जनाएको छ ।

जिल्लाकै प्रमुख पर्यटकीय धार्मिकस्थल रौता पोखरीदेखि पञ्चकोशी पुग्न गाडीमा करिब एक घण्टा लाग्ने गरेको स्थानीयले बताएका छन् । रौतामाईको दर्शन गरी कोशीको चिसो पानीसँगै प्राकृतिक सौन्दर्यमा रमाउँदै धाब्लाङ घाट झरेर साउने हुँदै सरमुकाम फर्कन सकिने पालिकाले जनाएको छ ।

र्याफ्टिङको माध्यमबाट पर्यटन विकास तथा जलयात्राबाट स्थानीयलाईसमेत छिटोछरितो तरिकाले सेवा विस्तार गर्नका लागि परीक्षण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पर्यटन प्रवद्र्धनसँगै व्यवसायिक र्याफ्टिङ सञ्चालन गर्नसके स्थानीयलाई रोजगारी पनि मिल्ने अध्यक्ष खड्काले बताए ।

व्यवसायिक र्याफ्टिङ सञ्चालन हुनु भनेको पालिकाको आर्थिकस्तर उक्सनु पनि हो । यसले बेरोजगार युवाहरूलाई रोजगारी दिने र र्याफ्टिङ गर्न आएका आन्तरिक तथा वाह्य पर्यटकहरूबाट आय आर्जन गर्न सकिने भएकाले पर्यटनको प्रवद्र्धनसँगै आर्थिकस्तर उक्सने अध्यक्ष खड्काले बताए ।

धार्मिक तथा पर्यटकीयस्थलहरूको प्रवद्र्धनसँगै खोटाङ र उदयपुरको सिमाना भएर बग्ने दूधकोशीको सदुपयोग गरी जल पर्यटनको विकास गर्न लागेको अध्यक्ष खड्काले बताए । र्याफ्टिङ मात्रै नभई जेट बोटसमेत सञ्चालन गर्न सकिने सम्भावना रहेको उनले बताए । र्याफ्टिङ परीक्षण सफल भएपछि यसको व्यवसायिक विकास गर्ने अध्यक्ष खड्काले बताए । फोक्सिन्टारदेखि धाब्लाङ घाटसम्म झर्नका लागि करिब एकघण्टा ३० मिनेट लाग्ने भएकाले अलिक छोटो दूरी भएको ¥याफ्टिङ टोलीले जनाएको छ । रसुवा घाटदेखि धाब्लाङ घाटसम्मको र्याफ्टिङ यात्रा राम्रो हुने टोलीले जनाएको हो । दूरी र समय मिल्ने भएकाले यो दूरी अलिक छोटो भएको टोलीले बताएको छ ।

परीक्षणपछि र्याफ्टिङका लागि सबै कुरा राम्रो भएको कम्पनीले जनाएको रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताए । ‘थोरै दूरी कम भएको छ, यसलाई रसुवा घाटदेखि सञ्चालन गर्ने हो भने र्याफ्टिङको समय र यात्रुलाई सहज हुने परीक्षण टोलीले जनाएको छ’–उनले भने । जल पर्यटनको विकासले पालिकाको नारालाई टेवा पुर्याउनेछ र आर्थिकस्तरमा सुधार ल्याई गरिबी कम गर्दै लैजाने राईले बताए । व्यवसायिक ¥याफ्टिङ सञ्चालन भएपछि पालिकाका बेरोजगार युवाहरूले त्यस क्षेत्रमा रोजगारी समेत पाउने उनले बताए ।

पालिकाको धेरै भाग आफ्नै वडामा पर्ने भएकाले अरु पर्यटकीय क्षेत्रसँगै जल पर्यटनसमेत जोडिएको रौतामाई गापा–५ का वडाध्यक्ष पाण्डव राईले बताए । र्याफ्टिङको परीक्षणले स्थानीयवासीमा खुशी ल्याएको उनले बताए । पालिकामा धेरै पर्यटकीय क्षेत्रहरूमध्ये विशेष स्थानमा र्याफ्टिङ रहेको छ । पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धनसँगै जल पर्यटन विकासको लागि पालिका लागिपरेकाले परीक्षणको सफलतासँगै व्यवसायिकरूपमा विकास गर्ने वडाध्यक्ष राईले बताए ।

पहिलादेखि नै हिउँदयाम शुरु भएसँगै विदेशीहरू दूधकोशीमा र्याफ्टिङ गर्दै झर्ने गरेको भए पनि कसैले अहिलेसम्म यसको विकासमा ध्यान दिएको थिएन । पालिकाले पहिलोपटक पर्यटकीय क्षेत्रको विकासका लागि परीक्षण गरेको वडाध्यक्ष राईले बताए । दूधकोशीमा हिउँदयाममा समेत पानी घट्दैन । प्रशस्त पानी भएकाले जल पर्यटनको लागि राम्रो सम्भावना रहेको वडाध्यक्ष राईले बताए ।

सगरमाथा लोकमार्गले दूधकोशीलाई छिचोलेकाले पर्यटकहरूको आगमनमा सहज हुने उनले बताए । छिमेकी पालिका लिम्चुङ्बुङ र पूर्वको पशुपति भनेर चिनिएको हलेसी धाम आएका पर्यटकहरूलाई समेत र्याफ्टिङले सहज बनाउने पालिकाले जनाएको छ । र्याफ्टिङमार्फत् छिटोछरितो रूपमा गाईघाट आवत–जावतमा सहज बनाउने पालिकाले जनाएको छ ।

¥याफ्टिङमार्फत् पर्यटकहरूलाई धाब्लाङ घाटसम्म जलयात्रा गराइने पालिकाले जनाएको छ । धाब्लाङबाट यातायातमार्फत् आफ्नो गन्तव्यतर्फ पठाइने पालिकाले जनाएको छ । पालिकामा जिल्लाकै प्रमुख पर्यटकीयस्थल रौता पोखरीसँगै करिब एक दर्जन पर्यटकीयस्थलहरू छन् । पानी बेगरको चार थुमले घेरिएको करिब लम्बाइ ४ सय मिटर र चौडाइ दुईसय मिटर भएको सुकेपोखरी, ओडारी झर्ना, वातीमा झर्ना, ओडारे खोला झर्ना, विमिन झर्ना, विभिन्न आकृतिको जारीकाटे ढुङ्गा, विभिन्न जीवजन्तुको पाइलाहरूको आकृति भएको बाघ ढुङ्गा, विभिन्न जीवजन्तुको आकृति भएको विमिन र सर्वोच्च शिखर सगरमाथालगायतका करिब ५ वटा हिमाल खाली आँखाले नियाल्न सकिने भ्यू प्वाइण्टहरू रहेको स्थानीयले बताएका छन् ।