वराहक्षेत्र/ नगर विकास गौरवका योजनाहरूलाई समेट्दै वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि करिब ७८ करोड बराबरको बजेट पेश गरेको छ ।

सोमबार नगरपालिकामा आयोजित चौथो नगरसभामा आर्थिक वर्ष २०७६/७७ को बजेट, नीति तथा कार्यक्रमको विवरण पढ्दै मेयर निलम खनालले ७७ करोड ६२ लाख ६ हजारको बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाको बजेटको आम्दानीतर्फ सबैभन्दा बढी केन्द्र सरकारबाट सशर्त अनुदान ३० करोड १२ लाख, केन्द्रबाट वित्तीय अनुदान १९ करोड ५२ लाख, राजस्व बाँडफाँडबाट १५ करोड ५२ लाख,आन्तरिक आयबाट ७ करोड ४६ लाख १६ हजार यसैगरी आर्थिक वर्ष ०७५/७६ को बाँकी रहेको मौज्दात २ करोड, प्रदेश सरकारबाट सशर्त अनुदानबाट १ करोड, सवारी करबाट (प्रदेश) १ करोड १७ लाख १३ हजार रुपैयाँ रहेको बताए भने खर्चमा नगरपालिकाको चालू खर्च ११ करोड, ३० लाख ५ हजार, वडा कार्यालयहरूलाई ५ करोड ४० लाख, नगरपालिकाको समपूरक कोषमा ४ करोड, पुँजीगत खर्चमा २७ कारेड ८० लाख १ हजार र सशर्त अनुदानमा ३० करोड १२ लाख तथा प्रदेश सरकारको सशर्त अनुदानमा १ करोड बजेट छुट्याइएको नगरप्रमुख खनालले बताए । उनले ११ वटा वडाहरूलाई वडागत बजेट सिलिङमा वडानम्बर ६ र ११ लाई ६० लाख, वडा ३, ५, ७ र ८ लाई ५० लाख, वडानम्बर २, ४, ९ र १० लाई ४५ लाख र वडा नं. १ लाई ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । नगरपालिकाले ‘समृद्ध वराहक्षेत्र हाम्रो सोच, कृषि, पर्यटन र प्राकृतिक स्रोत’ लक्ष्यका साथ नगरपालिकाको विकासको लागि कृषि, स्वास्थ्य, पर्यटन, युवा खेलकुद, उद्योग, आवास, रोजगारी, बालबालिका, शिक्षा, सामाजिक तथा सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा राखिएको भन्दै विभिन्न १३ वटा नगर गौरवका कार्यक्रमहरू रहेको बताए ।

गौरवका योजनाहरूमा सप्तकोशी र आदर्श क्याम्पसको भवन निर्माण, मधुवन बजारमा सटर तथा ढल निकास निर्माण, हिंसा पीडित महिला तथा बालबालिका, सिंचाइ, असहाय बालिबालिकालाई निःशुल्क अध्ययन, युवा खेलकुद र कृषिजस्ता योजनाहरू रहेको जानकारी दिए । नगरप्रमुखले गौरवका योजनाहरू, सप्तकोशी क्याम्पसलाई ७५ लाख, आदर्शलाई ३० लाख, मधुवनमा सटर तथा ढल निकास निर्माणलाई ४० लाख, वडा नं. १ र ३ को वडा कार्यालय भवनको लागि १ करोड ५० लाख यसैगरी माझी सङ्ग्रहालय लाई १० लाख, खेलकुदमा ५० लाख, टुहुरा बालबालिकाको पढाइमा ५ लाख र कृषितर्फ हाई–टेक प्रविधिबाट हाइड्रेपनिक, एरोपोनिक, कोकोपिट र प्लाष्टिक पोखरी तथा घर बनाउन ५० रुपैयाँ बजेटमा समावेश गरिएको बताए ।

मेयर खनालले नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमहरूमा कृषि तथा पशु विकासमा १८ वटा, पर्यटनमा ५, भौतिक पूर्वाधार विकासमा १२ वटा योजना रहेका छन् । यस्तै खानेपानी तथा सरसफाइमा ५ वटा, वन वातावरण, ऊर्जा तथा जलवायु अनुकूलनलाई १०, सुशासनमा ६ वटा, मानव संसाधन विकास ८, शैक्षिक विकासमा ७ वटा, स्वास्थ्य १०, महिला तथा बालिबालिका १०, आदिवासी, दलित ९, युवा खेलकुदमा ६ तथा साहित्य, भाषा, कला, संस्कृति संरक्षण र प्रवद्र्धनलाई ३ योजना समावेश गरिएको बताए ।

यसैगरी अन्य नीति तथा कार्यक्रममा पञ्जीकरण तथा सामाजिक सुरक्षामा ५, सूचना प्रविधि विकास तथा अभिलेख व्यवस्थापनमा ४, राजस्वमा ५ र घरेलु तथा साना उद्योग र रोजगार प्रवद्र्धनसम्बन्धी ४, सङ्गठन तथा प्रशासन २, सहकारी ७ वटा, कोशी बाढी पीडित र सुकुम्बासी समस्या समाधानलाई १ र विविधमा ११ वटा योजनाहरूसमेत रहेको जानकारी दिए ।