इटहरी/ इटहरीमा जारी रात्रिकालीन क्रिकेट प्रतियोगितामा शुक्रबार राति सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ ।

गएराति सम्पन्न खेलमा आयोजक एरिना च्यालेञ्जर्सलाई ४ विकेटले पराजित गर्दै एपीएफ विजयी भएको हो । इटहरीस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एरिना च्यालेञ्जर्सले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर ९६ रन बनाएको थियो । उसका लागि अनिस लुइँटेलले नटआउट ४४ रनको योगदान दिए ।

सुमन पौडेलले १५ रन बनाए । एपीएफका लागि सागर भण्डारीले २ महत्वपूर्ण विकेट लिए । चारओभर बलिङ गरेका उनले २ मेडनसहित २ रनमात्र खर्चिएर २ विकेट लिन सफल भए । तेस्तै भूवन कार्कीले २ तथा दीपेन्द्र रावल ले १-१ विकेट लिए ।

जवाफमा ९७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ४ विकेट गुमाउँदै १२ औं ओभरमा लक्ष्य भेट्टाउन सफल भयो । उसका लागि शङ्कर राणाले ४२ रन बनाउँदा प्रज्वल शाहीले १३ रआयुष्मान बलले २० रन बनाइ । बलिङतर्फ एरिना च्यालेञ्जर्सका संयम पोखरेल, भूपाल लुइँटेल र सुमित तिमल्सिनाले २–२ विकेट लिए । उक्त खेलको म्यान अफ द म्याच विजयी टिम एपीएफका शङ्कर राणा घोषित भए ।

प्रतियोगितामा शनिबार राति सेमिफाइनलका दुईवटा खेल हुनेछ । पहिलो सेमिफाइनल खेल इनरुवाविरुद्ध नेपाल पुलिस क्लबबीच हुनेछ । यस्तै दोस्रो खेल एपीएफविरुद्ध त्रिभूवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आइबार राति हुने फाइनल विजेताले उपाधिसहित नगद १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका तीन विभागीय टिमसहित ८ टोलीको सहभागिता छ ।