उदयपुर/ सबै राजनीतिक दलका सहमतिमा प्रदेशको नामाकरण गरिने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । प्रेस सङ्गठन नेपाल उदयपुरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले किरात, कोशी, सगरमाथाजस्ता धेरै नामहरू आएको भए पनि अध्ययन गरेर सहमतिमा नामाकरण गरिने बताए ।

बहुमतको सरकार भए पनि सर्वसम्मतिबाट नामाकरण गर्दा सबैलाई अपनत्व होस् भन्ने हाम्रा चाहना हटेकाले सहमतिबाट नै नामाकरण गरिने मुख्यमन्त्री राईले बताए । उनले सरकारका विरुद्ध वाह्य र भित्रीरूपमा आक्रमण भइरहेकाले सबै मिलेर त्यसविरुद्ध लड्नु पर्ने धारणा उनले बताए ।

सरकारले गरेका महŒवपूर्ण कामलाई पनि नराम्रो भएको भन्दै सरकारको काम कारबाहीलाई गलत प्रचार–प्रचार गरेर विभिन्न रूपमा आक्रमण गरिरहेको भन्दै मुख्यमन्त्री राईले सङ्घीयता नचाहनेहरूको जमातले यस्तो हर्कत गरेको दाबी गरे ।

‘वर्तमान स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई चरणबद्ध प्रत्यक्ष र अप्रत्यक्षरूपमा आक्रमण भइरहेको छ, सङ्गठितरूपमा लुकेर वा देखेर सरकारलाई बदनाम र असफल बनाउनका निम्ति विभिन्न नाम र बहानामा आक्रमण भइरहेको मुख्यमन्त्री राईले बताए ।

सङ्घीयता कसैको चाहना र रहरले नआएको भन्दै सङ्घीयता असफल हुन नसक्ने मुख्यमन्त्री राईले बताए । ‘हामी सङ्घीयतालाई कार्यान्वय गरेरै छाड्नेछौं, समृद्ध नेपाल, सुखी नेपालीको चाहना पूरा गरेरै छाड्नेछौं’ –उनले भने । उदयपुर गोल्डकपको फाइनल खेलको उद्घाटन गर्न आएका मुख्यमन्त्री राईले प्रदेश १ मा फुटबल खेल फस्टाउँदै गएकाले प्रदेश १ लाई फुटबलको राजधानी बनाउने गरी प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री राईले बताए ।

‘प्रदेश १ मा विभिन्न फुटबल प्रतियोगिता पनि भइरहेका छन्, मुख्यमन्त्री लिग पनि शुरु हुँदैछ’ उनले भने, ‘फुटबलको राजधानी प्रदेश १ लाई बनाउने गरी प्रदेश सरकार विभिन्न ठाउँमा भौतिक पूर्वाधार निर्माणमा जुटेको छ ।’ मुख्यमन्त्री राईले प्रदेश सरकारले भर्खरै ल्याएको बजेट तथा नीति कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिएको बताए ।