धरान/ वर्षायाममा खानेपानी पिउँदा सचेत रहन इटहरी उपमहानगरले नगरवासीमा आग्रह गरेको छ । खानेपानीको गुणस्तरसम्बन्धी सरोकारवालासँग सचेतना कार्यक्रममा उपमहानगरले त्यस्तो आग्रह गरेको हो ।

इटहरी उपमहानगरपालिकाको आयोजना र पानी परीक्षण प्रयोगशाला इटहरीको समन्वयमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा पानी परीक्षण प्रयोगशालाका अधिकृत रमेशकुमार यादवले पानी परीक्षण गरेर मात्र पिउनु पर्ने सुझाव दिए ।

पानीको रङ भिन्न देखिएमा वा प्राकृतिक स्वादमा फरक परेमा त्यस्तो पानी पिउन नहुने उनले सुझाव दिए । उनका अनुसार आर्सेनिकयुक्त पानी पिउनु हुँदैन । यस्तो पानीले क्यान्सरको खतरासमेत हुने गर्दछ ।

उद्योग प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षण शाखा अधिकृत प्रकृति चौंलागाईंले उपमहानगरले पानी उद्योगहरू अनुगमन गरेको जानकारी दिए । चारवटा पानी उद्योगको अनुगमनका क्रममा प्रशोधन र फिलिङ एकै ठाउँमा गरेको पाइएको बताए ।

उनले पानी उत्पादक कम्पनीका प्रतिनिधिहरूलाई समय–समयमा पानीको गुणस्तर परीक्षण गर्न सुझाव दिए ।

अनुगमनका क्रममा १५ दिनभित्रमा गुणस्तर सुधार गर्न पानी उद्योगलाई निर्देशन दिइएको समेत उनले जानकारी दिए । सचेतना कार्यक्रममा सहजीकरण गर्दै जनस्वास्थ्य निरीक्षक दामोदर गौतमले शुद्ध पानी प्रयोग गर्नाले ५० प्रतिशत रोग लाग्नबाट बच्न सकिने बताए ।

सो कार्यक्रममा जनस्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडी र शिक्षा शाखा प्रमुख अम्विकाकुमारी पानी जीवन भएकाले सफा पानी सेवन गर्न आग्रह गरेका थिए ।