उदयपुर । लागूपदार्थ दुव्र्यसन नियन्त्रणका लागि उदयपुरका तीन विद्यालयले अभियान थाल्ने प्रतिबद्धता जनाएका छन् ।
रौतामाई गाउँपालिका–२ को भुट्टार, ४ को सल्ले र ७ को मुर्कुचीका तीनवटा विद्यालयले लागूपदार्थ दुव्र्यसन नियन्त्रणको अभियान थाल्ने प्रतिबद्धता जनाएका हुन् । पालिकाको आर्थिक सहयोगमा सेतो गुँरास बाल विकास सेवा उदयपुरले सञ्चालन गरेको लागूपदार्थ दुव्र्यसन विरुद्ध तथा लैङ्गिक हिंसा न्यूनीकरण विषयक सचेतना कार्यक्रममा उक्त विद्यालयहरूले प्रतिबद्धता जनाएको पालिकाले जनाएको छ । भविष्यका कर्णधार र राष्ट्रका खम्बा भनिने युवायुवतीहरूले सानै उमेरमा लागूऔषधको कुलतमा फँसी राष्ट्रलाई कमजोर बनाउँदै गएको गाउँपालिकाका उपाध्यक्ष कुमारी राना ठकुरीले बताइन् । पछिल्लो समय बढ्दै गएको लागूऔषध कारोबार नियन्त्रणमा ध्यान नदिने हो भने मुलुकलाई ठूलो क्षति पुग्ने उनले बताइन् ।

पारिवारिक वातावरण र साथीसङ्गातीको सङ्गत र लहैलहैमा लागेर युवायुवती लागूऔषध कारोबारमा लाग्ने भएकाले नियन्त्रणका लागि विद्यालय प्रशासन, अभिभावक, समुदाय र परिवार नै सजग रहनुपर्ने उपाध्यक्ष ठकुरीले बताइन् । लागूऔषध नियन्त्रण गर्न सहर–बजारमा कडाइ गरेसँगै कारोबारीहरू गाउँ–घर छिरेको भन्ने सुन्नमा आएकाले नियन्त्रणका लागि गाउँपालिकाले विद्यालय, युवा, बाल क्लब, आमा र किशोरी समूहमार्फत् अभियान नै सञ्चालन गरिने उपाध्यक्ष ठकुरीले प्रतिबद्धता व्यक्त गरिन् । संविधानले दिएको अधिकारको उपयोग गर्दै अघि बढ्न सके समाज रूपान्तरण हुने उपाध्यक्ष ठकुरीले बताइन् । लागूऔषध नियन्त्रण र भित्रिन नदिन विद्यालय प्रशासन सचेत रहेकाले यसको न्यूनीकरणका लागि विद्यालय प्रशासनले कार्यक्रम सञ्चालन गर्ने माध्यमिक विद्यालय मुर्कुचीका प्रधानाध्यापक खड्गबहादुर थापा मगरले बताए ।

लागूऔषध सेवनले बालबालिकामा नकारात्मक असर पु¥याएकाले यसबाट बच्नका लागि सबैको दायित्व उत्तिकै भएको माध्यमिक विद्यालय सल्लेका प्रधानाध्यापक लक्ष्मी घिमिरेले बताए । समाज र राष्ट्रको विकासका लागि बाधक बनेको लागूऔषध जरैदेखि उन्मूलन गर्नु पर्ने उनले बताए ।
अभियान सञ्चालन भएका रसुवा माध्यमिक विद्यालय भुट्टार, मा.वि. मुर्कुची, मा.वि. सल्लेका विद्यालयका शिक्षक, अभिभावक, व्यवस्थापन समिति, जनप्रतिनिधिहरूले लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।