बीबीसी नेपाल/ इङ्ग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अब भारतको भेट न्यूजील्याण्ड अनि अस्ट्रेलियाको भेट इङ्ग्ल्याण्डसँग हुने निश्चित भएको छ।

लिग खेलका अन्तिम दुई खेलका नतिजापछि भारत अङ्कतालिकामा सबभन्दा माथि रहेको छ भने अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्याण्ड तेस्रो र न्यूजील्याण्ड चौथोमा रहेका छन्।

जुलाई ९ मा हुने पहिलो सेमिफाइनल भारत र न्यूजील्याण्डबीच हुनेछ। जुलाई ११ मा अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। फाइनल खेल जुलाई १४ मा हुनेछ।

रोहित शर्माको जादु

भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले यस विश्वकपमा पाँचवटा शतक बनाएर नौलो कीर्तिमान रचेका छन्। उनले पछिल्लो शतक शनिवार श्रीलङ्काविरुद्धको खेलमा बनाएका हुन् जहाँ उनले १०३ रन बनाए।

क्रिकेट जगतमा 'हिटम्यान' को उपनामले समेत चर्चित रोहित शर्माले पाकिस्तानको विरुद्ध १४० रन बनाएका थिए।बांग्लादेशविरुद्ध उनले १०४ रन, इङ्ग्ल्याण्डविरुद्ध १०२ तथा दक्षिण अफ्रिका विरुद्ध अविजित १२२ रन बनाएका थिए।

शनिवार आफ्नो जीवनको १६औँ विश्वकप खेल खेल्दै ३२ वर्षीय रोहितले ९२ बलमै एक सय रन पूरा गरि भारतकै अर्का महान ब्याट्सम्यान सचिन तेन्दुलकर सरह नै विश्वकपमा ६ शतक बनाएका छन्।

तेन्दुलकरले उक्त विश्व कीर्तिमान रच्न ४४ खेल खेलेका थिए। हाल जारी विश्वकपमा मात्र रोहितले ९ खेलमा ६४७ रन बनाइसकेका छन्।