धरान । गर्मीयाममा आउने आगन्तुक चराहरू बच्चा कोरल्ने उद्देश्यले नेपालमा आउने गरेका छन् ।
विशेष गरी मार्च महिनादेखि सेप्टेम्बरको अन्तिमसम्म बस्ने आगन्तुक चराहरू बच्चा कोरल्नकै लागि नेपालमा आउने गरको चरा विशेषज्ञहरू बताउँछन् । यो बेला दक्षिण एसिया र अफ्रिका देशबाट गर्मी छल्नसँगै बच्चा कोरल्न आइपुग्ने गरेको चराविद् हेमसागर बराल बताउँछन् । पूर्वको कोशी टप्पु वन्यजन्तु आरक्षमा यस्ता आगन्तुक चराहरू आकर्षणका केन्द्र बन्ने गरेका छन् ।

दक्षिण एसिया अन्तर्गत दक्षिणी भारतबाट आगन्तुक चराहरूको गन्तब्य नेपाल बन्ने गरेको छ । जसले नेपालमा आएर बच्चा कोरल्ने गरेका छन् । श्रीलङ्कालगायतबाट पनि यो बेला आगन्तुक चराहरू नेपालका विभिन्न भूभागमा आई बच्चा कोरल्ने गरेका छन् । माउहरू अगष्ट महिनासम्म फर्किने गरे पनि बच्चाहरू भने सेप्टेम्बरको अन्तिमतिरमात्रै फर्किने गरेको चराविद् बराल बताउँछन् ।

‘गर्मी छल्नमात्रै हैन, बच्चा कोरल्नैका लागि यो बेला आगन्तुक चरा नेपाल आउने गर्छन्,’ बरालले फोनसम्पर्कमा भने, ‘पूर्वमा कोशी टप्पु चराको लागि मुख्य क्षेत्र हो । चराविद्हरूका अनुसार गर्मीयाममा विभिन्न देशबाट नेपालमा करिब एक सय ६० प्रजातिका चराहरू भित्रिने गरेका छन् । मार्च महिनादेखि आउन शुरु भएर सेप्टेम्बरसम्म जारी नै रहन्छ । त्यसपछि भने आ–आफ्नो देश फर्किने गरेका छन् । यो बेलामा दक्षिणी भारतबाट स्वर्गचरी नामक चरा कोशी टप्पु क्षेत्र आसपास बस्ने गरेका छन् । यो चराहरूले बच्चा कोरल्ने अनि अगष्ट महिनाको अत्यतिर आफ्नो देश फर्किने गरेको चरासम्बन्धी अध्ययनकर्ता बद्री चौधरीले बताए ।

‘माउचाहिँ अगाडि नै जान्छन्, बच्चा भने हुर्केर उड्ने भएपछि मात्रै फर्किन्छ,’–उनले फोनसम्पर्कमा भने । चराविद् बरालका अनुसार बच्चा कोरल्नकै लागि दक्षिणी भारत मात्रै नभई उत्तरपूर्वी भारत, पूर्वी एसियाका मुलुकबाट आउने गरेका छन् । उनका अनुसार काफल पाक्यो, कुकुकोइली, उत्तरपूर्वी भारतका रैथाने जात हुन् । कुकु कोइलीका धेरै प्रजातिहरू नेपालमा आइपुग्ने गरेका छन् । ‘कुकुकोइलीको मात्रै एक दर्जन प्रजाति नेपालमा आउँछ । गौथलीको केही प्रजाति नेपालमा आइपुग्छ,’–उनले भने ।

चराहरूमा गाजले, तित्रक, लालछुडे ठौवा, अर्जुनक भन्ने चरा, मुरली चरा, सुनचरी नेपालमा यो बेलामा आउने चराका प्रजाति हुन् । कुकुकोइलीको प्रजाति मध्यपहाडसम्म पुगेर बच्चा कोरल्ने गरेका छन् । ‘कुकुका प्रजातिले अर्काको गुँडमा गएर अण्डा पार्ने गर्छन्,’ चरासम्बन्धी फोटोग्राफी गर्दै आएका पत्रकार यात्रा थुलुङ भन्छन्, ‘त्यो अण्डाबाट हुर्किने बचेरालाई अन्य चराले नै हुर्काइदिन्छन् । इण्डअफ सेप्टेम्बरमा उनीहरू पनि आफ्नो देश फर्किन्छन् ।’