धनकुटा/ स्थानीय सरकारले भाषिक पहिचानलाई समाप्त पार्न निगाले चितुवाको स्तम्भ निर्माण गर्न थालेको भन्दै नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धनकुटाले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर निर्माण कार्य तत्काल रोक्न माग गरेको छ ।

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको मगर भाषिक पहिचान रहेको स्थान निगिलिया (निगाले) मा भाषिक पहिचानलाई समाप्त पार्न खोजिएको आरोप विज्ञप्तिमा लगाइएको छ । विज्ञप्तिमा भनिएको छ –“तथ्यहीन, आधारहीन, कपोलकल्पित, मनोगत रूपले नगरपालिकाको वडा नं.८ निगिलिया (निगाले) भन्ने स्थानमा वडाको गौरवको योजनाको नाममा प्रदेश सरकारको अनुदान सहयोगमा वडा कार्यालयले निगाले चितुवाको स्तम्भ निर्माण कार्य शुरु गरेको प्रति नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति, धनकुटाको आपत्ति छ ।”

विज्ञप्तिमा गएको ०७६ जेठ ८ गतेका दिन नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धनकुटाले निगिलिया नामाकरणबारे एक प्राज्ञिक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा नगर प्रमुख पर्शुराम नेपालले चितुवाको स्तम्भ बनाउने योजनाबारे पुनर्विचार गर्न निर्माण पक्षलाई आग्रह गरे पनि हाल आएर निर्माण कार्य अगाडि बढाइएको छ, यसमा हाम्रो आपत्ति छ, विज्ञप्तिमा भनिएको छ ।

असारे बजेटमा काम सक्ने गरी निगाले चितुवाको सालिक निर्माण समितिका अध्यक्ष फत्तबहादुर थापालाई वडा न.८ का वडाध्यक्ष रामबहादुर खड्काले योजना अगाडि बढाउन निर्देशन दिएको बताइएको छ । स्थानीय मगर समुदायले निर्माण कार्य रोक्न बारबार आग्रह गर्दागर्दै पनि अहिले महालक्ष्मी नगरपालिका वडा नं.८ को वडा कार्यालयले जबर्जस्ती ढङ्गले निर्माण कार्य अघि बढाएको प्रति सिङ्गो धनकुटा जिल्लाका मगरहरूको समेत ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

निगिलिया (निगाले) कसरी नामाकरण भयो ?
चार सय चौँसट्ठी वर्ष अगाडि नेपालको उद्गम स्थल तत्कालीन मगर राज्य गोरखा राज्य बन्नु भन्दा अगाडि गोरखा राज्यभित्र लिगलिगकोट राज्य थियो । वि।सं।१६०४ देखि १६१५ सम्म दौडबाट राजा छान्ने चलनबाट ११ वर्षसम्म दौडमा प्रथम भएर दलसुर घले मगर राजा भएका थिए । मुस्लिम शासकबाट उत्पीडनमा परेर भारत गढवाल कुमाउँका जटाजुट पाण्डेका कान्छा छोरा गणेश पाण्डे जब हिन्दू राज्यको स्थापना, विस्तार र संरक्षणका लागि बाबुको सल्लाह बमोजिम पाल्पाको सेन राज्यमा आई सैनिक तालिम लिई लमजुङ राज्यका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहको सम्पर्कमा पुगे ।

द्रव्य शाह तत्कालीन गोरखाको भुरे टाकुरे राज्यमा हमला गरी ससाना राज्य एकीकरण गरी गोरखाको राजा बन्न चाहन्थ । सोही उद्देश्यमुताबिक द्रव्य शाहले षड्यन्त्र गरेर लिगलिकोटमा भीषण हमला गरे। हमलापश्चात् त्यहाँ मगर राज्यमा भीषण युद्ध भयो । सो भीषण युद्धमा धेरै मगर राज खानदान मारिए । युद्धबाट ज्यान जोगाउन भागेका केही मगर राजखादानका मानिसहरू पूर्व ओखलढुङ्गा हुँदै धनकुटा अहिलेको (निगाले) निगिलिया आइपुगे । यहाँ घले राज खानदान आउनुभन्दा अगाडि नै मगरहरूको बाक्लो बस्ती रहेको मगर भाषाबाट गाउँठाउँको नाम रहनुले प्रमाणित गर्छ । जस्तो : देउराहाले बाट देउराली (देउता आउँछ), आर्खुलेबाट अर्खौले, पट्याकबाट (गुराँस) पट्याकडाँडा, गुराँस डाँडा, आहाल्ले है आहाल्लैबाट (लैजाला) आहाले निगिलिया (निगाले) आदि । यी निगिलिया (निगाले) वरिपरि रहेका मगर भाषाबाट रहेको गाउँठाउँका नाम हुन् ।

लिगलिग युद्धबाट ज्यान जोगाउन यहाँ आइपुगेका ती घले मगर राजखानदानलाई यहाँका मगरहरूले आफ्नो भाषामा तिमीहरू को हौ ? कहाँबाट आएका हौ ? (नाकोरिकरको सु आले ?, कुटौ राहाच ?) भनेर सोद्धा उनीहरूले (कानको लिगलिग्या ?) लिगलिगे हौ रु भन्दा यहाँका मगरले निगिलिया भनेको सुनेर यो ठाउँको नाम निगिलिया रहन गएको पुष्टि हुन्छ ।

यसरी मगर भाषाको प्राचीन भाषिक पहिचान भएको निगिलियाको अस्तित्व समाप्त पार्न कपोलकल्पित र मनोगत रूपमा “निगाले चितुवा" को स्तम्भ निर्माण गर्न लागेकामा नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति घोर भत्र्सना गर्दछ, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा सामुदायिक सद्भावलाई कायम राख्न सो आयोजना निर्माण थालनी गर्नु पूर्व पनि स्थानीय समुदायसँग आवश्यक समन्वय सम्वाद नगरेकाले तत्काल स्थागित गर्न जोडदार माग गरिएको छ ।

अन्यथा यसबाट सृजित परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने जानकारी गराउँदछौं विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिका अध्यक्ष चेतबहादुर राना मगरले हस्ताक्षर गरेका छन् । यस विषयमा महालक्ष्मी नगरपलिकाका नगर प्रमुख पर्शुराम नेपाललाई ब्लाष्टले जिज्ञासा राख्दा नगरपालिकाको निर्णयअनुसार १ वडा १ गौरवको योजना सञ्चालन गर्ने भन्ने निर्णय भए बमोजिम निगालेमा निगाले चितुवाको स्तम्भ निर्माण गर्न लागीएको बताए । निगाले चितुवाको स्तम्भ बनाउँदा कोही कसैलाई मार्का पर्छ भन्छन् भने सो विषयमा सरोकारवाला पक्षलाई राखेर आवश्याक छलफल गरेर मात्र निर्माण गर्ने प्रमुख नेपालले बताए ।

त्यसैगरी वडा नं. ८ का वडाध्यक्ष रामबहादुर खड्काले वडाको ४ लाख रुपयाँको लागतमा गौरवको योजना भनेर निगाले चितुवाको सालिक निर्माण गर्न लागिएको बताए । खड्काले हामीले कुनै जातिको लागिमात्र भनेर निर्माण गरेका छैनााैं, उहिले देखि नै निगाले भन्थे, बूढापाकाले पनि त्यसै भनेको सुनेर किम्वदन्तीको आधारमा निगाले चितुवाको स्तम्भ निर्माण गर्न लागेको स्पष्ट पारे । निगाले चितुवाको स्तम्भ धरानमा तयारी भइसकेको छ, राख्ने स्थान पनि तयार भइसकेको छ । जहाँसम्म मगर भाषिक पहिचानको सन्दर्भमा कुरा आउँदा ‘निगालेलाई मगर भाषामा निगिलिया भनिन्छ भने पनि स्तम्भस्थलमा निगिलिया शब्द पनि लेखिदिने हामीले भनेका छौं’ – खड्काले भने । हैन, लिगलिगकोटको घले मगर राजाको शालिक नै राख्ने भए पनि पछि राखौँला खड्काले थपेका छन् ।

यसैबीच नेपाल आदिवासी जनजाति महासङ्घ महालक्ष्मी नगर समन्वय परिषद्ले विज्ञप्ति जारी गरेर मगर समुदायको भाषिक पहिचानलाई सम्बोधन हुने गरी योजना सञ्चालन गर्न विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ । विज्ञप्तिमा नगर समन्वय परिषद्का अध्यक्ष जेबी घले मगरले हस्ताक्षर गरेका छन् ।