धरान/ काठमाडौंबाट करिब ३ सय ५० किलोमिटर उत्तरपूर्वी क्षेत्रमा रहेको शहर धरान पर्यटनका क्षेत्रमा गुरुयोजना तयार गरेर अगाडि बढ्दै छ ।

धार्मिक, सांस्कृतिक, शैक्षिक, खेलकुद, साहसिक पर्यटकका लागि धरानमा सम्भावना खोजेको धरान उपमहानगर अन्तर्गतको पर्यटन प्रवद्र्धन विकास समितिले गुरुयोजना बनाएर पर्यटनलाई विकास गर्ने भएको हो । पछिल्लो दुई वर्षमा समितिले धरानमा रहेका पर्यटकीय क्षेत्रको अध्ययन र अवलोकन गर्दै पर्यटकीय स्थलको पहिचान गरेको छ । ‘अब भने गुरुयोजना बनाएर त्यसलाई विकास गर्ने लक्ष्यका साथ अगाडि बढ्दै छौँ,’ धरान उपमहानगरकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन् ।

निर्वाचित भएपछिका दुई वर्ष धरानका पर्यटकीय स्थलहरूको सम्भावनाको खोजी गरिएको उनले बताइन् । ‘यो नगरसभाबाटै बजेट विनियोजन गरेर अगाडि बढ्छौं, मास्टर प्लानबिना पर्यटनलाई विकास गर्न नसकिने रहेछ,’ –समितिले पत्रकारहरूसँगको राय, सुझाव सङ्कलन कार्यक्रममा उनले भनिन् । धार्मिक पर्यटनलाई सोचेअनुरूप बिस्तार गर्न नसकेकाले त्यसका लागि नगरले नयाँ कार्यको थालनी गरिरहेको समितिका सदस्य एवम् १४ नम्बर वडा अध्यक्ष कृष्ण भट्टराईले बताए । अहिले सिंहदेवीचोकदेखि माथि पैदलमार्ग निर्माण गरिरहेको उनले बताए । ‘त्यसमा हामीले भगवान्का ठूला–ठूला चित्रहरू बनाउने काम गरिरहेका छौं,’–उनले भने ।

धार्मिक पर्यटनका लागि धरान आउनेहरूका लागि फरक स्वाद दिने तयारीस्वरूप उक्त कार्यमा वडासहित समिति पनि जुटेको उनले बताए । हाल विजयपुर क्षेत्रमा रहेका मन्दिरहरू प्यागोडा शैलीमा निर्माण गर्ने तयारीसमेत थालिएको छ । वडाले भने धरानको छुट्टै परिकार र मन्दिरको स्वरूप जस्तो छ त्यही किसिमको प्याकिङका सामग्री बनाउन जुटिरहेको वडाध्यक्ष भट्टराईले बताए ।

पर्यटनको गुरुयोजना अन्तर्गत धरान–१७ को रेल्वेचोकलाई त्यही अनुरूपमा ढाल्नका लागि योजना ल्याउने भएको छ । रेलकै डिब्बा आकारमा कफी हाउसलगायतको खानेबस्ने सुविधासहितको होटलको परिकल्पना गरिएको कार्यबाहक नगर प्रमुख सुवेदीले बताइन् । ‘रेल्वेको आफ्नै इतिहास छ । त्यो इतिहासलाई कसरी जीवन्त राख्न सकिन्छ त्यसबारेमा हामीले प्लानिङ गरिरहेका छौँ,’–उनले भनिन्, ‘रेलकै आकारमा डिब्बा बनाएर त्यहाँ कफी हाउसजस्तो खोल्ने भन्ने सोच छ ।’

धरान उपमहानगरले २ वर्षको अन्तरालमा थुप्रै पदमार्गहरूको पनि पहिचान गरेको छ । जसमा केही घण्टादेखि एक दिनको ट्रिप हुनेसम्मको पदमार्गको पहिचान गरिएको समितिका सहसंयोजक किशोर थुलुङले बताए । त्यस्तै साहसिक खेल अन्तर्गत रक क्लाम्बिङको पनि तयारी भएको छ ।

‘पर्यटकहरू यहाँ किन आउने ?, उनीहरूले कम्तीमा पनि एकदुई दिन बस्ने गरी हामीले त्यो तयारी गरिरहेका छौं,’–उनले भने । उनका अनुसार नयाँ गन्तव्यको रूपमा धरान– २० नम्बर वडामा पर्ने ठूलो खैरेस्थित तारेभीर रक क्लाम्बिङका लागि उपयुक्त रहेको छ । त्यस्तै धरान–४ को सेर्गेमा क्यानोनिङका लागि सम्भावित रहेको छ । ती स्थानहरूलाई गुरुयोजनासहित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिने सहसंयोजक थुलुङले बताए ।

धरानमा नयाँ गन्तव्यको रूपमा पहिचान भएको रक क्लाम्बिङको सम्भावनाबारे केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका भूगर्भ विभागका प्राध्यापक चम्पकलाल सिलवालको टोलीले अध्ययन गरेको थियो । यो स्थान साविक विष्णुपादुकाको भञ्जाङबाट करिब ४ किलोमिटर उत्तरमा पर्छ ।