• प्लसटु फ्रेस विद्यार्थी पर्खिन सारिएको प्रतिष्ठानको दाबी
  • मापदण्डअनुसार कोटा बढाउन माग

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो शैक्षिक सत्रको एमबिबिएस÷बिडिएस प्रवेश परीक्षामा अन्यौल सिर्जना भएको छ । प्रवेश परीक्षा सञ्चालन समिति गठन गरेर धमाधम फर्म वितरण गरिरहेको बेला शिक्षा मन्त्रालयले प्रवेश परीक्षा लिन रोकेपछि अन्यौल सृजना भएको हो ।

प्रतिष्ठान स्रोतकाअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा उल्लेख भएको बुँदा र चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई गत चैत ४ गते पठाएको पत्रको आधारमा प्रतिष्ठानले एमबिबिएस÷बिडिएसको प्रवेश परीक्षाको तयारी गरेको थियो । तर प्लस टुका फ्रेस विद्यार्थी पर्खिन भनेर दबाव आएपछि अर्को मिति नतोकेसम्मका लागि प्रवेश परीक्षा सारिएको प्रतिष्ठानका परीक्षा डीन प्रा.डा. श्याम थापा सूचना नै जारी गर्न बाध्य भएका छन् । एमबिबिएस बिडिएस प्रवेश परीक्षा साउन १८ गते तोकिएको थियो ।

अचानक एमबिबिएस र बिडिएसको प्रवेश परीक्षा समय तोकिएको मितिमा नहुने भन्ने सूचना सार्वजनिक भएको बारे उपकुलपति प्रा.डा. राजकुमार रौनियारसँग जिज्ञासा राख्दा उनले नेपाली प्लसटुका विद्यार्थीको अन्तिम नतिजा आउने समयलाई ध्यानमा राख्दै प्रवेश परीक्षाको मिति सारिएको बताए ।

रौनियारले आफूलाई शिक्षा मन्त्रीले प्लस टु गर्ने नेपाली विद्यार्थीलाई अवसर दिन सुझाव दिएकाले मिति सारिएको बताए । उनले भने, ‘प्रवेश परीक्षा बन्द गरेको होइन अर्को मिति नतोकिएसम्मकोलागि स्थगित गरिएको हो । यसअघि फर्म भर्नेहरूले पनि पछि फेरि हुने परीक्षामा सहभागी हुन पाउछन् ।’

परीक्षा स्थगित गर्दा प्रतिष्ठानको शैक्षिक क्यालेण्डरमा भने गड्बड हुने देखिएको छ । सन २०१८ मा चिकित्सा शिक्षा आयोगले आफै प्रवेश परीक्षा लिने भनेर पत्र पठाए पनि कार्यविधि नबनेपछि आफै परीक्षा संचालन गर्न सकेन । परीक्षा संचालन गर्न नसक्दा करिव दुइ महिना पछि आफै प्रवेश परीक्षा संचालन गर्नु भनेर प्रतिष्ठानलाई पत्र पठाउदा शैक्षिक क्यालेण्डर गडबड भएको डा ऐयरले बताए । डा. ऐयरका अनुसार सन् १९९४ देखि सन् २००४ सम्म जुलाई पहिलो सातामा प्रवेश परीक्षा लिने र अगस्तमा पठन–पाठन हुने गरेको थियो । त्यसपछि सन् २००५ र २००७ देखि २०१७ सम्म जुलाई अन्तिममा प्रवेश परीक्षा लिएर सेप्टेम्बरमा शुरु गर्ने गरेको थियो ।

चिकित्सा शिक्षा आयोगले ‘चिकित्सा शिक्षा आयोगले अर्को निर्णय नगरुन्जेलसम्मका लागि चिचित्सा शिक्षाका क्षेत्रमा संलग्न निकायहरुले हाल अपनाइआएको विधि तथा प्रक्रियाअनुसार नयाँ नीतिगत निर्णयबाहेकका कार्यहरू यथावत्रूपमा सञ्चालन गर्ने’ भनेकाले प्रतिष्ठानले प्रवेश परीक्षाको तयारी गरेको थियो । तर राजनीतिक खिचातानी गर्नेहरूले प्रतिष्ठानले आफूखुशी प्रवेश परीक्षा लिने तयारी ग¥यो भनेर प्रोपोगण्डा मच्चाएको प्रतिष्ठान पदाधिकारीहरूको बुझाइ छ ।

एबिबिएस बिडिएसको प्रवेश परीक्षाको बारेमा विधेयकमा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ०७५ को परिच्छेद ६ को १६ को ५ ख बुँदामा आयोगले प्रवेश परीक्षा शुरु नगरेसम्म विश्वविद्यालय तथा प्रतिष्ठानले लिएको प्रवेश परीक्षाबाट योग्यताक्रमको सूची कायम गरिनेछ ।’ यसको अर्थ आयोगले कार्यविधि तयार नगरेसम्म आफै परीक्षा लिन सक्नेछ भन्ने हो । आयोगले उपाध्यक्ष नियुक्ति र कार्यविधि अझै बनाइसकेको छैन । कार्यविधि बनाउने प्रक्रियामा रहेको छ ।

कोटा सङ्ख्या बढाउन माग
यसैबीच प्रतिष्ठानका उपकुलति प्रा.डा. राजकुमार रौनियारले विद्यार्थी कोटाको संख्या बढाउन स्वास्थ्य तथा शिक्षा उपसमितिसंग माग गरेको बताएका छन् । स्वायत्त स्वास्थ्य शैक्षिक प्रतिष्ठान भएकाले आन्मनिर्भर हुनका लागि प्रतिष्ठानसँग रहेको भौतिक पूर्वाधार र पर्याप्त फ्याकल्टीको आधारमा कोटा बढाउनु जरुरी रहेको उपकुलपति रौनियारले बताए ।

नेपाल मेडिकल काउन्सिल (एनएमसी) को मापदण्डमा १ सय ५० जना विद्यार्थी भर्नाका लागि आवश्यक सबैखाले पूर्वाधार र पर्याप्त फ्याकल्टी रहेकाले कोटा बढाउन माग गरेको उपकुलपति प्रा डा रौनियारले बताए । प्रतिष्ठानमा हाल सयजना एमविविएसको कोटा मात्र रहेको छ । यसअघि मेडिकल काउन्सिलकै मापदण्ड पूरा गरेकाले प्रतिष्ठानमा १ सय ५० जनाको कोटा दिएपछि सोही अनुसार पठन–पाठन हुँदै थियो । तर बीचमा मेडिकल कलेजको बारेमा गोविन्द केसीको भोकहड्तालपछि सरकारले प्रतिष्ठानलाई सय जनाको कोटामा झारिदियो । फ्याकल्टी भने १ सय ५० जनाको रहेको छ ।

उनले भने, ‘मेडिकल काउन्सिलले १ सय ५० जना विद्यार्थी कोटा भर्ना गर्नका लागि फ्याकल्टी सङ्ख्याको बारेमा आफ्नो मापदण्ड बनाएको छ । काउन्सिलले बनाएको मापदण्डभन्दा दोब्बर फ्याकल्टीहरू प्रतिष्ठानमा रहेको रौनियारले बताए । उनका अनुसार प्रतिष्ठान २४३ फ्याकल्टीहरू छन् ।

प्रतिष्ठानको एनेस्थिेसियामा १४, एनाटोमीमा ८, बायोकेमेष्ट्रीमा १५, डर्माटोलोजीमा ८, फरेन्सिक मेडिसिनमा ३, जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिनमा १०, इन्टर्नल मेडिसिनमा १६, माइक्रोबायोलोजी एण्ड इन्फेक्सीयस डिजिजमा १२, स्त्री तथा प्रसूतिमा २२ जना, नेत्र विज्ञानमा ७, अर्थोपेडिक्समा १५, इएनटीमा ८, प्याथोलोजीमा १०, फर्माकोलोजीमा १०, फिजियोलोजीमा ९, साइकियाट्रिकमा ९, रेडियो डाइग्नोसी एण्ड मेडिकल इमेजिङमा १४, स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनमा १५, सर्जरीमा २२ जना फ्याकल्टीहरू प्रतिष्ठानमा रहेको प्रतिष्ठान प्रशासनले जनाएको छ ।