ब्युरोक्रेसीमा सक्षम व्यक्तिको खाँचो

alt
  • असार १७, २०७६
  • १६८ पटक पढिएको
  • डा.उमाशङ्कर प्रसाद

नेपालको आर्थिक ढाँचालाई समाजवाद उन्मुख गराउने भनेर संविधानले भनेको छ । त्यसको आलोकमा आर्थिक वर्ष २०७६/७७ को बजेटलाई हेर्ने हो भने स्वास्थ्य र शिक्षामा सकारात्मक देखिन्छ । विगतका बजेटहरूभन्दा यो बजेटको आकार अलि ठूलो देखिएको छ । यो आकार बढ्ने बित्तिकै स्वाभाविकरूपमा विभिन्न किसिमका कार्यक्रमहरू समेटिएका छन् । विशेषगरी, सामाजिक सुरक्षाको सन्दर्भमा सम्पूर्ण नेपालीलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने लगायतका जुन कुराहरू छन् त्यसले गर्दा यो बजेट समाजवाद उन्मुख बजेट पक्कै पनि हो ।

umashankhar

यस वर्षको बजेटलाई कतिपयले वितरणमुखी मात्रै भनेर विश्लेषण गर्दै छन् तर, त्यसरी हेर्नु हुँदैन । भौतिक पूर्वाधार निर्माणमा डेढ खर्ब जति छुट्याइएको छ । त्यसपछि रेल, जलविद्युत् लगायत धेरै योजनाहरू राखिएका छन् । समाजवाद उन्मुख बजेटको परिकल्पना गरिसकेपछि स्वास्थ्य र शिक्षालाई बढी जोड दिँदा अलिकति वितरणमुखी बनाउँनै पर्छ । यो संसारकै परिपाटी हो, यसलाई अन्यथा लिनुहुँदैन । तीन तहको सरकार भइसकेपछि स्थानीय तहमा धेरै बजेट जानुपर्ने थियो ।

धेरैभन्दा धेरै बजेट यसपटक सङ्घकै मातहतमा राखिएको छ । प्रदेश र स्थानीय तहलाई दिने बजेटको आकार अलिकति धेरै हुनुपर्ने थियो । त्यसकारणले प्रदेश र स्थानीय तहलाई जाने बजेट कम हुने बित्तिकै मधेशमा बजेट कम भएकै हो । खासगरी, मधेशको कुरा गर्दा एकात्मक शासन हुँदा समग्र मधेशमा करिब करिब १७ प्रतिशत जति मात्रै बजेट जान्थ्यो । तर, मुलुक सङ्घीयतामा गइसकेपछि बढेर लगभग २४ प्रतिशतसम्म पुगेको छ । अहिलेको बजेटलाई हेर्दा हुलाकी राजमार्गमा राम्रै बजेट दिइएको छ । यसपटकको बजेटमा मधेशका लागि कार्यक्रमहरू देखिन्छन् तर तिनमा पर्याप्त रकम विनियोजन गरिएको छैन ।

मधेशमा सबभन्दा ठूलो समस्या दलित र मुस्लिमको छ । मधेशका दलितहरूको स्वास्थ्य र शिक्षाको अवस्था एकदम दयनीय छ । जसकारणले समग्र मधेशको मानव विकासको सूचकाङ्क कमजोर भएको अवस्था हो । त्यसकारण, बजेटमा दलितलाई विभिन्न किसिमका सुविधाहरू जस्तै आवासीय सुविधा दिने भन्ने कुराहरू आएको छ । मुसहरको साक्षरता दर मात्र ७ प्रतिशत हो । तिनीहरूका लागि १५÷२० वर्षीय आवासीय योजना राखेर शिक्षा र स्वास्थ्यमा सुधार गर्नुपर्छ ।

नेपालको कृषिको आधारभूमि मधेश नै हो । तर, कृषिमा राज्यले जति लगानी गर्नुपर्ने हो त्यति छैन । अहिले नेपालमा कृषिजन्य वस्तु जस्तै, अन्नबालीदेखि लिएर माछा, मासु, फलफूलको जुन आयातको अवस्था छ त्यो असाध्यै भयावह छ । कृषिजन्य वस्तुहरूको आयात हामीले भारतबाट गरिरहेका छौं । यसका लागि सरकारले बजेटमा भनेको छ कि फलफूलमा हामी आत्मनिर्भर हुनेछौं । त्यस्तै, प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत पनि बजेट छुट्याइएको छ । यी सबै कुराहरूलाई हेर्दा कृषिमा केही विशेष पकेट क्षेत्र बनाएर आयातलाई प्रतिस्थापन गर्ने कार्यक्रमहरू बढाइयो भने त्यो राम्रो हुन्छ ।

बजेट निर्माण हुँदा लक्षित वर्गको सही पहिचान राज्यले जुन किसिमले गर्नुपर्ने हो त्यसरी गर्न सकेको छैन । यसका लागि राज्यका विभिन्न अङ्गहरू नबनेका होइनन् । तर पनि कतै न कतै हाम्रो ब्युरोक्रेटभित्र जसरी हाम्रो पहुँच हुनुपर्ने हो, त्यो नभइसकेको कारणले लक्षित वर्ग वा विषय छुट्न जान्छ । उपेक्षित वर्गहरूलाई कसरी सहभागिता गराउने भन्ने कुरा बढ्दै गयो भने लक्षित वर्गले लाभ लिन सक्छन् । तर, अहिले नीति निर्माण गर्ने ठाउँमा जो व्यक्तिहरू छन्, उनीहरूले आफ्ना जात र वर्गलाई हेरिहाल्छन् । यो ‘मानवीय स्वभाव (ह्युमन नेचर)’ नै हो । त्यसकारणले बजेटमा उपेक्षित वर्गलाई समाहित गर्नका लागि ब्युरोक्रेसीमा पनि पहुँच हुनु त्यतिकै जरूरी छ । त्यसका लागि उपेक्षित वर्गले आवाज बुलन्द गर्नुपर्छ । यसभन्दा अघिको बजेटमा पनि तराई(मधेशका लागि धेरै योजनाहरू समावेश गरिएका थिए । तर, ती योजनाहरू प्रभावकारीरूपमा कार्यान्वयन भएको वा लक्षित वर्गको पहुँचमा पुगेको देखिँदैन । यो एउटा ठूलो समस्याको रूपमा पनि देखिएको छ ।

केही वर्षमा नेपाली व्युरोक्रेसीमा लोकसेवामा आउने व्यक्तिहरू असाध्यै कम क्षमता भएकाहरू आएका देखिन्छन् । त्यसकारणले प्राप्त भएका बजेट खर्च कसरी गर्ने, योजना कसरी बनाउने भन्ने कुराहरू उनीहरूलाई थाहा हुँदैन । त्यसकारण, राज्यको एउटा नीति के हुनुपर्छ भने ब्युरोक्रेसीमा प्रथम श्रेणीको चिन्तन भएकाहरूको उपस्थिति बलियो होस् । यहाँ त प्रायः फस्र्ट ग्रेडको माइण्ड (प्रथमश्रेणीका प्रतिभा) विदेश गइहाल्छन् र नगएका केही अनि तेस्रो श्रेणीको प्रतिभामात्र (थर्ड ग्रेडको माइण्ड) ब्युरोक्रेसीमा आइसकेपछि त्यसले बनाउने योजना, उनीहरूले गर्ने खर्च त स्वाभाविक रूपमा नै उत्कृष्ट हुँदैन । त्यसैले, योजनाको निर्माण र कार्यान्वयन जति प्रभावकारी हुनुपर्ने हो त्यति प्रभावकारी हुँदैन र हुन सकिरहेको छैन । त्यसकारण राज्यको नीतिमा नै समस्या छ । तेस्रो श्रेणी (थर्ड ग्रेड माइण्ड) को प्रतिभालाई मात्रै ब्युरोक्रेसीमा प्रवेश गराउने जुन कल्पना गरिएको छ त्यसले अपेक्षाकृत काम भइरहेको छैन ।

यसपटकको बजेटले नेपालमा समृद्धिको ढोका खोल्ने परिकल्पना गरेको छ । नेपाल समृद्ध नहुने कुनै कारण नै छैन । नेपाललाई समृद्ध बनाउनका लागि हरेक पूर्वाधारहरू छन् । तर, त्यसका लागि राज्यको प्रतिबद्धता, राजनीतिक प्रतिबद्धता र काम गर्ने वातावरण छैन । बजेटमा सबैतिर सन्तुलित भएको देखिन्छ । चुनौती कहाँनेर छ भने यसको आकार ठूलो भयो । आकार ठूलो भएपछि यसले परिणाम ल्याउँछ कि ल्याउँदै भन्ने प्रश्न मात्रै छ ।
– मधेश दर्पण

भीरबाट लडेर वृद्धको

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा भीरबाट लडेर एक बृद्धाक

ब्लाष्टले मनायो भव्य

धरान  / ब्लाष्ट टाइम्स दैनिकले आज २५ वर्ष पुग

नेकपा इटहरी कमिटि भं

इटहरी / बिहीबार बसेको नेकपा इटहरी उपमहानगरको बैठकम

सुन तोलाको ६०० ले घट

  धरान / भदौ अन्तिम सातादेखि लगातार ओरालो ल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved