कोलम्बो/ श्रीलङ्कामा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारीअनुसार यस अवधिमा अरू २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन् । जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको सङ्ख्या २३ हजार ८४२ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

सबैभन्दा धेरै कोलम्बो जिल्लाका बासिन्दा प्रभावित भएको पाइएको छ । प्राप्त विवरणअनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका छन् भने दोस्रो धेरै बिरामी गाम्पाहामा भएका छन् । गाम्पाहामा तीन हजार ५२ र तेस्रो धेरै प्रभावित भएको गाल्लेमा दुई हजार ३१ जना बिरामी भएका छन् ।

वर्षा जारी रहेकाले अहिले कोलम्बो, गाम्पाहा, गाल्ले, कालुतारा र रत्नपुरा गरी पाँच जिल्लालाई डेङ्गुको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिएको छ ।

उच्च ज्वरो, अनियन्त्रित वान्ता, पेट दुखाइ, चक्कर लाग्ने, पिसाबसम्बन्धी समस्यालगायतका लक्षणहरू देखिनासाथ चिकित्सकहरूसँग परामर्श गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।

‘ज्वरो आएका सबै बिरामीहरूलाई आरामको आवश्यकता पर्दछ, उनीहरूले केही दिन आफ्नो कामबाट विदा लिनुपर्दछ,’ एक विषेशज्ञले भने । श्रीलङ्कामा गत वर्ष मात्रै ५० भन्दा बढीको डेङ्गुका कारण मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए ।