बालबालिकाहरू कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु हो । संसारमा जति पनि रोगहरू छन् ती मध्ये धेरैको कारक कुपोषण हो । रोगग्रस्त जनशक्तिले कुनै पनि मुलुकको आर्थिक विकासको गतिलाई प्रभावित गर्छ ।

आर्थिक विकासको गति प्रभावित हुनु भनेको समग्र मुलुकको सबै खाले विकास प्रक्रियामा बाधा पुग्नु हो । जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ । स्मरणीय छ, शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अङ्गहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भैसकेको हुन्छ । मस्तिष्कलगायत अन्य प्रमुख अङ्गहरूको सही विकासका लागि बालबालिकाको पोषणको स्थिति राम्रो हुनु आवश्यक मानिन्छ ।

कुपोषण के हो ?
प्रोटिन, क्यालोरी, भिटामिन र खनिज पदार्थहरू भएको भोजन पर्याप्त मात्रामा नलिनाले गर्दा बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित हुने गर्छ । शरीरलाई आवश्यक पर्ने सन्तुलित आहार लामो समयसम्म नपाउनाले हुने विकृत अवस्थालाई नै कुपोषण भनिन्छ । शरीरका कोषहरूले पर्याप्त मात्रामा पौष्टिक तत्व प्राप्त गर्न नसक्दा कुपोषण हुन्छ । बालबालिकालाई शारीरिक विकास तीव्रगतिमा हुने हुँदा क्यालोरी र प्रोटिन बढी चाहिन्छ ।

गर्भवती तथा सुत्केरी महिलालाई कुपोषण हुन सक्ने खतरा बढी हुनुको कारण पनि यही हुन्छ । आमा कुपोषित भएकी छन् भने बच्चा जन्मँदा उसको तौल कम हुन्छ । त्यसपछि, बच्चालाई चाँडै आमाको दूध छुटाउनु, सही किसिमको खाना कुन हो भन्ने ज्ञानको कमी अनि सरसफाइको अभावले गर्दा कुपोषण हुन सक्छ । आइरन, आयोडिन, जिङ्कजस्ता खनिजपदार्थ र भिटामिनहरूमध्ये मुख्यतया भिटामिन एको अभावमा कुपोषणका असरहरू देखिन्छन् ।

कुपोषणका कारणहरू
– पर्याप्त खाना तथा पोषक तत्वको कमि
– रोग तथा संक्रमण
– पोषण सम्बन्धि ज्ञानको कमि

कुपोषणका असरहरू
– रोगसँग लड्ने क्षमतामा कमी
– शारीरिक तथा मानसिक विकाशमा बाधा
– अकाल मृत्यु
– सङ्क्रामक रोग लागिरहनु हुन् ।
– पखाला, दादुरा, औलो र श्वास–प्रश्वास सम्बन्धी रोगहरूले हुने
– भोक हराउने भएकोले खाना खाने मात्रामा कमी हुने

कुपोषित बच्चाको उपचार
बच्चालाई न्यूनपोषण भएको छ भने शुरुमा त अस्पतालमा भर्ना गर्नु सबैभन्दा राम्रो उपाय हुन सक्छ । बच्चाको अवस्था हेर्ने अरू प्रकारहरू पनि छन् ।अनि कुनै पनि प्रकारको सङ्क्रमण, जलवियोजन भए नभएको हेरेर उपचार सुरु गर्ने गर्दछन् । शुरुमा बिस्तारै नलीमार्फत् पोषण दिइन्छ ।

केही दिनपछि बच्चालाई फेरि आमाको दूध खुवाइन्छ अनि सकेसम्म बढी खाना खान प्रोत्साहन गर्ने गरिन्छ । बच्चाको विकासमा स्याहार–सुसार र स्नेहको निकै ठूलो भूमिका हुन्छ । यस्तो अवस्थामा बच्चालाई सही भोजन दिनुका साथै स्याहार–सुसार गर्नेसम्बन्धी आमालाई शिक्षा दिनुपर्छ । बच्चालाई समय–समयमा जँचाउन अस्पताल लैजानुपर्छ ।
(लेखक : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ हुन् ।)