बिर्तामोड । दोहोरी गायक प्रकाश सपुत र शान्ति श्री परियार झापाको बिर्तामोडमा गुञ्जिने भएका छन् । अहिलेका चर्चित दोहोरी गायक/गायिका सपुत र परियारलाई ‘शिखर बजार’ले असार २८ गते बिर्तामोड ल्याउन लागेको हो ।
शिखर बजारको तेस्रो बर्ष प्रवेशको अवसर पारेर चर्चित दोहोरी गायक गायिकाको उपस्थितिमा ‘दोहोरी नाइट’ कार्यक्रम आयोजना गर्न लागिएको शिखर बजारका सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए । दोहोरी देशको सांस्कृति भएकाले त्यसलाई संरक्षण गर्ने उदेश्यले बिर्तामोडमा दोहोरी नाईट कार्यक्रम आयोजना गरिएको राउतले बताए ।

उपभोक्तालाई गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउँदै आएको शिखर बजारले अहिले चर्चामा रहेको दोहोरी गीत ‘गलबन्दी च्यातियो’ का गायक सपुत र गायिका परियार मार्फत दोहोरी नाईट कार्यक्रम आयोजना गरेको हो । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो अवसरमा बिर्तामोडका ३ जना उद्योगीलाई समेत सम्मान गर्ने जनाएको छ । ‘जोडीका लागि २ हजार ५ सय र एकजनाका लागि एकहजारको टिकट शुल्क रहने छ’ शिखर बजारका सञ्चालक राउतले भने ‘शिखर बजारमा २ हजार ५ सयको सामाग्री खरिद गर्दा एउटा टिकट उपलब्ध गराइने छ ।’

बिगतका बर्षमा मिस नेपाल सुगारिका केसी, सञ्चारकर्मी राधाकृष्ण धिताल, गायक प्रमोद खरेललगायतसँग सांगितिक तथा मनोरञ्जनात्मक कार्यक्रम गराएको सञ्चालक राउतले बताए । त्यसैगरी बजारले वाढी पीडित र दैवी प्रकोपबाट प्रभावितलाई खाद्यन्न सहोग गरेको उनले सुनाए । २०७३ सालमा बिर्ताबजारमा स्थापना भएको शिखर बजारले शनिश्चरे रोडमा अर्काे आउटलेट स्थापना गरिसकेको छ । शिखर बजारमा दैनिक उपभोग्य सामग्री उपलब्ध हुने गरेको छ ।