झापा । पछिल्लो समय बढ्दो जनसंख्याका कारण छिटो र धेरै खाद्य सामाग्री उत्पादन गर्न कृषकले बिभिन्न प्रकारका रासायनिक मल तथा विषालु कीटनाशकहरुको प्रयोग गर्दै आएका छन् ।

यस्ता मल तथा किटनाशाकले प्रकृतिका जैविक र अजैविक पदार्थहरु बीच हुने आदान(प्रदानको चक्रलाई प्रभावित गरिरहेको छ । जसले भूमिको उर्वराशक्ति खराब, वातावरण प्रदूषित र मानव स्वास्थ्यमा समेत नराम्रो असर पुर्याइरहेको छ । कृषिमा रसायनिक मल र कीटनाशकको प्रयोगसँगै जैविक र अजैविक पदार्थहरुका चक्रको सन्तुलन बिग्रदै गएको छ । फल स्वरुप वातावरण प्रदूषित र मानव स्वास्थ्यलाई प्रभावित गरिरहेको छ ।

रसायनिक मल र विषालु कीटनाशकहरुको उपयोगका स्थानमा जैविक मलहरु र औषधिको उपयोग गरेर धेरै भन्दा धेरै उत्पादन गर्न सकिने झापा अर्जुनधारा नगरपालिकाको कृषि विकास शाखाद्धारा शुक्रबार अर्जुनधारा(५ मा आयोजित विषादी न्युनिकरण सम्बन्धी एकदिने जैविक विषादी वनाउने तालिममा जानकारी गराइयो ।

जैविक विषादी वनाउने विधिबाट जमिन, पानी, वातावरण शुद्ध र मानव तथा अन्य प्राणी स्वस्थ रहने नगरकी कृषि विकास शाखाकी प्राविधिक मिना अधिकारीले बताइन् । अधिकारी तथा कृषि प्राविधिक जेटिए कन्चना घिमिरेले उपस्थित विभिन्न कृषिसँग सम्बन्धित वडाका संघ/संस्था तथा समुहलाई जैविक विषादी घरेलु उत्पादन सम्बन्धि जानकारी गराए । उनीहरुले कृषि शाखासँग आवद्ध नभएका समुहहरुलाई आवद्ध हुन आग्रह गरे । विषादीरहित स्वास्थ्य खाना खाने र दीर्घजीवन जिउने वारेमा स्थानीय समुहका प्रतिनिधिलाई जानकारीसहित उनीहरुले जैविक विषादी तयार पार्ने सामाग्री समेत उपलब्ध गराएका थिए ।

नमुना कृषि समुहका अध्यक्ष छविलाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ की जनप्रतिनिधि देवी घिमिरे ‘सकुन्तला’ को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पाण्डप सहकारीका अध्यक्ष अर्जुन रेग्मी र चाँदनी कृषि समुहका अध्यक्ष गणेश कार्कीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नमुना कृषि समुहका प्रतिनिधि, चाँदनी कृषि समुहका प्रतिनिधि, पाण्डप आइपिएमका प्रतिनिधि, बस्तु तथा सेवा उपभोक्ता संघ झापाका प्रतिनिधि सहभागी थिए ।