धनकुटा/ स्थानीय सरकारको कारण जोखिममा परेको पाख्रीबास नगरपालिका वडा नं. ५ घोर्लीखर्कको दलित बस्ती र ढुङ्गाखानीको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्कबहादुर चुहानलगायतको टोलीले स्थलगत रूपमा शनिबार अनुगमन गरेका छन् ।

पाख्रीबास नगरपालिका वडा नं. ५ घोर्लीखर्कस्थित डिकुरे र खाल्डेको बीचमा पर्ने शिकारीडाँडामा दलित बस्तीलाई जोखिम हुने गरी ढुङ्गाखानी नगरपालिकाले ठेक्का लगाएपछि स्थानीय ९० घर दलित समुदायले विरोध गर्दैै आएका छन् ।

सो विषयमा उच्चअदालत धनकुटाले स्थानीय बासिन्दाहरूसँग आवश्यक समन्वय र छलफल नै नगरी विवादित अवस्थाको सृजना हुने गरी शिकारीडाँडामा ठेक्का लगाउनु पर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफ अदालतमा पेश गर्न गत शुक्रबार आदेश दिएको थियो । अदालतले आदेश दिएसँगै शुक्रबार साँझदेखि ढुङ्गा उत्खनन् रोकिएको थियो । उच्च अदालतले लिखित जवाफ मागेको ७ दिनपछि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्कबहादुर चुहान, नेकपाका जिल्ला नेता भीम राई, नेकपाका पाख्रीबास नगरपालिकाका अध्यक्ष शान्तिराम गौतमलगायतले स्थलगतरूपमा अनुगमन गरेका हुन् ।

जिल्ला समन्वय समिति प्रमुख चुहानसहितको टोलीले अनुगमनपछि स्थानीय जोखिममा परेका दलित समुदायसँंग ढुङ्गाखानीको कारण उत्पन्न भएको विवादका विषयमा छलफल गरेका छन् । छलफलको क्रममा पीडितको तर्फबाट बोल्दै मानबहादुर विकले आफूहरूले नगरप्रमुख वृषबहादुर राई र वडाध्यक्ष गोपालबहादुर थापालाई पटक–पटक ढुङ्गा उत्खनन् कार्य रोक्न अनुनय विनय गर्दा पनि सुनुवाइ नभएपछि सिङ्गै गाउँ मिलेर अदालतको शरणमा पुगेको बताए ।

अर्का पीडित सूर्य सार्कीले ढुङ्गा उत्खनन् गर्ने निजी कम्पनीका प्रतिनिधि दुर्गा थापालाई आफ्नो बारीको मकै ट्याक्टरले भाँचिदिएको विषयमा कुरा राख्दा उल्टै आफूलाई प्रहरी लगाएर २ रात थुनिदिएको बताए । सार्कीले ढुङ्गा निकाल्दा कहिले विरोध नगर्ने, मेरो मञ्जुरी छ भनेर जबर्जस्ती कागजमा बुबा गणेशबहादुर सार्की र आफूलाई सही गर्न लगाएको सुनाए । ट्याक्टरले बारीको मकै भाँचिदिएको विषयमा ट्याक्टर चालकसँग समान्य विवाद हुँदा सामान्य घाइते भएका ट्याक्टर चालकको उपचारको लागि भनेर अस्पतालमा उल्टै २० हजार रुपैयाँ समेत तिर्न लगाएको बताए ।

जिल्ला समन्वय समितिको टोलीसँग आफ्ना पीडा राख्ने स्थानीयले आफूहरू नगरपालिकाबाट, वडापालिकाबाट, ढुङ्गा निकाल्ने निजी कम्पनीबाट र ढुङ्गा ओसार्ने ट्याक्टरका मालिक र चालकहरूबाट समेत पीडित भएको बताए । कोही कसैबाट सुनुवाइ नभएपछि बाध्य भएर न्यायको लागि अदालतको ढोकामा पुगेको स्थानीयहरूले बताए ।

पीडित स्थानीय दलित समुदायको कुरा सुनेपछि जिल्ला समन्वय समिति प्रमुख टङ्क चुहानले नगरपालिकाले के शर्तमा ठेकेदारलाई ढुङ्गा निकाल्न दिएको हो ? सो बारे बुझ्ने बताए । उनले स्थानीयलाई समस्या हुने गरी होइन, स्थानीयको हितमा हुने गरी समुदायलाई घाटा नहुने गरी सहमति जुटाउने बताए ।

सो अवसरमा नेकपाका जिल्लास्तरीय नेता भीमबहादुर राईले जनताको भावनालाई पहिले नै समेट्नु पर्दथ्यो भन्दै उनले भने, ‘प्रारम्भिक वातावरणीय परीक्षणमा भनेका कानूनी पक्षका कुरा भए, त्योभन्दा पहिले समुदायसँग बसेर सहमति जुटाएर योजना नबनाउँदा विवाद भएको रहेछ, यसमा वडा कार्यालय र नगरपालिकाको गल्ती भयो ।’ राईले स्थानीय सरकार भन्दै जबर्जस्ती गर्दा आज समस्या सिर्जना भएको बताए । ‘खानीमा निकालिएको ढुङ्गाबाट अब कुनै पनि बेला जनधनको क्षति हुने देखिएको छ, ढुङ्गा निकालेर अन्यत्र लाँदा पनि समस्या, ननिकाली त्यहाँ नै राख्दा पनि मार्ला भन्ने समस्या छ, त्यसैले उपयुक्त निकास दिन जरुरी रहेको छ’–उनले भने ।

नेकपा पाख्रीबास अध्यक्ष शान्तिराम गौतमले भने, ‘नगरवासी र नगरपालिकाबीच द्वन्द्व सिर्जना गरेर दोस्रो पक्षले ढुङ्गाखानीबाट दाम कमाउने षड्यन्त्रको पर्दाफास गर्नुपर्छ ।’ उनले ढुङ्गा उत्खनन् कार्य तत्काल रोक्नु पर्ने बताए । वडाध्यक्ष गोपालराज थापाले भने स्थानीयको कुरा सुनेर ढुङ्गाखानीको विषयमा पत्रकारले तिललाई पहाड बनाएको आरोप लगाए । आफू कानूनी प्रक्रियाबाट अघि बढेको दाबी गर्र्दै गल्ती गरेको भन्ने आफूलाई नलागेको थापाले दाबी गरे ।

अर्का जोखिम पीडितका प्रतिनिधि निलम विश्वकर्माले जनप्रतिनिधिहरूले स्थानीयलाई किन जानकारी दिएनन् ? डिकुरेडाँडा भनेर सम्झौतामा लेखिएको छ, तर शिकारीडाँडामा किन डोजर लगाइयो भन्दै समन्वय समिति प्रमुख चुहान र वडाध्यक्ष थापालाई प्रश्न गरे । उनी नगरवासीलाई हरेक हिसाबले स्थापित गर्ने बेलामा आफ्नै पार्टीको सरकार हुँदा पनि विस्थापित गर्न किन खोजिएको हो भन्दै वडाध्यक्ष थापामाथि खनिए ।

उनले ढुङ्गा खानीबाट कुनै पनि हालत ढुङ्गा निकाल्न नदिने पनि चेतावनी दिए । अर्का पीडित धनमाया तामाङले ढुङ्गा खानी उत्खनन्ले गर्दा आफूहरूलाई आवत–जावतमा समस्या भइरहेको बताइन् । उनले वडाको बजेट कहाँ कसरी खर्च भइरहेको छ, विकास निर्माणको काम कहाँ कसरी भइरहेको छ, आफूहरूलाई वडाध्यक्ष थापाले कहिल्यै जानकारी नदिएको, दुःख दिने मात्र काम गरेको गुनासो गरे । उनले आफ्नो २५ रोपनी अम्लिसो बारी ढुङ्गा उत्खनन् गर्दा पहिरोले पुरेको बताएकी छन् ।

पाख्रीबास नगरपालिका कार्यालयले पानपा–६ स्थित संसारीडाँडामा ढुङ्गा उत्खनन् गर्न ०७६ जेठ १४ गते सम्झौता गरेर निर्माण कम्पनीलाई स्वीकृति दिएपछि अहिले सो क्षेत्रका दर्जनौं घरसहित सिङ्गो दलित बस्ती पहिरोको कारण विस्थापित हुने खतरामा पुगेको छ । पीडितरूले स्थानीयवासीसँग आवश्यक समन्वय नगरी एकलौटी ढङ्गले सार्वजनिकस्थलमा ढुङ्गा उत्खनन् गर्न नगरपालिकाले ठेक्का दिएर दलित बस्ती विस्थापित गराउन खोजिएको आरोप लगाएका छन् ।

अहिले उनीहरू पाख्रीबास नगरकार्यपालिकाका प्रमुख वृषबहादुर राई, पाख्रीबास न.पा.वडा नं.५ का वडाध्यक्ष गोपालबहादुर थापाविरुद्ध खनिएका छन् । अनुगमन टोलीसँगको छलफल कार्यक्रममा पाख्रीबास नगरपालिका प्रमुख वृषबहादुर राई भने अनुपस्थित थिए ।