इनरुवा/ नेकपाका जनप्रतिनिधिले बहिष्कार गरेपछि इनरुवा नगरपालिकाको कार्यालयले डाकेको नगरसभा स्थगित भएको छ ।
नगरसभाको विषयमा कार्यपालिका सदस्यलगायत अन्य निर्वाचित जनप्रतिनिधिहरूलाई अग्रिम जानकारी नगराइएको भन्दै मङ्गलबारका लागि तय गरिएको नगरसभा हुन सकेन ।

नेकपा इनरुवा नगरसमितिले पत्रकार सम्मेलन गरी इनरुवा नगरपालिकाले आह्वान गरेको नगरसभा बहिष्कारको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष कालुराम गुरुङले नगरप्रमुुख र कार्यकारी अधिकृतले एकलौटी पाराले नगरसभा सञ्चालन गर्न खोजेको आरोप लगाए ।

‘कार्यपालिका सदस्यहरूलाई जानकारी नै छैन, स्वयम् वडाध्यक्षहरूलाई समेत अन्तिम समयमा जानकारी गराइयो’ उनले भने, ‘ सरासरी आफूखुशी निर्णय लाद्ने प्रयास भएको महसुस गरी नगरसभा बहिष्कारको निर्णयमा पुगेका हौं ।’

पत्रकार सम्मेलनमा उपस्थित नेकपातर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरूले इनरुवा नगरपालिकाको हकमा बजेटमा व्यापक अनियमितताको आरोपसमेत लगाएका छन् ।

नगरसभाका नाममा कार्यक्रम उद्घाटन गरी कार्यक्रम सार्ने र अन्तिम समयमा आफूखुशी निर्णय लाद्ने मेयरको प्रवृत्तिलाई समर्थन गर्न नसकिने उनीहरूको भनाइ थियो । पत्रकार सम्मेलनमार्फत् उनीहरूले नगरको हिसाब–किताब पारदर्शिताको मागसमेत गरेका छन् ।

उता नगरप्रमुख राजन मेहताले पूर्वनिर्धारित तालिका र निर्णयबमोजिम नै नगरसभा डाकिएकाले कार्यक्रम बहिष्कार गरिनुलाई व्यक्तिगत स्वार्थपरक राजनीतिको संज्ञा दिएका छन् । मेहताले कमीकमजोरी भएको भए वार्तामा बस्न तयार रहेको बताएका छन् । उनले असन्तुष्टिका विषय सम्बोधनपश्चात् सर्वपक्षीय सहमति जुटाई नगरसभाको मिति तय गरिने बताए ।

उता देवानगञ्ज गाउँपालिकामा भने स्वयम् अध्यक्षको असन्तुष्टिपश्चात् गाउँसभा स्थगित भएको छ । वडाध्यक्षहरूले आफूपायक बजेट बनाएकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष लालीप्रसाद मेहताले नोट अफ डिसेण्ट लेखेपछि असारको १५ गते बैठक डाक्ने निर्णय गरिएको छ ।

यसैबीच सुनसरीका विभिन्न गाउँपालिकामा गाउँसभा सम्पन्न भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले शिक्षा, स्वास्थ्यसँगै बालविवाह र दाइजोप्रथा न्यूनीकरण जस्ता विषयलाई प्राथमिकतामा राख्दै छैठौं गाउँसभा सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले आगामी आर्थिक वर्षमा काम बढी कुरा कमको अवधारणामा केन्द्रित रही जनअपेक्षाअनुरूपका कामलाई प्राथमिकतासाथ सञ्चालनमा ल्याइने बताए । भोक्राहा नरसिंह गाउँपालिकाले आ.व. ०७६/७७ का लागि ३७ करोड १३ लाख ९६ हजारको अनुमानित बजेट पेश गरेको छ ।

त्यसैगरी कोशी गाउँपालिकाको गाउँसभाले पर्याप्त पूर्वाधार गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार भन्ने नाराका साथ आगामी आ.व.का लागि ४६ करोड ४५ लाख २७ हजार बराबरको अनुमानित बजेट विनियोजन गरेको छ ।

गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार गाउँपालिकाले वर्षको दुईपटक सामूहिक विवाहको आयोजना गर्नेछ । जसमा गरिब, विपन्न र अल्पसङ्ख्यक समुदायहरूको हकमा सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरेर विवाह गरिदिनेछ । पर्यटन क्षेत्रलाई कोशीले प्राथमिकतामा पारेको छ ।

त्यसैगरी गढी गाउँपालिकाले आगामी आ.व.का लागि ४० करोड १३ लाख १४ हजारको अनुमानित बजेट विनियोजन गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईका अनुसार गाउँपालिकाको कार्यालयले स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार विकाससहित जनअपेक्षाअनुरूपका प्राथमिकताका विषयलाई बजेटमा समावेश गरिएको छ ।

हरिनगर गाउँपालिकाको कार्यालयले कृषि र पूर्वाधार विकास लक्षित गरी ४५ करोड बराबरको रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

बर्जु गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि ३६ करोड ८६ लाख ८४ हजार रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले बताए । यता सुनसरीको रामधुनी नगरपालिकाले आगामी आ.व.का लागि ५० करोड ७३ लाख रकम विनियोजन गरेको जनाएको छ । दुहबी नगरपालिकाले भने ५२ करोड ५९ लाख २ हजार रकम आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको छ ।