भण्टाबारी/ सुनसरीको गढी गाउँपालिकास्थित औरावनी चौकमा सोमबार स्थानीयहरूले चक्काजाम गरे । लोग्ने–स्वास्नीको झगडाले आक्रोसित भीडले विभिन्न नाराबाजी गर्दै गाउँपालिकाको कार्यालयअगाडि प्रदर्शन गर्दा इनरुवा–दुहबी सडक–खण्ड १ घण्टा अवरुद्ध भयो ।

गढी गाउँपालिका वडानम्बर ६ मझौका स्थानीय २५ वर्षीय वीरेन्द्र खड्गाले सप्तरी कञ्चनरूप नगरपालिका–१० बदगामाकी सिङ्कु यादवसँग २ वर्षअगाडि विवाह गरेका थिए । केटापक्षले केटीपक्षबाट दाइजोमा ९ लाख नगदसहित मागी विवाह गरे पनि बिहेको ४ महिनापछि सिङ्कुलाई यातना दिँदै घरनिकाला गरे ।

केटापक्षले मोटो रकम लिए पनि दाइजोमा मोटरसाइकल माग्दै आफूलाई विहेको ४ महिनापछि यातना दिएर घरनिकाला गरेको पीडित सिङ्कु बताउँछिन् । घरपरिवारको कुरा सुनेर श्रीमान्ले दाइजोको निहुँमा आफूलाई घरनिकाला गरेको पीडित सिङ्कुले बताइन् । उनले भनिन्, ‘२०७४ साल वैशाखमा हाम्रो विहे भयो, चार महिनासम्म राम्रैसँग बसे तर पछि श्रीमान्ले ममाथि अनावश्यक आरोप लगाउँदै घरनिकाला गरे ।’ सबैको चाहनाअनुसार नै आफूहरूको विहे भए पनि श्रीमान्ले तँ राम्रो छैनस् भन्दै दुःख दिने काम गरेको उनी गुनासो गर्छिन् । घरनिकाला गरेपछि आफू माइतीघर गएको र त्यसपछि आउँदा श्रीमान् आफ्नो सम्पर्कमा नआएको उनले बताइन् ।

श्रीमान्सँगै सम्पर्कमा आउने प्रयास पटक–पटक सफल नभएकोले माइतीपक्षको सहयोगमा गाउँपालिकाको न्यायिक समितिमा ६ महिना पहिले उजुरी दिएको उनले बताइन् । घरपरिवारको सम्पर्कमा निरन्तर रहे पनि श्रीमान् आफूसँग सम्पर्कमा आउन नचाहेकोले न्यायको लागि उजुरी गरेको सिङ्कुको भनाइ छ ।

श्रीमतीलाई कुटपिट गर्दै घरनिकाला गरी छाडेको र सम्पर्कमा समेत आउन नचाहेकोले आफूहरूले केटाको घरमा तालाबन्दी गरेको सिङ्कुका दाजु कमल यादवले बताए । न्यायिक समितिमा उजुरी दिएको ६ महिना बितिसक्दा समेत कुनै सुनुवाइ नभएको हुँदा स्थानीयबासीको सहयोगमा केटीका आफन्तले केटाको घरमा तालाबन्दी गर्दै गाउँपालिका कार्यालयअगाडि प्रदर्शन गरेको उनले बताए ।

विवाह गरेको केही समयपछि नै थप दाइजोको निहुँमा यातना दिएर केटापक्षले केटीसँग अन्याय गरेकोले न्यायको लागि आफूहरू आन्दोलित हुनुपर्ने अवस्था आएको यादवको भनाइ छ । केटीलाई खान–लाउन दिन, नागरिकता र विवाह दर्ता गर्न तथा श्रीमान्–श्रीमती सँगै बस्ने माहोल बनाउने आफूहरूको प्रयास विफल भएकोले र न्यायिक समितिले समेत तारिख दिने काम मात्रै गरेकोले बाध्यतावश तालाबन्दी र गाउँपालिका कार्यालयअगाडि प्रदर्शन गरेको यादवले बताए ।

यादव समुदायको जातीय संस्कार र रीतिरिवाजअनुसार विवाह भए पनि केटाले अनावश्यक कुराको पछाडि लागेर केटी मन नपरेको भन्दै घरनिकाला गर्ने काम गरेको उनले बताए ।

स्थानीयवासीको सहयोगमा केटीका आफन्तले केटापक्षको घरमा तालाबन्दी गरेपछि केटाका बाबु बमभोली खड्गा घर छाडेर भागेको र हालसम्म आफूहरूको सम्पर्कमा नआएको उनले बताए । सिङ्कुका दाजु यादवले भने केटीमा के खराबी छ, किन यातना दिने काम भयो, के कारणले गर्दा केटापक्ष सम्पर्कमा आउनै चाहँदैनन् भन्दै केटापक्षले ९ लाख रुपैयाँ दिएर सामाजिकरूपमा केटीसँग सम्बन्धविच्छेद गर्न चाहे पनि आफूहरूले नमानेको उनले बताए ।

‘विहे एकपटक हुन्छ, कसैको जीवनसँग यसरी खेल्न पाउँछ ?’ –यादवले प्रश्न गर्दै थपे । समाजमा न्याय नपाएपछि गाउँपालिकाको न्यायिक समिति उजुरी दिएको तर महिनौंसम्म न्याय नपाएकोले दुःख लागेको उनले गुनासो गरे । गाउँपालिकाको न्यायिक समितिले न्याय दिनुको सट्टा उल्टै दुःख दिने काम गरेको यादवले आरोप लगाए । स्थानीय पिन्टु यादवले श्रीमान् –श्रीमतीको झगडाले गाउँमा नकारात्मक प्रभाव परेको बताए । पीडितपक्षलाई न्याय दिलाउनको लागि दबाव दिने उद्देश्यले प्रदर्शन गरेको उनले बताए ।

यता गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले पीडित सिङ्कुलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । केटापक्षलाई सम्पर्कमा ल्याउने प्रयास जारी रहेकोले जसरी भए पनि पीडितलाई न्याय दिलाउने उनले वाचा गरे ।